‘दुलही लिन गएको छोरो लास बनेर आयो’

राजेन्द्र कार्की (प्रवाह अनलाइन)
जाजरकोट, १२ जेष्ठ ।
जाजरकोटको भेरी नगरपालिका ४ खलंगाका नवराज विक. र पश्चिम रुकुम चौरजहारी नगरपालिका ८ सोतीकी सुष्मा मल्ल वीचमा तीन बर्ष अघि देखि प्रेम बसेको थियो । उनीहरुले प्रेम गाँसेको कुरा विस्तारै दुवै तिरका घरपरिवारले थाह पाए । केटी तर्फका घरपरिवारले दलित केटा सँगको प्रेम सम्बन्ध कुनै हालतमा अघि बढ्न नसक्ने भन्दै पटक पटक चेतावनी दिदै आएका थिए । तर गहिरो माया बसेपछि उनीहरु एक अर्का विना बाँच्न नसक्ने भन्दै विवाह बन्धनमै बाँधिने निर्णयमा पुगिसकेका थिए ।

केटी केटाको घरमा समेत आउजाउ गर्ने गरेकी थिईन । केटाकी आमा उर्मिलाले ‘हाम्रो जातभात मिल्दैन । तिमी ठुलो जातकी (ठकुरीकी छोरी) पर्यौ हामी दलित भयौ । तिम्रो आमाबुवाले स्वीकार गर्नुहुन्न । यो सम्बन्ध अघि नबढाउ मात्र साथीको सम्बन्ध मात्र राख्दा राम्रो हुन्छ ।’ भनेर एक बर्ष अघि नै भनेकी थिईन । तर चोखो माया जातले नछेक्ने भन्दै दुवैले सँगै जिउने सँगै मर्ने कसम खाएका थिए । आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने सल्लाह बमोजिम केटीकै आग्रहमा उनीहरु शनिवार केटीको गाँउ सोती पुगेका थिए । एक्लै गए खतरा हुने ठानेरै १८ जना साथी लिएर गएका नवराज अन्ततः साथीहरुले पनि जोगाउन सकेनन् । पाँच जना साथी बेपत्ता छन् । अर्को एक जना मृत अवस्थामा फेला परेका छन् ।

शनिवार बेलुका भएको घटनामा बेपत्ता भएका ६ जना मध्य पश्चिम रुकुमको चौरजहारी नगरपालिकाका वडा नं. १ का टीकाराम सुनार शव २५ किलोमिटर तल भेरीको किनारमा फेला परेको छ । बेहुली लिन गएका जाजरकोट भेरी नगरपालिका ४ का २१ बर्षिय नवराज विकको शव शुक्रवार विहानै भेरी किनारमा भेटिएको थियो । मृतक नवराजकी प्रेमिका पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं. ८ सोतीकी १७ वर्षिय सुस्मा मल्ललाई वेहुलीको रुपमा भित्र्याउन शनिवार १९ जना युवासहित गाउँ पुगेका वेला वडाध्यक्ष डम्बरबहादुर मल्लसहित सोतीका गाउँलेहरुले आक्रमण गरेर लखेट्दा नवराजको भेरी नदीमा खसेर मृत्यु भएको र अन्य ६ जना वेपत्ता भएका थिए । १२ जनालाई गाँउलले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । उनीहरु आएका थाह पाएपछि केटीका आमाबुवाले गाउँलेलाई बोलाएर आक्रमण गरी लखेटेर हत्या गरेको पिडित पक्षको भनाई छ । प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ ।

घटना पछि चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका (बुवा) वीरबहादुर मल्ल र आमा प्रकाशी मल्ल सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनामा संलग्न अन्यलाइ पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्ने कार्य भैरहेको जनाएको छ । प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका वडा नम्वर ४ का गणेश विक, भेरी नगरपालिका वडा नम्वर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सन्दीप विक वेपत्ता भएका छन् । ती मध्ये एक जनाको शव हुन सक्छ सल्यानको राघेचौरको प्रहरीलाई जानकारी गराएका छौं । जाजरकोटबाट पनि प्रहरी गएको छ प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले भने शवको पहिचान परिवारलाई देखाएपछि मात्र हुनेछ ।

नवराजसहितको युवा समुहलाई तल्लो जातको केटाले ठकुरीकी छोरी भगाउन खोजेको भन्दै आक्रमण गरि ढुंगा मुढा प्रहार गदै लखेटेको स्थानीयको भनाई छ । तर माइती पक्षले भने केटीको उमेर नपुगेको र केटीले विहेको लागि अस्वीकार गरेपनि जर्वजस्ती लान खोज्दा विवाद भएको र भाग्ने क्रममा नदीमा डुबेर ज्यान गएको दावी गरेका छन् । घटनापछि प्रहरीले उल्टै पक्राउ गरिएका जाजरकोटका १२ जना मध्ये भेरी नगरपालिका वडा नम्वर ४ का सुदीप खड्का गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । मृतकको शवको पोष्र्टमार्टमका लागी जिल्ला अस्पताल ल्याईएको र घटनाबारे गहिरो अनुसन्धान भैरहेको जाजरकोटका प्रहरी प्रमुख डिएस्पी श्रेष्ठले बताए ।

अन्ततः त्यही भयो जुन नहुनु थियो । दुलही लिन गएको छोरा लास बनेर आयो बाबु मोहन विकले भने ‘घटना सुने देखि उसको आमा बेहोस छिन् । पुलिसको जागिर खान्छु । विवाह गर्छु । आमाबुवालाई सुख सँग पाल्छु भन्थ्यो । पापीहरुले मुनैमा चुडिदिए । उसका सवै सपना अधुरै रहे ।’ घटना जातीय विभेदका कारणले घटेको भए गम्भीर अपराध ठहरिने दलित अधिकारकर्मीहरु बताउछन् । केटा र केटीको मन मिले जातीय विभेदको नाउँमा भौतिक आक्रमण गरेर ज्यान लिने हर्कत अक्षम्य भएको दलित अधिकारकर्मी पार्वती विकको भनाई छ । यस्तो घटनामा संलग्न जो कोहि भएपनि सजायको भागेदार हुनै पर्ने उनको भनाइ छ । दलित अधिकार संग सम्बन्धित विभिन्न संस्थाले विज्ञप्ती निकाली घटनाको सत्य तथ्य छानवीन गरी दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

याे पनि पढ्नुहाेस :

साेती घटना : दुइकाे शव फेला, पाँच बेपत्ता, वडा अध्यक्षसहित प्रहरी नियन्त्रणमा

‘दुलही लिन गएको छोरो लास बनेर आयो’

सुर्खेतका कोरोना संक्रमित भन्छन ‘कोरोना लागेको महशुस

‘दुलही लिन गएको छोरो लास बनेर आयो’

जाजरकोटका चार युवा रुकुममा अझै बेपत्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds