‘दुलही लिन गएको छोरो लास बनेर आयो’

राजेन्द्र कार्की (प्रवाह अनलाइन)
जाजरकोट, १२ जेष्ठ ।
जाजरकोटको भेरी नगरपालिका ४ खलंगाका नवराज विक. र पश्चिम रुकुम चौरजहारी नगरपालिका ८ सोतीकी सुष्मा मल्ल वीचमा तीन बर्ष अघि देखि प्रेम बसेको थियो । उनीहरुले प्रेम गाँसेको कुरा विस्तारै दुवै तिरका घरपरिवारले थाह पाए । केटी तर्फका घरपरिवारले दलित केटा सँगको प्रेम सम्बन्ध कुनै हालतमा अघि बढ्न नसक्ने भन्दै पटक पटक चेतावनी दिदै आएका थिए । तर गहिरो माया बसेपछि उनीहरु एक अर्का विना बाँच्न नसक्ने भन्दै विवाह बन्धनमै बाँधिने निर्णयमा पुगिसकेका थिए ।

केटी केटाको घरमा समेत आउजाउ गर्ने गरेकी थिईन । केटाकी आमा उर्मिलाले ‘हाम्रो जातभात मिल्दैन । तिमी ठुलो जातकी (ठकुरीकी छोरी) पर्यौ हामी दलित भयौ । तिम्रो आमाबुवाले स्वीकार गर्नुहुन्न । यो सम्बन्ध अघि नबढाउ मात्र साथीको सम्बन्ध मात्र राख्दा राम्रो हुन्छ ।’ भनेर एक बर्ष अघि नै भनेकी थिईन । तर चोखो माया जातले नछेक्ने भन्दै दुवैले सँगै जिउने सँगै मर्ने कसम खाएका थिए । आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने सल्लाह बमोजिम केटीकै आग्रहमा उनीहरु शनिवार केटीको गाँउ सोती पुगेका थिए । एक्लै गए खतरा हुने ठानेरै १८ जना साथी लिएर गएका नवराज अन्ततः साथीहरुले पनि जोगाउन सकेनन् । पाँच जना साथी बेपत्ता छन् । अर्को एक जना मृत अवस्थामा फेला परेका छन् ।

शनिवार बेलुका भएको घटनामा बेपत्ता भएका ६ जना मध्य पश्चिम रुकुमको चौरजहारी नगरपालिकाका वडा नं. १ का टीकाराम सुनार शव २५ किलोमिटर तल भेरीको किनारमा फेला परेको छ । बेहुली लिन गएका जाजरकोट भेरी नगरपालिका ४ का २१ बर्षिय नवराज विकको शव शुक्रवार विहानै भेरी किनारमा भेटिएको थियो । मृतक नवराजकी प्रेमिका पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं. ८ सोतीकी १७ वर्षिय सुस्मा मल्ललाई वेहुलीको रुपमा भित्र्याउन शनिवार १९ जना युवासहित गाउँ पुगेका वेला वडाध्यक्ष डम्बरबहादुर मल्लसहित सोतीका गाउँलेहरुले आक्रमण गरेर लखेट्दा नवराजको भेरी नदीमा खसेर मृत्यु भएको र अन्य ६ जना वेपत्ता भएका थिए । १२ जनालाई गाँउलले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । उनीहरु आएका थाह पाएपछि केटीका आमाबुवाले गाउँलेलाई बोलाएर आक्रमण गरी लखेटेर हत्या गरेको पिडित पक्षको भनाई छ । प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ ।

घटना पछि चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका (बुवा) वीरबहादुर मल्ल र आमा प्रकाशी मल्ल सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनामा संलग्न अन्यलाइ पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्ने कार्य भैरहेको जनाएको छ । प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका वडा नम्वर ४ का गणेश विक, भेरी नगरपालिका वडा नम्वर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सन्दीप विक वेपत्ता भएका छन् । ती मध्ये एक जनाको शव हुन सक्छ सल्यानको राघेचौरको प्रहरीलाई जानकारी गराएका छौं । जाजरकोटबाट पनि प्रहरी गएको छ प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले भने शवको पहिचान परिवारलाई देखाएपछि मात्र हुनेछ ।

नवराजसहितको युवा समुहलाई तल्लो जातको केटाले ठकुरीकी छोरी भगाउन खोजेको भन्दै आक्रमण गरि ढुंगा मुढा प्रहार गदै लखेटेको स्थानीयको भनाई छ । तर माइती पक्षले भने केटीको उमेर नपुगेको र केटीले विहेको लागि अस्वीकार गरेपनि जर्वजस्ती लान खोज्दा विवाद भएको र भाग्ने क्रममा नदीमा डुबेर ज्यान गएको दावी गरेका छन् । घटनापछि प्रहरीले उल्टै पक्राउ गरिएका जाजरकोटका १२ जना मध्ये भेरी नगरपालिका वडा नम्वर ४ का सुदीप खड्का गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । मृतकको शवको पोष्र्टमार्टमका लागी जिल्ला अस्पताल ल्याईएको र घटनाबारे गहिरो अनुसन्धान भैरहेको जाजरकोटका प्रहरी प्रमुख डिएस्पी श्रेष्ठले बताए ।

अन्ततः त्यही भयो जुन नहुनु थियो । दुलही लिन गएको छोरा लास बनेर आयो बाबु मोहन विकले भने ‘घटना सुने देखि उसको आमा बेहोस छिन् । पुलिसको जागिर खान्छु । विवाह गर्छु । आमाबुवालाई सुख सँग पाल्छु भन्थ्यो । पापीहरुले मुनैमा चुडिदिए । उसका सवै सपना अधुरै रहे ।’ घटना जातीय विभेदका कारणले घटेको भए गम्भीर अपराध ठहरिने दलित अधिकारकर्मीहरु बताउछन् । केटा र केटीको मन मिले जातीय विभेदको नाउँमा भौतिक आक्रमण गरेर ज्यान लिने हर्कत अक्षम्य भएको दलित अधिकारकर्मी पार्वती विकको भनाई छ । यस्तो घटनामा संलग्न जो कोहि भएपनि सजायको भागेदार हुनै पर्ने उनको भनाइ छ । दलित अधिकार संग सम्बन्धित विभिन्न संस्थाले विज्ञप्ती निकाली घटनाको सत्य तथ्य छानवीन गरी दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

याे पनि पढ्नुहाेस :

साेती घटना : दुइकाे शव फेला, पाँच बेपत्ता, वडा अध्यक्षसहित प्रहरी नियन्त्रणमा

तपाईको प्रतिक्रिया