राज्यको ल्याकत नापिरहेको ‘गगने खोला’ वर्षेनी घाटा व्यहोर्दै स्याउ व्यवसायी भगवान भरोसामा यात्रा गर्न बाध्य नागरिक

ओम शाही
सुर्खेत, १७ भदौं ।
जुम्लाको तातोपानी गाउँपालिका–२, का स्याउ व्यापारी हर्सिङ्ग नेपालीले शुक्रबार सात सय ५० कार्टुन स्याउ ट्रकमा लोड गरेर सुर्खेत र नेपालगन्जका लागि पठाए । उनले विभिन्न क्षेत्रबाट झण्डै ८५ क्वीन्टल स्याउ संकलन गरेर सुर्खेत तथा नेपालगन्जका बजारमा पठाएका हुन् ।
‘यस पटक मैले पहिलो चरणमा सात सय ५० कार्टुन स्याउ सुर्खेत र नेपालगन्जका बजारमा विक्रि गर्न पठाएको छु,’ उनले भने, ‘यस पटकको स्याउको गुणस्तर राम्रो भएकाले उचित मूल्यसहितको बजार पाइन्छ कि भन्ने लागेका छ ।’ उनले ट्रकमा लोड गरेर पठाएको स्याउको मूल्य (जुम्लामा खरिद गरेको मूल्य) आठ लाख ५० हजार छ । बिडम्बना नेपालीका स्याउ अहिले कर्णाली राजमार्गमा पार्किङ्ग भएर बसेका छन् ।

चार दिनअघि नै स्याउ लोड गरेर पठाएको ट्रक बीच बाटोमै रोकिएपछि नेपालीलाई यस पटक पनि घाटा व्यहोर्नुपर्ने चिन्ता थपिएको छ । कारण हो, वर्षेनी स्याउ बजार पठाउने समयमा खस्ने पहिरोका कारण अवरुद्ध हुने कर्णाली राजमार्ग । स्याउ व्यापारी नेपालीको मात्र होइन तीन दिन यता स्याउ बोकेका दुई दर्जन बढी ट्रक कर्णाली राजमार्गमा रोकिएका छन् । अविरल वर्षापछिको पहिरोका कारण कालिकोटको शुभकालिका–१, स्थित गगने खोलामाथिबाट आएको पहिरोले कर्णाली राजमार्ग पूर्णरुपमा बन्द छ । राजमार्ग बन्द भएपछि यात्रुबहाक तथा जुम्लाबाट स्याउ बोकेर फर्किएका मालबहाक दुई दर्जन बढी ट्रक अलपत्र परेका छन् ।
जुम्लाको सिमावर्ती क्षेत्र कालिकोटको नाग्म प्रहरी चौकीको तथ्यांक अनुसार भदौ १४ गतेदेखि १६ गते विहान सम्म २३ वटा स्याउ बकेका ट्रक जुम्लाबाट बाहिरिएका छन् । जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार यी ट्रकहरुले ६ देखि नौ मेट्रिक्टन अर्थात झण्डै १३ करोड बरारबको स्याउ बोकेका छन् । नेपालीलाई कर्णाली राजमार्गमा आउने पहिरोभन्दा पनि राज्यका निकायको काम गर्ने तवरतरिकाबाट दिक्क लागेको छ ।
‘पहिरोभन्दा पनि यो राज्यका निकायले गर्ने कामदेखि दिक्क लागि सक्यो,’ उनी भन्छन्, ‘जब स्याउले बजार पाउने बेला हुन्छ, त्यो बेला स्याउ टिप्न दिँदैनन्, जब यीनले टिप्न दिन्छन् तब पहिरोले बाटो छेक्छ । यसरी वर्षेनी घाटा खाएर त कसरी काम गर्न सकिएला र ?’ उनले गत बर्ष गगने खोलामा आएको पहिरोका कारण सात लाख रुपैयाँ घाटा व्यहोरेको गुनासो गरे ।
१५ भदौंपछि मात्रै स्याउ टिप्न दिने सरकारी नीतिका कारण भारत तथा चिनियाँ स्याउले बजार ओगट्दा आफूहरुले किसानबाट खरिद गरेको स्याउको मूल्य उठाउँन समेत हम्मेहम्मे हुने गरेको नेपालीले सुनाए । उनलाई गगने खोलाले समेत बर्षेनी सताइरहेको छ । ‘कर्णाली राजमार्गमा सबैभन्दा धेरै पहिरो खस्ने भनेको गगने खोलामा हो,’ उनी भन्छन्, ‘त्यहाँ एउटा पुल मात्रै बनाई दिने हो भने यसको दीर्घकालिनरुपमा समस्या समाधान हुन्छ । तर, राज्यले यसतर्फ सोच्नुभन्दा पनि वर्षेनी डोजर पठाएर व्यर्थमा खर्च गरिरहेको छ ।’
सरकारले जनता, किसान र व्यवसायी मेरेपनि मरुनको व्यवहार गरेको उनको आरोप छ । यसले स्याउ व्यापारी मात्रै होइन स्याउ उत्पादक किसानलाई समेत असर पर्दै गएको उनले तर्क गरे । जुम्लामा स्याउ उत्पादनमा उल्लेख्य बृद्धि भएपनि ढुवानीकै कारण किसान समस्या पर्ने गरेको गुनासो उनको छ ।
नेपालीले लगाएको आरोपमा एकहदसम्म तार्किक सत्य पनि छ । किन भने ६० को दशकमा निर्माण भएको सडकमा यात्रा गर्दा नागरिकका समस्या ज्यूँका त्यू छन् । न गतिलो सडक पूर्वाधार छ । त्यसैमा सामान्य पानी पर्दा पनि पहिरो खसिहाल्ने भूगोलका कारण नागरिकहरु भगवान भरोसामा कर्णाली राजमार्गको यात्रा गर्न बाध्य बनिरहेका छन् । गगने खोलमा रोकिएका यात्रु तथा स्याउ बोेकेका ट्रक गन्तव्यमा लाग्न अझै केही दिन लाग्ने देखिन्छ । शनिबार विहान गगने खोलामाथिबाट पहिरोसँगै खसेको ढुङ्गा सडकको बीचमा बसेपछि बाटो खुलाउन समस्या भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी इन्जिनियर प्रदिप नारायण चौधरीले बताए ।
उनले स्काभेटरका माध्ययमबाट बाटो खुुलाउने प्रयास भएपनि सडकमा खसेका ठुला ढुङ्गा पन्छाउन नसकिएको बताए । ‘हामीले सडक खुलाउने प्रयास जारी राखेका छौं, तर सडकमा खसेका ढुङ्गाहरु डोजरले पन्छाउन सकिने अवस्था छैन । प्रशासनसँग विस्फोटक सामाग्रीको प्रवन्ध गर्न अनुरोध गरेका छौं । बलाष्ट नगरी ढुङ्गा हटाउन सकिने अवस्था छैन ।’ पहिरोले नागरिकको बिचल्ली हुँदा जिल्ला प्रशासन कार्यालय कालिकोट भने मुखदर्शक बनेर बसेको छ ।
पहिरोले सडक अवरुद्ध भएको तीन दिनपछि कालिकोट प्रशासनले विस्फोटक सामाग्री जोहो गर्न सोमबार जिल्ला सुरक्षा समितिको बैठक बसेर रक्षा मन्त्रालयसँग स्वीकृतिका लागि अनुरोध गरेको छ । कालिकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले भने, ‘सडकमा ठुलो ढुंगा खसेकाले विस्फोटन गर्नुपर्ने अवस्था छ । विस्फोटक सामग्री प्राप्त हुनासाथ नेपाली सेनाको सहायताले सडक खुलाउँछौं ।’
अघिपछि आँखा चिम्लेर बस्ने, पहिरो गएपछि जुर्मुराउने राज्यका निकायका कारण कर्णालीवासी आजित बनेर बसेका छन् । गत वर्षपनि विस्फोटक सामाग्री प्राप्त हुन समय लाग्दा झण्डै १० दिनसम्म गगने खोलामा सडक अवरुद्ध बनेको थियो । जसका कारण यात्रुले सास्ती त खेपेका थिए नै, करोडौंको स्याउमा क्षति पुगेको थियो ।
गगने खोलामा वर्षेनी किन गइरहन्छ पहिरो ?
कर्णाली राजमार्ग अन्तर्गत गगने खोलामा वर्षेनी पहिरो गइरहनुको मुख्य कारण यो सडकमाथि खनिएको सहाक सडक हो । बिना अध्ययन शुभकालिका गाउँपालिकाको केन्द्र जोड्न निर्माण गरिएको ग्रामिण सडकबाट वर्षेनी ढुंगासहित आउने पहिरोले सडकनै बगाइदिने गरेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारीसमेत रहेका इन्जिनियर प्रदिप नारायण चौधरी बताउँछन् ।
‘गगने खोलामा वर्षेनी आउने पहिरोको कारण यसमाथि खनिएको सडक नै मुख्य कारण हो,’ उनी भन्छन्, ‘गत वर्षपनि यहीँ खण्डमा लामो समय पहिरो खसेको थियो ।’ उनका अनुसार उक्त स्थानमा पहिरो नियन्त्रणका लागि दीर्घकालिन उपाय अपनाउन सकिन्छ । तर, सोभन्दा पहिलो गगने खोलामा पुल नबनाई सडक अवरुद्ध हुन नरोकिने चौधरी बताउँछन् ।
उनका अनुसार उक्त स्थानमा टेवा पर्खाल, बायोइन्जिनियरिङ्ग लगायतका प्रविधिबाट पहिरो रोक्न सकिने भएपनि यो प्रविधिले काम गर्न समय लाग्छ । गत वर्षको बाढीले गगने खोलामा निर्मित पक्की पुल नै बगाएको थियो । त्यसयता नागरिकले दैनिक जसो सास्ती व्यहोर्दै आएका छन् ।
इन्जिनियर चौधरीका अनुसार तत्कालका लागि सो स्थानमा पक्की पुल बनाएर समस्या हल हुन्छ । तर, गगने खोलामा पुल बनाउन कार्यालयसँग एक रुपैयाँ पनि बजेट छैन । कर्णाली राजमार्गले कर्णाली प्रदेशको राजधानीसँग साविक कर्णाली र सुदुरपश्चिम प्रदेशका केही जिल्लाहरुलाई जोड्दछ । प्रदेश राजधानी वीरेन्द्रनगरबाट दैलेख, कालिकोट हुँदै कर्णाली नदिको किनारै किनार भएर जुम्ला पुग्ने कर्णालीको प्रमुख पर्यटकीयस्थल रारा जोड्ने प्रमुख मार्ग समेत यहीँ ।
योसँगै उत्तरी छिमेकी देश चीनसँगको हिल्सा नाका जोड्ने कर्णाली कोरिडोर पनि यहीँ राजमार्गबाट सुरु हुन्छ । यो राजमार्ग कर्णाली विकासको मेरुदण्ड भएतापनि राजमार्ग सञ्चालनमा आएयता सानादेखि भयानक दुर्घटनाहरू भएका छन् । दुर्घटनाको क्रम अहिले पनि रोकिएको छैन् । तर, पनि सरकारले यो सडकको स्तरोन्नतिमा ध्यानै पुर्याउन सकेको छैन । टालटुलका लागि फाट्ट–फुट्ट बजेट आउने गरे पनि समर्ग राजमार्गको स्तरोन्तीका लागि पर्याप्त बजेट नआउँदा सडक दुर्घटनाले दिनप्रतिदिन प्रसय पाइरहेका छन् ।






