जुम्लाको खलंगा बजारमा एकाबिहानै भालु आतंक

जुम्ला : भालुको आक्रमणबाट जुम्लामा दुई जना घाइते भएका छन् । जुम्ला सदरमुकाम खलंगा बजारमा बिहिबार बिहान भालुले आक्रमण गर्दा दुई जना घाइते भएका हुन । चन्दननाथ नगरपालिका ५ कार्किबाडामा बिहान ४ बजेको समयमा भालुले आक्रमण गरेको प्रत्यक्षदर्शी देबेन्द्र कार्कीले बताए ।
भालुको आक्रमणबाट खलंगा बजारमा व्यवसाय गर्दै आएका हिमराज रोकाया र उनकी श्रीमति निर्मला रोकाया घाइते भएका छन् । दुवैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।

घाइतेमध्ये निर्मलाको अनुहारमा चोटपटक लागेको छ भने हिमराज रोकायाको टाउको र ढाडमा चोट लागेको स्थानयि युवा धनराज सुनारले बताए । आफैले एम्बुलेन्स बोलाएर उनीहरु अस्पताल पुगेका हुन् ।
बिहानै उठेर नजिकै धारामा नुहाउन जाने क्रममा भालुले आक्रमण गरेको घाइतेले बताएका छन् । यता प्रहरी निरिक्षक युवन चौधरीले बिहानैदेखि भालुको खोजी भईरहेको तर नभेटिएको बताए ।
प्रहरी र सशस्त्र प्रहरी खोजीमा जुटेपनि भालुलाई भेटाउन नसकिएको तथा खलंगा बजारका अरु स्थानीयमाथि पनि आक्रमण गर्न सक्ने भन्दै सतर्क हुन आग्रह गरिएको छ ।
कुनै बेला घटना घट्न सक्ने भएकाले सुरक्षित तथा सचेत रहन रेडियोबाट सूचना समेत जारी गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । बजारमै भालु पसेर स्थानीयमाथि आमक्रण गरेको खबर फैलिएपछि स्थानीय त्रसित भएका छन् ।






