यूरोकप तयारी : स्पेन र पोर्चुगलबीच बराबरी

एजेन्सी । यूरोकप तयारी अन्तर्गत स्पेन र पोर्चुगलबीच गएराति भएको फूटबल खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।
स्पेनले खेलको २७औं मिनेटदेखि नै गोल गर्ने अवसर पाएको थियो। त्यतिखेर अल्भारो मोराटाले दिएको पासमा फेरान टोरेसले गरेको हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
५०औं मिनेटमा मोराटाले गरेको प्रहारलाई रोक्दै पेपेले पोर्चुगललाई सुरक्षित पारेका थिए । ५८औं मिनेटमा पनि मोराटाले दिएको पास बललाई पाब्लो सारावियाले पोस्ट नजिकैबाट प्रहार गरेपनि त्यसलाई गोलमा परिणत गर्न सकेनन् ।
इन्ज्युरी समयको पहिलो मिनेटमा स्पेनले काउन्टर अट्याकको अवसर पाएपनि त्यसलाई गोलमा परिणत गर्न सकेन । जोस गायाले दिएको पास बलमा मोराटाले गरेको प्रहार पोर्चुगलको बारमा लागेर फर्किएको थियो ।
स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले कप्तानीमा रहेको पोर्चुगिज टोलीले पटक-पटक मौका पाउँदा पनि स्पेनको पोस्टमा गोल गर्न सकेन । २२औं मिनेटमा जोस फान्टेले हानेको कर्नर बललाई रेनाटो साञ्चेजले हेड गरेपनि स्पेनका पाउ टोरेसले गोल हुन दिएनन् ।
यस्तै, ३७ औं मिनेटमा रेनाटो साञ्चेजले बल पास दिँदा गोलका लागि निकै राम्रो अवसर मिलेपनि क्रिस्टियानो रोनाल्डोले सदुपयोग गर्न सकेनन् । ४१औं मिनेटमा पनि पोर्चुगलले गोल गर्ने अवसर पाएको थियो। तर, रेनाटोले रोनाल्डोलाई दिएको पासमा नेल्सन सेमेडोले गरेको प्रहार क्रसबारबाट बाहिरिएको थियो ।
डिएगो जोटाले ६०औं मिनेटमा रोनाल्डोलाई दिएको पास पनि क्रसबारबाटै बाहिरिएको थियो। त्यसपछि पोर्चुगलले गोल गर्ने अवसर खासै बनाउन सकेन ।






