बर्सेनी भेलसँगै बग्छ राज्यको करोडौं लगानी

असारे विकासको वेथिती

सुर्खेत, ९ असार ।

घटनाः १

नेपालको झण्डा आकारमा खनिएको सडक यतीबेला सामाजिक सञ्जालमा निकै भाइरल छ । भाइरल भइरहेको उक्त सडक दैलेखको महाबु गाउँपालिकाका हो । वडा नं. ४ मा पर्ने काप्रिखोला–बासखोला–गीताचौर सडक खण्डको त्यही सडक भाइरल छ । उक्त सडक उपभोक्ता समितिबाट निर्माण गरिएको हो ।

१२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको सडकमा गाडी गुडाउन त परको कुरा, नागरिकलाई पैदल हिँड्नसमेत कठिन देखिन्छ । असार मसान्त लागेसँगै त्यही सडकको भुक्तानी दिन गाउँपालिकालाई दवाव परेको छ । निर्माण सम्पन्न भइसकेको बताउँदै उपभोक्ता समितिले नै भुक्तानीका लागि दबाव दिइरहेको बुझिएको छ । असारे विकासको विकृति भन्दै सामाजिक सञ्जालमा सडकको तस्विर भाइरल भएपछि गाउँपालिकालाई पनि बाँकी भुक्तानी रोक्नुपर्ने नैतिक दवाव परेको हो ।

घटनाः २
कालिकोटको रास्कोट नगरपालिकामा एक करोडको आयोजना २० दिनमै सक्ने तयारी गरिएको छ । संघीय सरकारबाट चालु आर्थिक वर्ष २०७६÷०७७ मा विनियोजित एक करोड बजेट सक्न रातारात रंगशाला निर्माण थालिएको हो । स्रोतले दिएको जानकारी अनुसार नगरपालिकाका प्रतिनिधि, वडा नं. २ वडाध्यक्ष र उपभोक्ता समितिको मिलेमतोमा २० दिनमै एक करोड सिध्याउने तयारी गरिएको छ ।

गतवर्ष पनि एक करोड भुक्तानी लिएर जनप्रतिनिधिकै मिलेमतोमा रंगशाला निर्माण अधुरै छोडियो’ स्रोतले भन्यो, ‘यो वर्षपनि एक करोड सक्न फिल्ड सफा गर्ने र आरसीसी वाल बनाउन सुरु गरेका छन् ।’ वर्षभरी वेवास्ता गर्ने र असार मसान्त आउनै लाग्दा रातारात उपभोक्ता
समिति गठन गरे काम गर्न थालिएको हो । विवादकाबीच नगरपालिकाको समन्वयमा असार ३ गतेमात्रै उपभोक्ता समितिले गठन गरिएको थियो । ‘एक करोडको आयोजना भनेपछि उपभोक्ता समितिमा बस्न हानथाप नै हुन्छ’ स्रोतले भन्यो ‘पहिलो चरणमा स्टमेटअनुसार काम भएन, यो वर्ष पनि अन्तिमा आएर बजेट सक्ने काम गरिंदैछ।’ असार २५ गतेभित्र आयोजना सक्नेगरी काम भइरहेको छ । तर नगरपालिकाकाले भने कामको मूल्याङ्कन गरेर मात्रै भुक्तानी दिने जनाएको छ ।

‘कोरोना भाइरसका कारण अख्तियारी आउन ढिला भयो’ नगरप्रमुख काशीचन्द्र बरालले भने ‘एक करोड सक्नेभन्दा पनि रंगशाला निर्माण सम्पन्न गर्ने हो, असार मसान्तसम्म जति काम हुन्छ, त्यति नै भुक्तानी हुन्छ ।’ उल्लेखित घटना असारे विकासका केही उदाहरण मात्रै हुन् । हरेकवर्ष असार महिना लागेसँगै ठेकेदार र उपभोक्ता समितिले करोडौंका आयोजनाहरु कागजी रुपमा सम्पन्न गर्ने र राज्यको ढुकुटी सक्ने काम गर्दै आएका छन् । असारमा बजेट सक्न रातारात निर्माण गरिएको आयोजनाको दिगोपना भने हुँदैन ।

तर कागज मिलाएर निर्माण भएका यस्ता आयोजनाबाट बर्सेनी राज्यको करोडौं लगानी खेर जाने गरेको छ । हतारमा निर्माण गरिएका सडकहरु वर्षातको भेलसँगै बग्छन् भने त्यसमा खर्च भएको राज्यको लगानी पनि भेलसँगै बग्छ । यसबारे जानकारी भएर पनि जनप्रतिनिधि, राजनीतिक दल, उपभोक्ता समिति, ठेकेदार कम्पनीले असार मसान्तमै आयोजना सम्पन्न गर्ने प्रवृति रोक्न सकेका छैनन् ।

बैंक खाता रोक्न उपभोक्ताकै निवेदन
उपभोक्ता समितिबाट निर्माण गरिएको काप्रिखोला–बासखोला–गीताचौर सडक निर्माणको बैंक खाता रोकिदिन केही उपभोक्ताले नै गाउँपालिकासँग अनुरोध गरेका छन् । लाभाम्वित उपभोक्ताहरुको सहभागिता विनै सिमित उपभोक्ताहरुले आफू अनुकुल समिति गठन गरेको भन्दै स्थानीय सुवर्ण शाहीले समितिको बैंक खाता रोक्का गर्न गाउँपालिकामा निवेदन दिएका छन् ।

लागत अनुमान अनुसार सडक निर्माण नभएको र बजेट दुरुपयोग गरिएको भन्दै शाहीले बैंक खाता रोक्न गाउँपालिकामा निवेदन दिएका हुन् । गाउँपालिकाका कार्यकारी प्रमुख भक्तबहादुर मल्लले भने योजनाहरुको काम नभएको अवस्थामा भुक्तानी नदिने बताए ।
‘सकड निर्माण सम्पन्न भएको छैन, गाउँपालिकाले स्टमेट अनुसार नै काम गर्न उपभोक्ता समितिलाई निर्देशन दिएको छ’ मल्लले भने, ‘स्टमेटअनुसार काम नभएसम्म उपभोक्ता समितिले सडकको भुक्तानी पाउँदैन ।’

उपभोक्तालाई नै दुव्र्यवहार
असारे विकास मात्रै होइन, ठेक्का हात पार्न केही निर्माण व्यवसायीले प्रशासनिक निकायलाई समेत दवावमा राख्ने गरेका छन् । असार १ गते दैलेखमा भएको एउटा घटनाबाट ठेकेदारले प्रशासनिक निकायलाई कसरी चलाउँछन् भन्ने पुष्टि गर्दछ । सडक निर्माण गुणस्तरहीन भएको गुनासो पोख्दा ठेकेदारबाट सार्वजनिक स्थलमै उपभोक्तालाई अभद्र व्यवहार खेप्नु परेको छ ।

महाबु गाउँपालिकामा निर्माणाधिन ताराघाट, गैडावाज, काँसिकाँध सडकमा प्राविधिक स्टिमेट अनुसार काम नभएको भन्दै गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीसँग गुनासो गर्दा ठेकेदार प्रविन थापाले उपभोत्तामाथि नै अभद्र व्यवहार गरेका छन् । सडक निर्माणको ठेक्का लिएका एवी महाबु कन्स्ट्रक्सन प्रालिका ठेकेदार मालिक थापाले उपभोक्ता भरतबहादुर शाहीमाथि सार्वजनिक स्थानमै मुक्का प्रहार गरे ।

‘सडकमा ग्राबेल गर्दा गिट्टीभन्दा माटो धेरै हालिएको थियो’ पीडित शाहीले भने, ‘गाउँपालिकाका अध्यक्षलाई गुनासो गर्दा ठेकेदार कुटपीट गरे ।’ ठेकेदार शाहीले सडक निर्माणको एक करोडको रुपैयाँ नलिने बरु उपभोक्तकै ज्यान लिने सम्मको धम्की दिएका छन् । पीडितहरुले न्याय खोज्न प्रशासनमा धाउँदा हप्ता दिनसम्म प्रहरी कार्यालयले मुाद्दा दर्ता गर्न मानेको छैन । उपभोक्ताहरुले ठेकेदारलाई कारबाहीको माग गर्दै अस्थायी प्रहरी चौकी गैडाबाजमा मुद्दा दिन गए पनि प्रहरीले पीडकलाई पक्राउ गर्न नसक्ने बताएको हो । (२०७७ असार ९ गते म‌गलबार युगअाव्हान राष्टि्य दैनिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया