सिमेन्ट उद्योग संचालनमा विलम्ब नगर


कर्णालीमा उद्योग र कलकारखाना संचालनको सम्भावना पर्याप्त छ । यहाँको प्राकृतिक स्रोत, खनिज पदार्थ र स्रोतको परिचालन गरेमा उद्योगहरु संचालन हुने सम्भावना छ । तर पनि हालसम्म कर्णालीमा ठूला उद्योग र कलकारखानाहरु संचालन हुन सकेका छैनन् ।
उद्योग संचालनका लागि कच्चा पदार्थ मात्र भएर पुग्दैन । यसका लागि आवश्यक पूर्वाधार र लगानी पनि आवश्यक पर्दछ । तर पनि यहाँ भएका स्रोत र साधनमाथि कब्जा मात्र जमाउने गरिएको छ । अर्थात उद्योग चलाउनुको साटो होल्ड गरेर मात्र राख्ने गरिएको छ । पश्चिम नेपालमा सबैभन्दा ठूलो सिमेन्ट उद्योग दावी गरिएको सुर्खेतको गुटुमा रहेको चौकुने सिमेन्ट खानी पनि बर्षौंदेखि चर्चामै सिमित छ ।
यो उद्योग संचालनका लागि धेरै चर्चा भयो । तर हालसम्म पनि यो उद्योग संचालनमा आउन सकेको छैन । उद्योग चलाउने ठेक्का लिएको कम्पनीले केवल त्यसलाई ओगटेर मात्र राखेको छ । साथै पश्चिम सुर्खेतकै बराहतालस्थित लखरपाटामा पनि सिमेन्ट उद्योगको सम्भावना छ ।
यसको पनि चर्चा सुरु भएको छ । चौकुने सिमेन्ट उद्योग संचालन हुनेमा यहाँका नागरिकमा धेरै उत्साह थियो । तर पनि त्यो उद्योग अहिले केवल चर्चामै सिमित बनेको छ । यो उद्योग संचालनमा नआउँदा निराश बनेका नागरिकका लागि अर्को उद्योग संचालन हुनेमा उत्साह संचार भएको छ । पछिल्लो समय जिल्लामै लखरपाटा सिमेन्ट उद्योग संचालनका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ ।
यसले यस क्षेत्रको आर्थिक विकास र समृद्धि हुनेमा केही आशाको संचार भएको छ । यद्यपि यो उद्योग पनि चर्चामै मात्र सिमित हुने आशंका पनि उत्तिकै छ । तर पनि उद्योग संचालनको जिम्मेवारी भएको कम्पनीले भने काम अगाडि बढाउने प्रतिबद्धता जनाएको छ । यदी यो उद्योग संचालन भएपछि सुर्खेतको मात्र होइन, कर्णाली प्रदेशकै आर्थिक विकासमा टेवा पुग्नेछ ।
अध्ययन अनुसार उद्योग संचालन भएमा १० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् । साथै सिमेन्ट उद्योग संचालनका लागि अन्य पूर्वाधारको विकासले पनि गति लिनेछ । यसर्थ यो उद्योग संचालनका लागि कुनै पनि वहाना बनाइनु हुँदैन । कर्णालीको विकास र समृद्धिको मुख्य आधार भनेकै यहाँको खनिज र प्राकृतिक स्रोत नै हो । यसको सही परिचालन र सदुपयोग गर्न सकेमा मात्र यहाँको अभाव, गरिबी र पछौटेपनको अन्त्य गर्न सहज हुनेछ । त्यतिमात्र होइन, यहाँका अधिकांश नागरिक रोजगारीका लागि भारत र खाडी मुलुकमा पसिना बगाउन बाध्य छन् ।
उनीहरुलाई स्वदेशमै रोजगारी दिलाउन पनि यो र यस्ता खालका ठूला उद्योगहरु संचालन हुन आवश्यक छ । त्यसैलै आर्थिक विकास र समृद्धिका कागजी गफ दिएर वा चुनावी नारा बनाएर मात्र कर्णालीको आर्थिक विकास र समृद्धि हुन सक्दैन ।
यसका लागि त रोजगारी र समृद्धिको धेरै सम्भावना बोकेको लखरपाटा र चौकुने सिमेन्ट उद्योगलाई कुनै पनि हालतमा संचालन गर्नु पर्दछ । यसका लागि प्रदेश सरकार र यहाँको राजनीतिक नेतृत्वले गम्भिर पहल चालोस् ।






