कोरोनाबाट मान्छे असुरक्षित मान्छेबाट वन्यजन्तु !

दीपक बुढा
सुर्खेत, ३ जेठ ।
मानव जातिको विनासमा विश्वव्यापी रुपमा कोरोना संक्रमण फैलिएको छ । कोरोना संक्रमणबाट विश्वभर शनिबार दिउँसोसम्म मृत्यु हुनेको संख्या ३ लाख १० हजार पुगेको छ । नेपालमा संक्रमितको संख्या २७६ जना पुगेको छ । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउन दुई महिना पुग्नै लाग्यो ।

कोरोना र लकडाउनबाट मानव जाति असुरक्षित बनेकाे छ भने मान्छेहरुबाटै वन तथा वन्य जन्तुहरु असुरक्षित बनेका छन् । कोरोना संक्रमण नियन्त्रण गर्न नेपालमा लकडाउन लागेकै अवस्थामा तीन महिनायता सुर्खेत काँक्रेविहार जंगल आसपासमा तीन वटा जरायो मृत भेटिएका छन् । ३ वटा वन्यजन्तुकाे उद्धार गरिएकाे छ भने तीन मृत सहित सुर्खेत उपत्यकामा ६ वटा वन्य जन्तुका घटना भएका छन् र  नेपालको एकमात्र संरक्षित क्षेत्र काँक्रेविहार जंगलमा रहेका तीन वटा जरायो गोली लागेर मृत्यु भएको अवस्थामा भेटिएका छन् ।

जिल्ला वन कार्यालय सुर्खेतका अनुसार तीन महिनाको अवधिमा तीन वटा जरायो गोलि लागेर मृत्यु भएको भेटिएका हुन । वीरेन्द्रनगर–९ पातलगंगामा लकडाउन अगाडी एउटा जरायो गोली लागेर मृत भएर कुहिएको अवस्थामा भेटिएको थियो ।  दोस्रो पटक लकडाउनकै समयमा वीरेन्द्रनगर वडा नं. १० मा पर्ने घुस्रा नजिकै खेतबारीमा अर्को जरायो मृत अवस्थामा भेटिएको थियो । कोरोना सन्त्रास र लकडाउनकै विचमा शनिबार वीरेन्द्रनगर–१० मा पर्ने कुन्टी जंगलमा तेस्रो मृत अवस्थामा जरायो भेटिएको छ । स्थानीय युवा सुरज केसी गोली लागेर मृत अवस्थामा कुहिएको जरायो फेला पारेका थिए । मृत जरायो भेटिएपछि उनले स्थानीय प्रहरी, प्रशासन र वन कार्यालयमा खबर गरेका थिए । मृत भेटिएको जरायोको सिंग भने कसले निकालेको देखिन्छ ।

कोरोना सन्त्रास र लकडाउनले विश्व ठप्प भएको अवस्थामा काँक्रेविहार जंगलमा चोरी सिकारीको सक्रियता बढेको छ । काँक्रेविहारका प्रतिनिधीमूलक घटना हुन देशभरका राष्ट्रिय, सामूदायिक वन, राष्ट्रिय निकुञ्ज, संरक्षित वन क्षेत्रमा वन विनास र वन्यजन्तु चोरी सिकारीका घटना बढेका छन् । २०७७ जेठ १ गते विहिबार काँक्रेविहारबाट निस्केर गाउँ वस्तिमा छिरेको वयस्क जरायो नियन्त्रणमा लिइएको थियो । स्थानीय युवाहरुले जरायो नियन्त्रणमा लिएर वन कार्यालय, स्थानीय प्रहरी र वडाका जनप्रतिनिधिलाई खबर गरेका थिए । वीरेन्द्रनगर–९ का वडा अध्यक्ष सुरेश मानन्धर, प्रहरी र वन अधिकृतको रोहबरमा सुरक्षित छोपिएको जरायो पुनः काँक्रेविहार जंगलमा छोडिएको थियो ।

डिभिजन वन कार्यालय सुर्खेतका सहायक वन अधिकृत टेक बहादुर रावलले चोरी सिकारीबाटै तीन महिनाको अवधिमा काँक्रेविहारमा मात्रै तीन वटा गोली लागेका जरायो मृत अवस्था फेला परेको बताए । उनले भने ‘मान्छे कोरोना संक्रमणबाट असुरक्षित छौं । जंगली जनावर चोरीसिकारी गर्ने मान्छेबाटै असुरक्षित भए ।’ संरक्षित वन काँक्रेविहारको वरिपरी तारबार नहुँदा जंगली जनावरहरु खुमखुल्ला गाउँवस्तिमा समेत आउने गरेका छन् । काँक्रेविहारको तारबार नहुनु र वन रक्षकबाट नियमित गस्ती गराउन नसकिँदा बन्यजन्तु चोरीसिकारी र काठ चोरी तस्किरी देखिएको सहायक वन अधिकृत रावलको भनाई छ ।

लगातार गोली लागेर मृत्यु भएका तीन वटा जरायो भेटिएपछि गहन अनुसन्धान थालिएको छ । काँक्रेविहार परिवपरिकै मान्छेबाट बन्दुकको प्रयोग भएको हूँदा प्रहरी, प्रशासनको सहयोग लिएर सुस्म रुपमा अध्ययन, अनुसन्धान गरी दोषिमाथी कडा कारवाही गरिने सहायक वन अधिकृत रावलले बताए । काँक्रेविहार जंगलमा जरायो, मृत, बदेल गरी १०/१५ वटा जंगली जनावारहरु रहेको अनुमान गरिएकोछ ।

‘अब यो लकडाउन पछि हामी काँक्रेविहार वरिपरि स्थानीयवासीहरुको अनुसन्धान प्रकिया अघी बढाउने छौ । त्यहाँ वरिपरि बस्नेहरु संग पक्कै पनि बन्दुक हुनुपर्छ यो हाम्रो संका हो किनभने प्राय जरायोहरुमा गोली प्रहार गरेको भेटेका छौं यसरी यस भन्दा अगाडीका चोरीशिकारको घटनामा पनि गोली नै प्रहार भएको छ ।’ डिभिजन वन कार्यालय प्रमुख गोविन्द दाहालले बताए ।

विगतमा भन्दा काँक्रेविहारमा जंगली जनावारको संख्या बढेपनि उनीहरुको सुरक्षाको चुनौति भने थपिएको सहायक वन अधिकृत रावलले बताए । प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक बर्षमा बहुबर्षिय योजना अन्तर्गत २० करोडको लागत स्टिमेटमा काँक्रेविहार वरिपरी तारबार गर्नेगरी टेण्डर भएको छ । चालु आर्थिक बर्षमा ४ करोडको काम हुँदैछ । टेण्डर छनौंट प्रक्रिया लकडाउने अवरुद्ध भएपछि ठेक्का स्वीकृतिको काम रोकिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाले खुल्ला चिडिया खाना बनाउने गरी काँक्रेविहारलाई प्रस्ताव गरेको छ । चालु आर्थिक बर्षको आफ्नो कार्ययोजनामा राखेर राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागमा सञ्चालन स्वीकृतिका लागि अनुरोध गरेको छ । सहायक वन अधिकृत रावतलले भने ‘सरकारले लकडाउन घोषणा गरेको छ । वनका कर्मचारीहरु डयूटिमा २४ शै घण्टा हाजिर हुनुपर्छ । यस्तो बेलामा वन फडानी, वन्य जन्तु चोरी सिकारी, तस्करीका घटना हुने गरेका छन् । स्थानीय प्रशासनले पास नदिँदा समस्या भएको छ । ड्यूटिमा निस्क्यो कि पास चाहिन्छ ।’

अहिले देश नै लकडाउनको अवस्थामा सुरक्षा जनशक्ति कोरोना महामारीको रोकथाममा लागेको समयमा शिकारीहरुले मौकाको फाइदा उठाएको देखियो हामी यो घटनाको अनुसन्धान गरि दोषीलाई कारवाही गर्छौ प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । उनले भने ‘अब काँक्रेविहार क्षेत्रमा सुरक्षा व्यवस्था हामी अझै बढाउछौ अपराधी जो कोही भएपनि उम्किन पाउने छैन् ।’

शनिबार विहान काठ काटेर ओसार्दै गरेको अवस्थामा २ जनालाई पक्राउ गरिएको छ । वीरेन्द्रनगर–२ निकास रानीघाट जनकल्याण समूदायिक वन क्षेत्रबाट रुख काटदै गरेका २ जना पक्राउ गरिएको वन डिभिजन कार्यालय सुर्खेतका सहायक वन अधिकृत रावलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया