कर्णालीका ८ जिल्ला स्थायी चिकित्सकविहीन

सुर्खेत । कर्णाली प्रदेशका आठ जिल्ला अस्पताल स्थायी चिकित्सकविहीन बनेका छन् । सरुवा भएर गएका चिकित्सकको ठाउँमा अर्कोलाई नपठाउँदा आठ जिल्ला स्थायी चिकित्सकविहीन बनेका हुन् । कर्णालीमा ८८ प्रतिशत विशेषज्ञ र ८६ प्रतिशत स्वास्थ्यकर्मीको पदसमेत रिक्त छ ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरन्जन पन्त गत फागुनमा सरुवा भएर अन्यत्र गए । उनी गएको झन्डै चार महिना बित्दासमेत उनको ठाउँमा कसैलाई पठाइएको छैन । जिल्ला अस्पतालमा जडान गरिएका दुईवटा भेन्टिलेटर दक्ष चिकित्सककै अभावमा थन्किएका छन् ।
दुल्लु अस्पताल र नौमुले गाउँपालिका अस्पताल पनि लामो समयदेखि विशेषज्ञ डाक्टरविहीन छन् । दुल्लु अस्पतालकी डा. पूजा बीसीले थप अध्ययनका लागि बाहिर जाने भन्दै चैत्रमा बिदा लिएकी थिइन् । डाक्टर नहुँदा अस्पतालका लागि खरिद गरिएका उपकरण थन्किएको नगरप्रमुख घनश्याम भण्डारीले बताए । ‘करार सेवाका स्वास्थ्यकर्मीबाट उपचार भइरहेको छ,’ उनले भने, ‘कोरोना कहरकै बेला डाक्टर नहुँदा उपचारमा समस्या भइरहेको छ ।’ चिकित्सक नहुँदा बिरामीलाई बाहिर रेफर गर्नुपरेको उनको गुनासो छ ।
दैलेखसहित कर्णालीका रुकुम पश्चिम, सल्यान, जाजरकोट, डोल्पा, हुम्ला, मुगु र कालीकोटले वर्षौंदेखि विशेषज्ञ चिकित्सक पाएका छैनन् । डोल्पा अस्पतालमा २० वर्षदेखि ९ औं तहको डाक्टर नपुगेको दुई वर्षदेखि अस्पतालमा निमित्त प्रमुखको जिम्मेवारी सम्हालिरहेका डा. सिजन रावलले बताए । ‘सिनियर डाक्टर आउनै मान्दैनन्,’ उनले भने, ‘आँठौ तहका डाक्टरले नै स्वास्थ्य कार्यालय र अस्पताल दुवैको जिम्मेवारी सम्हालुपरेको छ ।’
कर्णालीमा डाक्टरको दरबन्दी रहेका १२ सरकारी अस्पताल र १३ प्राथमिक स्वास्थ्य केन्द्र छन् । त्यसमध्ये सुर्खेत र जुम्लामा मात्र स्थायी चिकित्सक कार्यरत छन् । ३ सय ३६ स्वास्थ्यचौकीले पनि वर्षौंदेखि स्वास्थ्यकर्मीको अभाव भोग्नुपरेको छ । कर्णालीमा ७ सय २ जना स्वास्थ्यकर्मीको दरबन्दी कायम गरिए पनि ४ सय ४१ दरबन्दी रिक्त रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार सबै जिल्लामा १० र ९ औं तहका विशेषज्ञ चिकित्सक हुनुपर्ने हो तर अधिकांश जिल्लामा ८ औं तहका चिकित्सकको मात्र दरबन्दी पूर्ति छ । दैलेखमा विशेषज्ञसहित १४ चिकित्सकको दरबन्दी कायम छ । तर सुगम जिल्ला मानिने दैलेखमै ३४ स्वास्थ्यकर्मीको पद अझै रिक्त छ । चिकित्सक अभावकै कारण कोरोना नियन्त्रणका लागि ल्याइएका विभिन्न उपकरण थन्क्याउनुपर्ने बाध्यता भएको दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थिरप्रसाद रेग्मीले बताए ।
कालीकोटमा जिल्ला अस्पतालसहित एक प्राथमिक स्वास्थ्य केन्द्र र २८ स्वास्थ्यचौकी सञ्चालन छन् । तर एकजना स्थायी डाक्टरको भरमा पुरै जिल्ला चलेको छ । १ वर्षदेखि अध्ययन बिदामा बसेका डा. कृष्णकुमार विष्ट काजमा जुम्ला गएका छन् । दरबन्दी अभावकै कारण सुर्खेतको मेहलकुना अस्पतालका डा.सुजन सापकोटाले ३ दिन प्रदेश अस्पताल र ३ दिन मेहलकुनाबाट उपचार सेवा दिने गरेका छन् । अध्ययन बिदाका लागि कालीकोटका भीष्मप्रसाद पोखरेल, जाजरकोटका सुनील पुन, सल्यानका अर्जुन बुढा, मुगुका निर्मल नगरकोटी र रुकुम पश्चिमका महेश चौलागाईंले जिल्ला छोडेका छन् । हुम्लामा अहिलेसम्म विशेषज्ञ डाक्टर नै पुगेका छैनन् ।
कर्मचारी टिकाउन प्रदेश सरकारले आकर्षक प्याकेज ल्याए पनि स्वास्थ्यकर्मीको अभाव सुरुदेखि नै रहेको निर्देशनालयका निर्देशक डा. रविन खड्काले बताए । उनका अनुसार चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई उपचारका लागि अन्य प्रदेशमा जानुपर्ने बाध्यता छ । प्रदेश सरकारले ११ औं तहका विशेषज्ञ चिकित्सक सुर्खेतमा कार्यरत भए ७५, सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेखमा भए ९० प्रतिशत थप सुविधा दिने निर्णय गरेको छ ।
त्यस्तै, कालीकोट र जुम्लामा मासिक १०० प्रतिशत तथा मुगु, डोल्पा र हुम्लामा १ सय ५ प्रतिशत थप सुविधा दिएको निर्देशक खड्काले बताए । उनका अनुसार प्रदेश सरकारले नवौं र दसौं तहका चिकित्सकलाई सुर्खेतमा ७५, सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेखमा ८०, कालीकोट र जुम्लामा ९० तथा मुगु, डोल्पा र हुम्लामा १ सय २५ प्रतिशत थप सुविधा दिने निर्णय गरेको छ ।
ज्योति कटुवाल/कान्तिपुर






