‘उरमाल’लाई यसवर्षको मदन पुरस्कार दिने घोषणा, प्रेमदेवलाई जगदम्बा–श्री
काठमाडौँ, ८भदौ ।
यस वर्षको मदन पुरस्कार छुदेन काविमो द्वारा लिखित ‘उरमाल’लाई प्रदान गरिने घोषणा गरिएको छ । मदन पुरस्कार गुठीको बसेको बैठकले काविमोको पुस्तक ‘उरमाल’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । कुल २९९ पुस्तकबाट उरमाललाई पुरस्कार दिने निर्णय भएको हो ।
त्यस्तै लोकभाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान पुर्याएको उल्लेख गर्दै अन्वेषक बरिष्ठ कलाकार, सुर्खेत निवासी प्रेमदेव गिरीलाई जगदम्बा–श्री पुरस्कार प्रदान गरिएको निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन् । उनले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन । वि.सं. २०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो ‘लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन ‘नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई प्रदान गरिएको थियो ।

वि.सं. २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झनास्वरूप जगदम्बा–श्री पुरस्कार स्थापना गरिएको थियो । यो सम्मान पहिलोपटक नारायण गोपाललाई प्रदान गरिएको थियो गुठीले जनाएको छ । नेपाल तथा नेपालबाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकमध्येबाट एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति/संस्थालाई जगदम्बा–श्री प्रदान गर्ने गरिन्छ । मदन पुरस्कारको राशि रु चार लाख रहेको छ ।

