खेलाडी छनोटमा एकलौटी गरिएको भन्दै संयोजक थापाको आपत्ति

इलाम । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युथ एकाडेमीको लागि छनोट गरेको यू–१३ खेलाडीको सम्बन्धमा छनोट समितिका संयोजक कृष्ण थापाले गम्भीर आपत्ति जनाएका छन् ।
एन्फा उपाध्यक्षसमेत रहेका थापाले एकलौटी ढंगबाट परार्मश नगरी ४२ जना खेलाडी छनोट गरेको आरोप लगाएका हुन् ।
पहिलो चरणको छनोटमा आफू संलग्न रहे पनि अन्तिम छनोटका विषयमा भने आफूसँग कुनै परामर्श नगरी खेलाडीको नाम सार्वजनिक गरेको भन्दै थापाले एन्फाको कदमको विरोध गरेका छन् ।
शनिबार बिहान सामाजिक सञ्जालमा थापाले लेखेका छन् ‘यू १३ को अन्तिम छनोट शंकाको घेरामा संयोजकलाई नै थाहा छैन ।’ यसअघि पहिलो चरणमा छानिएका ७१ जना खेलाडीको नामावली सार्वजनिक गरिएको पत्रमा थापाको हस्ताक्षर रहेको थियो ।
एन्फाले छनोट गरेको खेलाडी ३ वटा विभागीय टोलीको एकाडेमीमा राखिनेछ ।‘ तर, थापाले अनैतिक रुपमा छनोट गरिएको खेलाडीलाई विभागले राख्नेमा शंका व्यक्त गर्छन् ।
‘प्रक्रिया नपुर्याई छनोट गरिएकोलाई कसरी वैधानिक भन्ने। म छनोट समितिको संयोजक हो। तर मलाई खबर नगरी मेरो हस्ताक्षरबिना सार्वजनिक भएको खेलाडीलाई विभागीय टोलीले राख्छन् त?’ थापाले प्रश्न गरे, ‘कोरोना कहरको अवस्थामा मेरो परामर्श बिना नाम सार्वजनिक भएको छ ।
पहिलो चरणमा जिल्ला र प्रदेशबाट झन्डै १६० आएकोमा ७२ छनोट गरिएकोमा मेरो हस्ताक्षर देख्न सक्नुहुन्छ अहिले छनोट भएको ४२ मा कसको हस्ताक्षर छ कर्मा कि इन्द्रमान ?’






