बोल्नै नसक्ने अवस्थामा पुगे अनशनरत डा. केसी

काठमाडौं, २० असोज ।
२२ दिनदेखि अनशनरत डा. गोविन्द केसी बोल्न नसक्ने अवस्थामा पुगेका छन् । डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार केसीलाई छाती तथा मांसपेशी दुख्ने र रिँगटा लाग्ने समस्याले धेरै कमजोर बनाएपछि बोल्न नसक्ने अवस्थामा पुगेका हुन् । केसीको शरीरमा सोडियम, पोटासियम, म्याग्नेसियम, क्याल्सियम तथा फस्फोरसको मात्रा कमी हुनुका साथै मुटुको चाल घटबढ भइरहेको छ ।

श्वासप्रश्वासमा धेरै गाह्रो हुन थालेपछि आइतबारदेखि केसीलाई अक्सिजन दिएर राखिएको अस्पतालले जनाएको छ । डा. केसीले अक्सिजनबाहेक कुनै पनि उपचार लिन मानेका छैनन् । नेपाल चिकित्सक संघले डा. केसीसँग वार्ता गर्न ७२ घण्टे अल्टिमेटम दिएको छ भने केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरुले एप्रोनमै सडकमा निस्किएर प्रदर्शन गर्न थालेका छन् ।
केसीले चिकित्सा शिक्षा सुधारलगायतका मागसहित भदौ २ ९ गते जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए उनलाई असोज ६ गते काठमाडौं ल्याइएको हो । सरकारले उनको माग सम्बोधनका लागि वार्ताको कुनै पहलसमेत गरेको छैन भने अनशन तोड्नका लागि आग्रहसमेत गरेको छैन ।






