घुँयत्राे : हैन ! विश्वविद्यालयका कुलपतिमा केपीबा नै छन् कि देउवा आईसके हँ ?

हैन ! विश्वविद्यालयका कुलपतिमा केपीबा नै छन् कि देउवा आईसके हँ ? ओलीबाहेक अरुलाई कुलपति मान्दैन भन्दै मध्यपश्चिम विश्वविद्यालयमा ताण्डव देखाउने उपकुलपति नन्द सिंहको ज्यादति अति भईसक्दा नी प्रधानमन्त्रीको ध्यान त्यतातिर नजानुको कारण के हो ।
कहिले आफ्नै विद्यार्थी संगठनलाई उचालेर विविमा अस्थिरता निम्याउने ! अनि कहिले आफ्नो पिएसहितका गुण्डा परिचालन गरेर विविलाई रणमैदान बनाउने नन्दबहादुर सिंहलाई जतिसक्यो छिटो त्याँट निस्कासन गरिएन र विविमा दिनहुँ लडाइँ झगडाको होली खेलियो भने यो विश्वविद्यालय शैक्षिक थलोको रुपमा नभएर रणमैदानको रुपमा परिचित हुनेछ ।
उपकुलपति जस्तो पदमा रहेर पनि रातदिन राजनीतिमै चुर्लुम्म डुब्ने र विविलाई पनि राजनीतिकै थलो बनाउँदै आका नन्द सिंहले गरेका तमासा हेर्दै जाने होभने उनले विश्वविद्यालयलाई एकदिन पार्टी कार्यालयमा परिणत गर्नेछन् । यिनको यस्तो रबैया र शैक्षिक अराजकता मच्चिँदा पनि हिजोका दिनमा विवि बनाउन रातदिन खटिएका एमाले नेताहरुसमेत अराजकता र नन्दकै पक्षमा लागेको देखियो । जुन अत्यन्त दुखद कुरा हो ।
उपकुलपति सिंहले आफ्नो स्वार्थ पूरा नभए विवि भाँडमा जाओस् भन्ने दाउमा छन । यस्तै अराजकता मच्चि रहने हो भने मपविवि सरकारले खारेज गरिदिन पनिसक्छ । कालिकोटको मान्छेलाई सुर्खेतको शैक्षिक संस्था खारेज भए उसको के टाउको दुखाइ भयो र ? उसलाई त जागिर खान र राजनिति गर्नसम्म मात्रै मतलव छ । त्यसैले सुर्खेतका राजनीतिक दलहरुले तुरुन्त हस्तक्षेप गरी विविलाई अराजकताबाट बचाउनु पर्छ ।
विद्यार्थीलाई आपसमा लडाएर नन्द सिंह केपी ओलीको प्यारो बन्ने जुन प्रयत्न गर्दैछन् । यसले सुर्खेतका ओली पक्षकै एमालेहरुको राजनीतिमा पनि कुनै थप टेवा पुग्दैन । संस्था जन्माउन सुर्खेतका राजनीतिक दलहरुसहित नागरिक समाजले जुन भूमिका खेले र विश्वविद्यालय स्थापना गरे, त्यसको उद्देश्य के अहिले नन्द सिंहले गरेकै खेल हो त ।
यहाँका मान्छेले कति दुख गरेर कसरी आर्थिक श्रोत जुटाएर यहाँका वालबालिकालाई घर अगाडि नै पढन पाउने ब्यवस्था गराए । त्यो कुरा बेजिल्लाबाट आएर उपकुलपतिका हैसियतमा राजनीतिक उपद्रो मच्चाउनेलाई के थाहा ?
आपसमा विद्यार्थी लडाउने र आफ्नो नियुक्तिकर्तालाई खुशी तुल्याउनेमा लागेका उपकुलपतिलाई तत्काल पदबाट बर्खास्त गरिएन र झन् संरक्षण गर्दै गइयो भने मपविवि शैक्षिक गतिविधिमा अघि बढ्न सक्दैन ।
शैक्षिक संस्थामा पढनपाठनका गतिविधि अगाडि बढाउनुको सट्टा लडाइँ झगडा र द्वन्द्व अघि बढाउनतिर लागियो भने विद्यार्थी र अभिभावक सबैको जीवन ध्वस्त हुनेछ ।
त्यसैले जति सक्यो छिटो मपविविमा हस्तक्षेप हुन जरुरी छ भने आगामी दिनमा विविलाई राजनीतिक थलो नबनाएर शैक्षिक थलोको रुपमा विकास गर्ने ब्यक्तिलाई मपविविको जिम्मा दिनुपर्छ । यो रातदिनको लडाइँले कर्नाली प्रदेशका जनताको साह्रै बेइज्जत भैसक्यो । के देउवा सरकारले यो कुरालाई गम्भीरतापूर्वक लेला ?
-वेदर्षि






