पौडेल पक्षले टुंगो लगायो उम्मेदवार

सुर्खेत : नेपाली कांग्रेसको कर्णाली प्रदेश कमिटीको नेतृत्वका लागि संस्थापन इतर (रामचन्द्र पौडेल) पक्षले उम्मेदवारको टुंगो लगाएको छ । पौडेल पक्षले सभापतिका लागि कालीकोटका भूपेन्द्रजंग शाहीको नेतृत्वमा उम्मेदवार टुंगो लगाएको हो ।
उपसभापतिका लागि जुम्लाका देवेन्द्रबहादुर शाही र रुकुमपश्चिमका तिकल भण्डारीलाई उम्मेदवार बनाइएको छ । त्यस्तै महामन्त्रीमा दैलेखका कृष्णकुमार विसी, सहमहामन्त्रीमा डोल्पाका जयनन्द उपाध्याय, जाजरकोटका देवीकाकुमारी सिंहलाई उम्मेदवार बनाइएको छ । अर्का महामन्त्री र सहमहामन्त्रीमा भने सल्यान र मुगुबाट उम्मेदवार बनाउने पौडेल पक्षले जनाएको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै भुपेन्द्रजंग शाहीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । उनले गुटगत राजनीतिको अन्त्य गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन भूमिका खेल्ने बताए । कालीकोटमा वडादेखि जिल्लासम्म सर्वसम्मत नेतृत्व चयन गरेको स्मरण गर्दै उनले सभापतिमा विजयी भए सबै पक्षलाई मिलाएर लिनसक्ने दाबी गरे । पार्टीले युवाको नेतृत्व चाहेका कारण जित सुनिश्चित भएको उनको दाबी छ ।
यस्तै संस्थापन (शेरबहादुर देउवा) पक्षले भने बिहीबारसम्म उम्मेदवारको टुंगो लगाउन सकेको छैन । देउवा समूहभित्र कसलाई सभापतिको उम्मेदवार बनाउने भन्नेमा विवाद छ । सभापतिका लागि जुम्लाबाट ललितजंग शाही, जाजरकोटबाट राजीवविक्रम शाह र कालिकोटबाट कालीबहादुर सहकारी आकांक्षी छन् । यसैबीच काँग्रेसको प्रदेश अधिवेशन बिहीबार उद्घाटन गरिएको छ । काँग्रेस महामन्त्री पूर्णबहादुर खड् काले प्रदेश अधिवेशनको उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै खड्काले पार्टीलाई जनताको साथी बनाउनुपर्ने बताए । तर उद्घाटन कार्यक्रममा पौडेल समूहका कुनै पनि नेता सहभागी भएनन् ।
‘उद्घाटन कार्यक्रममा पत्र पनि आएन, कुनै माध्यमबाट खबर पनि भएन’ पौडेल पक्षिय काँग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले भने, ‘मैले त उहाँ (संस्थापन) समूहको भेला होला भन्ने ठानेको थिएँ, उद्घाटन पो रैछ ।’ काँग्रेसको प्रदेश कमिटी नेतृत्वका लागि शुक्रबार (आज) उम्मेदवारको मनोनयन दर्ता गरिने छ ।






