सुर्खेतमा कोरोना संकट दोहोरिने संकेत

सुर्खेत । सुर्खेतमा पुनः कोरोना संक्रमणको संकट दोहोरिने संकेत देखिएको छ । पछिल्लो समय पटक गरिएको कोरोना परीक्षणले पुनः संक्रमण दोहोरिने संकेत देखिएको हो ।
संक्रमितको संख्या बढ्न थालेपछि पुनः कोरोना संक्रमणको त्रास बढेको छ । बिहीबार मात्रै १५ जनाको कोरोना परीक्षण गराउँदा १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमणको त्रास बढेको छ । पछिल्लो समय एकै पटक १० जना संक्रिमित भेटिएको यो पहिलो घटना हो ।
पशुपन्छि रोग अन्वेषण प्रयोगलाशामा गरिएको पीसीआर प्रयोगशालाले संक्रमण पुष्टि गरेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेका अनुसार संक्रमितहरु सबै वीरेन्द्रनरमै बसोबास गर्छन् । उनीहरुमध्ये दुई जना बाहिर जिल्लाका हुन् । केही काठमाडौंँबाट फर्किएका हुन् ।

संक्रमतिहरु केही शिक्षक, सुरक्षाकर्मी र स्थानीय हुन् । संक्रमित सबैको अवस्था सामान्य छ । उनीहरुलाई होम आइसोलेसनमै बस्न आग्रह गरिएको छ । संक्रमितहरुमा नयाँ लक्षण नभए पनि संक्रमणको दर बढ्न सक्ने आँकलन गरिएको छ ।
संक्रमण बढ्न नदिन प्रदेशमा उच्च सतर्कता अपनाउन थालिएको छ । नयाँ कोरोना संक्रमण फैलिन नदिन पहिले जस्तै जिल्लाका नाकाहरुमा हेल्थडेस्क राखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले सुर्खेतको सीमा नाका बबई र कुइनेमा हेल्थ डेस्क पुनः सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमण घटेसँगै बन्द रहेका हेल्थडेस्कहरु पुनः सञ्चालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
हेल्थ डेस्कमा बाहिरी जिल्लाबाट प्रवेश गर्ने र भारतबाट आएकाहरुलाई विशेष निगरानी राखिने छ । भारतमा नयाँ कोरोना संक्रमण बढ्दै गएपछि त्यहाँबाट नेपालीहरु गाउँ फर्कन थालेका छन् । कर्णालीका धेरै नागरिकहरु रोजगारीका लागि भारतमा छन् । उनीहरु गाउँ फर्किएसँगै कर्णालीमा पनि नयाँ अर्थात कडा लक्षणसहितको कोरोना फैलिन सक्ने त्रास बढेको छ ।
यही कारण सीमा नाकामा भारतबाट आउने नागरिकहरुलाई हेल्थ डेस्कमा विशेष चेकजाँग गरिन थालिएको छ । त्यस्तै दैलेखले पनि सीमानामा हेल्थडेस्कहरु पुनः सञ्चालनमा ल्याउन थालेको छ । बिहीबारसम्म सुर्खेत सीमाना गुराँसे र तल्लो ढुङ्गेश्वरमा हेल्थडेस्क पुनः सञ्चालनमा ल्याइएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए ।
भारतबाट आउने नागरिकहरु बढ्न थालेपछि दैलेखमा पनि उच्च सतर्कता अपनाइएको छ । आवश्यक सुरक्षा सावधानीका लागि दैलेखकै राकम कर्णालीमा पनि हेल्थ डेस्क राख्ने तयारी भएको रेग्मीले जनाए । तर भारतबाट आएका नागरिकहरुले गलत सूचना दिँदा समस्या आएको छ ।
भारतबाटै आएका आठविस र दुल्लु नगरपालिकाका दुई जना व्यक्ति हराइ रहेका छन् । उनीहरु नेपालगञ्जको जमुनाहा नाकामा आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका थिए । तर जिल्ला प्रवेश गरेपछि लुकेका छन् । हेल्थ डेस्कमा वास्तविक ठेगाना र भारतबाट आएको नभन्ने भएका कारण दैलेखमा पुनः कोरोना संक्रमण फैलिने जोखिम रहेको रेग्मीले बताए ।
आइसोलेसन र क्वारेन्टाइन तयारी अवस्थामा राख्न निर्देशन
कोरोना संक्रमण बढ्ने संकेतपछि कर्णालीका सबै जिल्लाका आइसोलेसन र क्वारेन्टाइल अलर्ट अर्थात तयारी अवस्थामा राख्न निर्देशन गरिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले सबै पालिकामा कम्तिमा ५० क्षमता बराबरको क्वारेन्टाइन र जिल्लामा आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन गरेको हो ।
‘सबै जिल्लालाई कोरोना नियन्त्रणको पूर्व तयारी थाल्न निर्देशन गरेका छौँ’ प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका कोरोना खोप प्रमुख नोदनारायण चौधरीले भने, ‘कर्णालीका सबै जिल्लामा आइसोलेसन र क्वारेन्टाइन अलर्ट अवस्थामा छन् ।’ भारतमा आउने नागरिक बढेसँगै पुनः संक्रमण बढ्ने भन्दै सबै पालिका र जिल्लाहरुलाई आवश्यक तयारी थाल्न निर्देशनालयको आग्रह छ ।
‘हटस्पट’ स्थानमा एन्टिजेन विधिबाट कोरोना परीक्षण
संक्रमण बढ्ने संकेत देखिएपछि कोरोनाको पहिचानका लागि अब ‘हटस्पट’ क्षेत्रहरुमा एन्टिजेन परीक्षण बढाइने भएको छ । कोरोनाको संक्रमण देखिएका स्थानमा एन्टिजेन परीक्षण विधिबाट कोरोना परीक्षण गर्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै जिल्ला जनस्वास्थ्य कार्यालयहरुलाई अनुरोध गरेको छ ।
बाहिरी जिल्लाबाट आउने–जाने नाका र धेरै मानिसको जमघट हुने स्थानहरुमा एन्टिजेन विधिबाट मास परीक्षण गर्न महाशाखाले अनुरोध गरेको हो । ‘काठमाडौं उपत्यकालगायत सहरमा सपिङ सेन्टर, बसपार्क, स्कुललगायत हटस्पटहरु पहिचान गरी परीक्षण गर्न सबै जिल्लाहरुमा अनुरोध गरेका छौँ,’ महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने ।
थोरै समयमा धेरैको परीक्षण गरी छिटो नतिजा निकाल्नका लागि यसअघि पनि सरकारले एन्टिजेन विधि अपनाएको थियो । संक्रमण दर घट्दै गएपछि गएको माघमा एन्टिजेन परीक्षण स्थगित गरिएको थियो ।






