सम्पादकीय : ग्याँस प्रशोधनमा लगानी जुट्ने अपेक्षा

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार (१४ भदौं) देखि उत्तरी मित्रराष्ट्र चीनको पाँच दिने औपचारिक भ्रमणमा छन् । ओली प्रधानमन्त्री भएपछिको दोस्रो पटक चीन भ्रमणमा छन् । प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भारतले ओगटेको नेपाली भूमि लिपुलेकमा चीनले व्यापार मार्ग खोल्ने बारे भारतसँग गरेको सहमतिमा आपत्तिसँगै नेपालमा पेट्रोलियम पदार्थ उत्खनन्का विषय प्रवेश गरेको जनाइएको छ । चिनियाँ सरकारको सहयोगमा दैलेखको भैरवी गाउँपालिका–१, स्थित जलजलेमा प्राकृतिक (मिथेन) ग्याँस फेला परेका थियो । पहिलो चरणमा प्राकृतिक इन्धन भए नभएको पत्ता लगाउने जिम्मा पाएको चिनियाँ प्राविधिकहरुले ठुलो मात्रामा मिथेन ग्यासको भण्डार रहेको पत्ता लगाएका थिए । पहिलो चरणको काम सफलता पूर्वक सम्पन्न भएसँगै नेपाल सरकारले दैलेखमा भेटिएको मिथेन ग्याँसको परीक्षण उत्पादनमा सहयोग गर्न चिनियाँ पक्षसँग समक्ष आग्रह गरेको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमण अगावै परीक्षण उत्पादनमा सहयोग गर्ने व्यहोराको पत्र पठाइएको हो ।
प्रधानमन्त्रीको भ्रमणपूर्व गरिएको पत्राचार बमोजिम परीक्षण उत्पादनमा सहयोग गर्ने सम्बन्धिको सम्झौता हस्ताक्षर हुसक्ने आँकलन गरिएको छ ।
पेट्रोलियम अन्वेषणमा सहयोग गरिरहेको चीनलाई उत्पादन कार्यमा पनि आर्थिक तथा प्राविधिक सहयोग गर्न आग्रह गरिएको खानी तथा भूगर्भ विभाग अन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ । दैलेखको जलजले क्षेत्रमा पेट्रोलियम अन्वेषण गरिरहेको चिनियाँ सरकारी कम्पनीले उक्त क्षेत्रमा एक सय १२ अर्ब घनमिटर मिथेन नामक प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रिर्पोट पठाएको थियो । उक्त रिर्पोटबाट उत्साही नेपालले परीक्षण उत्पादनका लागि पूर्वतयारीमा जुटेको हो ।
२०७२ चैत पहिलो साता प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच पेट्रोलियम पदार्थको अन्वेषणमा सघाउने द्विपक्षीय समझदारी (जीटुजी) मा हस्ताक्षर भएको थियो । उक्त समझदारीमा नेपालमा भएको ग्यास र पेट्रोलियम अन्वेषणमा चीनले आर्थिक तथा प्राविधिक सहयोग गर्ने उल्लेख थियो । नेपालको विभिन्न क्षेत्रमा पेट्रोलियम पदार्थको सम्भावना रहेको भनिएपनि उत्खनन्को प्रयास भएको थिएन । नेपाल–चीनबीच बेइजिङमा भएको उक्त सम्झौता अनुसार नेपाल सरकारले २०७५ माघमा दैलेखको पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको जिम्मा चीनलाई दिनेसम्बन्धी परियोजना स्वीकृत गरेको थियो । दैलेखको ज्वाला क्षेत्रबाट चिनियाँ प्राविधिक टोलीले २०७२ चैतदेखि नमूना संकलन कार्यको थालनी गरेको थियो ।
प्रारम्भिक अन्वेषणमा नेपाली र चिनियाँ प्राविधिकले दैलेखको शिरस्थान, नाभिस्थान क्षेत्रमा बलिरहेको, बगिरहेको ग्यास पेट्रोलियम पदार्थ नै भएको पुष्टि गरेका थिए । खानी तथा भूगर्भ विभागले दैलेखको पञ्चकोशी ज्वाला क्षेत्रमा पेट्रोलियम पदार्थबारे सम्भाव्यता अध्ययन थालेको पनि वर्षांै भइसकेको थियो । तर, काम अघि बढ्न सकेको थिएन । नेपालमा ड्रिलिङ विधिबाट पहिलोपटक अन्वेषण गरी सफलता प्राप्त गरेको यो पहिलो हो ।
अन्वेषण पश्चात् उत्पादन गर्न लागिएको यो नौलो कार्य भएकाले सरकारी निकायहरु अलमलमा छन् । मिथेन ग्याँस भेटिएको क्षेत्र धार्मिक, पर्यटकीय महत्वको क्षेत्र हो । जहाँ शिरस्थान, नाभिस्थान लगायतका मन्दिरहरु छन् । त्यहाँका मन्दिर, खोला किनारमा अहिले पनि आगोको ज्वाला बलिरहेको छ पेट्रोलियम अन्वेषण परियोजना सञ्चालनमा आएपछि त्यहाँ मानिसहरुको चहलपहल बढेको छ । अहिले ग्याँस भेटिएको पुष्टि भएपछि त्यस क्षेत्रमा व्यापारिक लगानीको सम्भावना बढेको छ । प्राकृति ग्याँस भएको पुष्टि भएसँगै जलजले क्षेत्रमा आर्थिक क्रियाकलाप बढ्दै गएका छन् भने परियोजनाले मुर्तरुप लिएको खण्डमा दैलेखको मात्र नभई सिंगो मुलुकको आर्थिक विकासमा कोशेढुंगा साबित हुनेमा दुई मत छैन । यसर्थ पनि यो आयोजनालाई अघि बढाउन सरकारले युद्धस्तरमा काम गर्न आवश्यक छ ।





