बर्दियामा सामुदायिक वनमा चितुवाको आक्रमण, महिलाको मृत्यु

बर्दिया ,२९ भदौ।
बर्दियामा सामुदायिक वनमा घाँस काट्न गएका बेला चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

गुलरिया नगरपालिका–१२ टडुवास्थित नेपाल केदुवाई सामुदायिक वनमा घाँस काट्दै गरेकी २८ वर्षीया कविता तामाङलाई चितुवाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामकुमार चौधरीले जानकारी दिनुभयो ।

बिहान घर नजिकैको जङ्गलमा चार जनाको समूहमा घाँस काट्न गएका क्रममा तामाङलाई चितुवाले आक्रमण गरेको थियो । साथीहरूले स्थानीयबासीलाई खबर गरेपछि होहल्ला हुँदा चितुवा भागे पनि तामाङको मृत्यु भइसकेको थियो । मृतकको घरमा तीन वर्षको बच्चा रहेको स्थानीयले बताएका छन् ।

यसअघि गत साउन ३१ गते गुलरिया नगरपालिका–११ भैँसाहीमा चितुवाको आक्रमणबाट ४५ वर्षीया जगतरानी थारूको ज्यान गएको थियो । एक महिनाको अन्तरालमै नजिकै दुई जनाको मृत्यु भएपछि स्थानीय त्रसित बनेका छन् ।

चितुवा नियन्त्रणका लागि पटक–पटक माग भए पनि सम्बन्धित निकायले ठोस परिणाम निकाल्न नसकेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । डिभिजन वन कार्यालयका सूचना अधिकारी चौधरीका अनुसार करिब एक महिना अगाडिदेखि क्यामेरा र चारवटा पासो राखिए पनि चितुवा नियन्त्रणमा नपरेको हो ।

घटना पछि चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र सुरक्षाकर्मीको संयुक्त टोली घटनास्थलमा खटिएको जनाएको छ ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds