अमेरिकाले स्वास्थ्य सामग्री सहयोग गर्ने
काठमाडौ : अमेरिकाले नेपाललाई अर्को साता स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग बिहीबार भएको संवादमा अमेरिकी राजदूत रेण्डी बेरीले यस्तो बताएका हुन् । के कस्ता स्वास्थ्य सामग्री कति परिमाणमा आउँछ भन्ने केही दिनमा थाहा हुने उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए ।
केही दिनअघि संयुक्त राष्ट्रसंघकी नेपालस्थित आवासीय संयोजकसँग संवाद गरेका उपप्रधानमन्त्री पोखरेलले खोप र स्वास्थ्य सामाग्रीका लागि कुटनीतिक पहल गरिरहेका छन् । संवादका क्रममा अमेरिकी राजदूत बेरीले कम्तिमा हप्ताको दुई वटा अन्तर्राष्ट्रिय उडान जारी राख्न आग्रह गरेको र त्यसमा उपप्रधानमन्त्री पोखरेलले सिसिएमसीको बैठकमा यसबारे छलफल गर्ने जवाफ दिएको सल्लाहकार पाण्डेले बताए ।