सम्पादकीय : मानवता विरोधी कार्य

रुकुमपश्चिमा एउटा घटनाले यतिबेला मानवीयता र हाम्रो समाजको सोचलाई सतहमा ल्याइदिएको छ । कथित तल्लो र माथिल्लो जातको नाममा हुने विभेदको पराकाष्टा बाहिर आएको छ । एक दलित किशोर र कथित माथिल्लो जातकी एक किशोरीबिचको प्रेमलाई लिएर समुदाय नै विभाजित देखिन्छ । जाजरकोटका एक दलित किशोर र रुकुमपश्चिमकी एक कथित उपल्लो जातकी किशोरीबिचको प्रेमकै कारण गाउँलेले नै आक्रमणमा उत्रिए । घटनामा आफ्नी प्रेमिकालाई विहेका लागि लिन गएका जाजरकोटका किशोर र अरु दुई जनाको ज्यान गएको छ । घटनामा अरु तीन जना वेपत्ता भएको समाचार सार्वजनिक भएको छ । यो घटनामा स्थानीय वडाध्यक्षको नेतृत्वमा आक्रमण भएको स्थानीयको आरोप छ । घटनाबारे थप अनुसन्धान जारी छ । सत्य र तथ्य बाहिर आउने नै छ । तर प्रारम्भिक विवादको कारण भनेको अन्तरजातीय विहे नै देखिएको छ । केटी पक्षले दलित भएकै कारण केटालाई अस्वीकार गरेको र गाउँमा आएको मौकामा आक्रमण गरेको देखिन्छ । वास्तवमा यो घटना मानवता विरोधी र जातीय विभेदको पराकाष्टा नै हो ।

दलित भएकै कारण प्रेम गर्न नपाउने हो ? अर्थात कथित माथिल्लो जातको भएकै कारण दलितसँग विवाह गर्न नपाइने हो ? पछिल्लो यो घटनाले गम्भिर प्रश्न उब्जाएको छ । प्रेमको कुनै जात हुँदैन । न कुनै धर्म, न त कुनै रंग । तर रुकुमको घटनाले हाम्रो समाज कता जाँदैछ भन्ने गतिलो उदारण देखाएको छ । रुकुम आफैमा जातीय विभेदमुक्त घोषणा गरिएको जिल्ला हो । अझ भनौं जनयुद्धको उदगम् जिल्ला पनि हो । जनयुद्धको बेलामा जातीय विभेदविरुद्ध निकै परिवर्तन भयो । विभेद विरुद्ध जनतामा पनि चेतना पलायो । तर आज जातीय विभेदमुक्त जिल्लामा नै दलित भएकै कारण आक्रमण भयो । यति मात्र होइन, एक किशोरले आफ्नो प्रेम मात्र नभई ज्यान नै गुमाए । उनलाई साथ दिन गएकाहरु मध्ये केही वेपत्ता छन्, केही घाइते । घटनाको पछाडि जेसुकै कारण हुन सक्लान्, तर यो घटना अपाराधिक कार्य हो । समग्रमा भन्दा मानवताविरुद्धको कार्य हो । यसलाई कुनै हालतमा माफी दिनु हुँदैन ।

आजको युगमा आएर पनि जातका आधारमा कसैको ज्यान लिनु दुखद् हो । जातभातको कुरा गरेर समाजलाई विभाजन गर्ने कार्यलाई निरुत्साहित गरिनु पर्दछ । दलित वा गैर दलित भएकै कारण मान्छेको हत्या गर्ने कार्यलाई उन्मुक्ति दिइनु हुँदैन । यो घटनाको निश्पक्ष छानबिन हुनु पर्दछ । पीडितलाई न्याय दिलाउनु पर्दछ । मानवता विरुद्धका कार्यमा संलग्न भएकाहरुलाई कानुनी दायरामा ल्याउनु पर्दछ । राजनीतिक पहुँच र दबावममा यस्ता घटनालाई मिलाउने वा दबाउने कार्य सकैले गर्नु हुँदैन । आज एक किशोरले आफ्नो प्रेमका लागि ज्यान नै गुमाए । तर अपराधमा संलग्नहरुलाई कानुनी दायरामा नल्याउने हो भने भोलीका दिनमा समाजले मानवता गुमाउने छ । यसकारण मानवता विरोधी यो घटनाका पीडितलाई न्याय र दोषीलाई सजाय दिनेतर्फ राज्य गम्भिर हुनै पर्दछ ।

याे पनि पढ्नुहाेस :

‘दुलही लिन गएको छोरो लास बनेर आयो’

साेती घटना : दुइकाे शव फेला, पाँच बेपत्ता, वडा अध्यक्षसहित प्रहरी नियन्त्रणमा

गाउँलेको कुटाइबाट एकको मृत्यु, ६ बेपत्ता

तपाईको प्रतिक्रिया