हाईअल्टीच्युट ट्रेनिङ सेन्टर निर्माणलाई अघि बढाउन छलफल

काली बहादुर परियार
जुम्ला,११ भदौ।
जुम्ला । पातारासी गाउँपालिकामा निर्माणधिन अबस्थामा रहेको तर जग्गा विवादले रोकिएको हाई अल्टी च्युट ट्रेनिङ सेन्टर निर्माणलाई अघि बढाउन छलफल गरिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले जग्गा प्राप्तीको प्रक्रियालाई टुंगोमा पूराएर निर्माण प्रक्रिया अघि बढाउनु पर्नेमा जोड दिइएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जग्गाकै विवाद नटुंगीँदा हरेक वर्ष आएको बजेट फ्रिज हुने समस्या रहेकाले यस वर्ष सबैले बजेट कार्यान्वयन हुने पूर्वाधार बन्नेगरी काम गर्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले हाई अल्टी च्युट ट्रेनिङ सेन्टरको डिपिआर मगाएर आबश्यक पर्ने जग्गा नापी मालपोतबाट कित्ता काँट गरेपछि मात्रै अन्य काम अघि बढाउनु पर्ने बताए ।
उनका अनुसार डिपिआर अनुसारको आबश्यक जग्गा स्थानीयले निःशुल्क दिएमा छोटो अवधिमै सबै प्रक्रिया टुंगीने छ । साथै प्रजिअ शर्माले हाई अल्टी च्युट ट्रेनिङको जग्गा खेलकूद विकास समितिको नाममा पास गर्दा उचित हुने सुझाव राखे ।
पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोर, उपाध्यक्ष जनमाया रोकाया, ३ नम्बर वडाध्यक्ष हाई अल्टी च्युट ट्रेनिङ सेन्टर निर्माणलाई टुंगोमा पूराउन लागि परेका छन् । जग्गा प्राप्ती समितिको संयोजकको जिम्मेवारी पाएसंगै उपाध्यक्ष रोकाया भने दिनरात नभरी समन्वय सहकार्यमा जुटेकी छन् ।
सबैको साथ सहयोग र समन्वयले हाई अल्टी च्युट ट्रेनिङ सेन्टर निर्माण प्रक्रियालाई आफ्नै कार्यकालमा पूर्णता दिने लक्ष्य लिएको उपाध्यक्ष रोकायाको भनाई छ ।
यता खेलकूद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेले तत्काल डिपिआर मगाएर प्रक्रिया अघि बढाउन आफू लागि परेको बताए । हाई अल्टी च्युट ट्रेनिङ सेन्टर निर्माणका लागि चालु आर्थिक वर्षमा २२ करोड विनियोजन भएको उनको भनाई छ ।
बुधबार जिल्ला प्रशासनमा आयोजित छलफलमा सामाजिक विकास कार्यालयका प्रमुख टोप बहादुर बुढा, नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाँई लगायतको सहभागिता रहेको थियो ।





