कुटपिटपछि हत्या रुकुम घटनाको सबत्र बिरोध

दैलेख, १४ जेष्ठ ।
रुकुमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा युवाहरुमाथी भएको कुटपिटपछि हत्याको चौतर्फी विरोध भएको छ । एक किशोरीसंगको प्रेम सम्वन्धको विषयलाई लिएर वडाध्यक्ष डम्वरबहादुर मल्लसहित गाउँलेको संलग्नतामा सामूहिक कुटपिटपछि हत्या भएको थियो । जाजरकोट जिल्ला भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज बिक, सोही ठाउँका १७ वर्षीय गणेश बुढामगर र रुकुमको चौरजहारी नगरपालिका–८ का २० टीकाराम सुनारको हत्याको घटनामा देशभर चर्को बिरोध भइरहेको छ ।

जेठ १० गते भएको कुटपिटमा ३ जनाको शव भेरीमा फेला परेको र जाजरकोट जिल्ला भेरी नगरपालिका–४ का १८ वर्षीय लोकन्द्र सुनार, १७ वर्षीय गोबिन्द शाही, २१ वर्षीय सन्दीप बिक अझै बेपत्ता पारिएको घटना बारे प्रतिनिधिसभामा साँसद पार्वती बिशुन्केले आज सँसदमा घटनाको सत्यतथ्या छानबिन हुनपर्ने माग राखिन् । राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सदस्य टेकेन्द्र बिश्वकर्माको नेतृत्वमा जाजरकोट पुगेको अधिकारीहरुको टोलीले पीडित परिवारलाई भेट्ने, घटनाको विषयमा जाहेरी दिने र शव पोष्टमार्टमको निम्ति सघाई रहेको छ ।

स्थानीय दलित अधिकारकर्मीहरु समेतको सहभागितामा जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त र डीएसपी किशोरकुमार श्रेष्ठलाई भेटी न्यायिक प्रक्रियाका काममा सघाएको हो । सामूहिक हत्याको जघन्य अपराधमा सरकार आफैले गर्नुपर्ने छानबिन र कानूनी कारवाही बढाउनुपर्नेमा दलित समुदाय पीडित भएको कारण उदासिन देखिएको राष्ट्रिय दलित पत्रकार संघ नेपालका कर्णाली प्रदेश अध्यक्ष खगेन्द्र सुनारले टिप्पणी गरे ।


घटनाको सम्वन्धमा दैलेखस्थित नागरिक समाज संस्थाहरुले दैलेखका प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ध्यानाषकर्षणपत्र पठाउनुसंगै विज्ञप्ती जारी गर्दै घटनाका दोषीलाई कारवाही र पीडित परिवारलाई न्याय दिलाउन अपिल गरेका छन् । दैलेख बारका अध्यक्ष माधवराज अधिकारीको नेतृत्वमा गैसस महासंघका अध्यक्ष महारुप खत्री, पत्रकार अमर सुनार, अधिकारकर्मीहरु भरतराज अधिकारी र गीता बस्यालको टोलीले प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई भेटेर ध्यानाकर्षणपत्र बुझाएको हो ।

त्यसैगरी स्थानीय तह दलित जनप्रतिनिधि मञ्चका संयोजक दिनेशबहादुर बिकले प्रेस विज्ञप्ती जारी गर्दैै विज्ञान र प्रविधिको युगमा युवायुवतीवीच अन्तरजातीय प्रेम सम्वन्धलाई लिएर जनप्रतिनिधिबाट ३ जनाको ज्यान जाने र अरु ३ जना बेपत्ता पार्ने कार्य निन्दनीय कार्य भएकोले कडा कारवाही माग गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार