संसारले चाहेको, तर जापानी जनताले नचाहेको ओलम्पिक

काठमाडौं । ओलम्पिकमा प्रतिस्पर्धा गर्ने खेलाडी यतिखेर अन्तिम चरणको अभ्यासमा व्यस्त छन्।

उद्‌घाटन हुन ५० दिनभन्दा कम समय बाँकी रहँदा समेत ओलम्पिक अन्योलता कायमै छ। आयोजक जापानले प्रतियोगिता समयमै हुने स्पष्ट पारेको छ। तर, प्रतियोगिता शुरू नभएसम्म स्पष्ट रूपमा केहि भन्न नसकिने अवस्था विद्यमान छ।

यद्यपि; जापानी जनता भने ओलम्पिकको विपक्षमा रहेका छन्। विभिन्न अध्ययनहरू अनुसार ८० प्रतिशत जनता ओलम्पिक आयोजनाको विरोधमा रहँदै आएका छन्। विश्वभर बढ्दो कोरोनाको केन्द्रबिन्दु जापान बन्नसक्ने डर जापानी जनतामा रहेको दाबी गरिएको छ। तर, आयोजकले भने अब कुनैपनि हालतमा प्रतियोगिता नरोकिने बताएका छ।

त्यसो त गत वर्ष नै आयोजना हुनुपर्ने प्रतियोगिता कोरोना महामारीकै कारण एक वर्ष पछि धकेलियो। जसकारण विश्वभरका खेलाडीको ओलम्पिक सपना समेत एक वर्ष पछि नै पर्‍यो।

प्रतियोगिता जुलाई २३ देखि अगस्ट ८ तारिखसम्म हुने छ। त्यसपछि २४ अगस्टदेखि ५ सेप्टेम्बरसम्म पारा ओलम्पिक हुने कार्यतालिका रहेको छ। ४२ वटा भेन्यूमा ३३ प्रतिस्पर्धाका ३३९ इभेन्टहरू हुँदा धेरैजसो खेलहरू ग्रेटर टोकियो एरियामा हुनेछन्।

फूटबल, म्यारथनलगायत खेलहरू होक्काइडोको साप्पोरोमा हुने आयोजकले जनाएको छ। त्यस्तै २४ अगस्टबाट शुरू हुने पारालम्पिकमा २२ खेलका ५३९ प्रतिस्पर्धा २१ वटा भेन्यूमा हुनेछन्।

खेलाडीहरूको ठूलो सपना बन्ने गरेको ओलम्पिक कडा स्वास्थ्य सावधानी अपनाएर गरिने अन्तराष्ट्रिय ओलम्पिक कमिटीले जनाएको छ।

आयोजक समितिका अध्यक्ष सेको हाशिमोतोले पनि कोभिड-१९ का कारण जापानको राजधानी टोकियो लगायतका कतिपय सहरमा स्वास्थ्य संकटकाल जारी रहेपनि ओलम्पिक खेलहरू तोकिएकै समयमा सञ्चालन गरिने जानकारी दिए। उनले भने, ‘मलाई विश्वास छ, हामीले यस्तो परिस्थिति रहँदा पनि सफल आयोजकको जिम्म्मेवारी निर्वाह गर्नेछौँ।’

उनले समुन्द्र पार गरेर आउने खेलाडीको माहोलले विश्वलाई अब विस्तारै तनावमुक्त गर्ने विश्वास व्यक्त गरे ।

कोरोना कहर

जापानमा कोभिड संक्रमण दर कम भएपनि अप्रिल यता फैलिएको दोस्रो लहरबाट जापानपनि प्रभावित छ। ७ लाख २० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। त्यहाँ १२ हजार २०० भन्दा धेरै नागरिकले संक्रमणपश्चात्‌ ज्यान गुमाएका छन् ।

संक्रमणदर बढेसँगै जापानका अधिकांश ठाउँहरूमा मे को अन्त्य सम्मका लागि आपतकाल लगाइएको छ। फेब्रुअरीबाट खोप लगाउन शुरू गरेपनि जापानका २.९ प्रतिशत नागरिकले मात्र दुबै डोज लगाएका छन् ।

कोभिड महामारीका कारण अहिले विदेशीहरूलाई जापान प्रवेशमा निषेध गरिएको छ। यद्यपि; खेलाडीका लागि भने अब सहज हुँदै जाने जनाइएको छ।

संसारले चाहेको, तर जापानी जनताले नचाहेको ओलम्पिक

यूरोकप तयारी : स्पेन र पोर्चुगलबीच बराबरी

संसारले चाहेको, तर जापानी जनताले नचाहेको ओलम्पिक

खेलाडी छनोटमा एकलौटी गरिएको भन्दै संयोजक थापाको

Leave a comment

Your email address will not be published. Required fields are marked *