सुर्खेत प्रहरीको लकडाउन ‘किसानमाथी’

सुर्खेत, २५ बैशाख ।
वीरेन्द्रनगर–११ चारकुनेका तुल्सा रावत गत सोमबार तरकारी बेच्न बजारतर्फ आउँदै हुनुहुन्थ्यो । तुल्सासहित तीन जना महिलाहरु डोकोमा तरकारी बोकेर बेच्न बजारतर्फ आउँदै हुनुहुन्थ्यो । तरकारी बेच्न हिडनुभएको तुल्साको उक्त समूहलाई पिपिरा चोकमा ड्यूटिमा रहेको प्रहरी टोलीले रोक्यो ।

तरकारीको भारीसंगै उभिनु भएका उहाँहरु प्रश्न गर्दै के हो ? के भयो ? भन्न नपाउँदै ड्यूटीमा रहेका प्रहरी कमाण्डरले आदेश गर्नुभयो नजिकै रहेका सिपाहीले लाठ्ठी बजार्दै तुल्सासहितको समूहलाई धरपकट गरेर घर फर्कायो । लकडाउनमा घरबाट निस्कन पाईदैन । घरमै बस्ने हो समूह बनाएर हिड्न पाइदैन भन्दै प्रहरी टोलीले तुल्सासहितको तरकारी बच्ने समूहलाई धरपकड गरी घर फर्काइदिएको थियो । आफनो बारीमा फलेको तरकारी बेच्ने हिड्नु भएका उहाँहरु निरास हुँदै घर फर्किनुभयो ।

कोरोना भाईरस (कोभिड–१९) को रोकथाम नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउन कार्यान्वयन गर्न प्रहरी, प्रशासनले आफ्नो सक्रियता बढाएको छ । लकडाउन कार्यान्वयनमा खेती किसानी गर्ने, तरकारी बेचविखन गर्ने न्यूनआयस्रोत भएका नागरिक प्रहरीको पहिलो निसाना बनेको गुनासो छ ।

वीरेन्द्रनगर–११ पिपिरामा तरकारी बेच्न हिडेको तुल्सा रावतको समूहमाथी भएको प्रहरी धरपकट सेलाउन नपाउँदै विहिबार यरिचोकमा खेतबाट घर फर्किएका तिलक न्यौपानेको जोडीमाथी प्रहरीले लकडाउन कार्यान्वयन गरेको छ । कुटो, फरुवासहित हिलाम्य भएर खेतबारीवाट वीरेन्द्रनगर–४ भैरवस्थान घरतर्फ फर्किँदै गर्नुभएका तिलक र उहाँका श्रीमतिलाई यरिचोकमा प्रहरीले दुई घण्टा नियन्त्रणमा राखेको छ । लकडाउन उलंघन गरेको भन्दै उहाँहरुलाई कुटो, फरुवासहित दिउँसो ३ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म चोकमा रोकि राखेको थियो ।

राष्ट्रिय कृषक समूह महासंघ सुर्खेतका अध्यक्ष तथा केन्द्रीय सदस्य शशिराम आचार्यले लकडाउनको समयमा प्रहरी, प्रशासनबाट किसान पनि पिडित बनेको गुनासो आएको बताउनुभयो । ‘तरकारी बेच्न हिड्नुभएका दिदीबहिनी, कुटो, केदालो, लिएर खेतबारी हिड्नुभएका हाम्रा किसानलाई पनि लकडाउनमा छोडिएन’ उहाँले भन्नुभयो ‘खेती किसानी गरेर जिविकोपार्जन गर्ने किसानको पहिचान गरेर उहाँहरुलाई छोड्दा राम्रो हुने हो ।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी निरिक्षक गोपाल रायमाझीले भन्नुभयो ‘कोरोना संक्रमणले किसान, स्वास्थ्यकर्मी, प्रहरी, आम नागरिक केही छुट्टयाउँदैन । पूर्व सावधानी अपनाईएन भने सबैलाई संक्रमण हुन्छ । सामान्यतया माक्ससमेत प्रयोग नगरेर हिडिँदिने, खेतबारीमा जाँदा त उहाँहरु समूहमा जानुहुन्छ । समूह बनाएर हिडिने समस्या हो ।

तपाईको प्रतिक्रिया