प्रादेशिक रंगशाला शिलान्यास


सुर्खेत : वीरेन्द्रनगरमा प्रादेशिक रंगशाला शिलान्यास गरिएको छ । प्रदेशस्तरको रंगशाला निर्माणका लागि मुख्यमन्त्री जीवनबहादुर शाहीले सोमवार शिलान्यास गरेका हुन् ।
यसलाई प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाको रुपमा लिएको छ । यो रंगशाला निर्माणका लागि कर्णाली खेलकुद विकास परिषद् र निर्माण कम्पनी एमएसीजिएसएल ज्वाइन्टभेन्चर कान्तिपथ काठमाडौँबीच गत कात्तिक अन्तिमसाता सम्झौता भएको थियो । रंगशालाको शिलान्यास गर्दै मुख्यमन्त्री शाहीले यसलाई समयमै सम्पन्न गर्न निर्देशनदिए । यो प्रदेश गौरवको आयोजना भएकाले तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने उनको भनाइ छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालका अनुसार एकअर्ब ५९ करोड ४७ लाख रुपैयाँको लागतमा यो रंगशाला निर्माण हुनेछ ।
यो रगंशाला निर्माण भएमा १० हजार दर्शक अट्ने क्षमताको हुनेछ । निर्माण कम्पनीलाई ३० महिनामा काम सम्पन्न गर्ने कार्यादेश छ । रंगशालाभित्र खेल सञ्चालनका लागि आवश्यकपर्ने सबै खालका संरचना निर्माण गरिनेछ । यस्तै यसलाई भुकम्पप्रतिरोधि बनाइने छ भने बहुउद्देश्यीय कभर्डहल पनि निर्माण गरिनेछ । रङ्गशालाभित्र फिफाको मापदण्डअनुसार फुटबल मैदान र स्वीमिङ पुल निर्माण गरिनेछ ।
साथै, आठ लेनको सेन्थेटिक एथ्लेटिक्स ट् र्याक बनाइनेछ । भिआइपी प्यारापिट तथा प्रतिक्षालय, निर्णायक, चेञ्जिङ तथा रिफ्रेस कोठा, मेडिकल, फिजियोथेरापी र मिडिया कोठा निर्माण गरिनेछ । अपाङ्गतामैत्री संरचना, हरियाली ल्याण्डस्केप र भूमिगत पार्किङ निर्माण गर्ने गरी रङ्गशालाको ढाँचा तयार गरिएको परिषद्ले जनाएको छ । टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म र रङ्गशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड पनि निर्माण हुनेछन् ।
कर्णाली प्रदेश सरकारले गत असार १६ गते रगंशालालाई प्रदेश गौरवको पहिलो आयोजनाको रुपमा निर्माण अघि बढाउने निर्णय गरेको थियो । भौतिक संरचनाको अभावमा यहाँको खेलकुद क्षेत्र विकास हुन नसकेका बेला रंगशाला निर्माणले कर्णालीका खेलाडी उत्साहीत बनेका छन् । यो रंगशाला निर्माणका लागि प्रदेश सरकारले पहिलो पटक ग्लोबल बोलपत्र आह्वान गरेको थियो ।






