“बारबर्दियाको संरक्षण केन्द्र: चाँदनी र विपनाको जीवनलाई फेरिदिने भरोसा”

बर्दिया ,१ साउन।

अभिभावकविहीन, विपन्न र जोखिममा परेका बालबालिकाको जीवन उज्यालो बनाउँदै आएको छ—बारबर्दिया नगरपालिका–११ मा रहेको असहाय बालबालिका संरक्षण केन्द्र।

खुरखुरेकी चाँदनी शाहीका लागि यो केन्द्र नयाँ जीवनको आशा बन्यो। उनका बुबाको मिर्गौला फेल भयो, आमाको मुटुमा प्वाल। उपचारका लागि धनसम्पत्ति सकिएपछि पनि बुबाको ज्यान जोगिएन। त्यसपछि चाँदनीको पढाइ चौथो कक्षामै रोकियो। तर स्थानीय जनप्रतिनिधिको पहलमा संरक्षण केन्द्रमा पुगेपछि उनले पढाइ पुनः थालिन्। अहिले उनी एसईई उत्तीर्ण भइसकेकी छन्।
“केन्द्र नभएको भए म पढ्न पाउँदिनथेँ,” उनी भन्छिन्, “अहिले मलाई भविष्यको सपना देख्न पाइरहेकी छु।”

विपना विकको कथा पनि त्यत्तिकै भावुक छ। बाबुको मृत्यु सानैमा भयो, आमा अर्कैसँग विवाह गरेर हिँडेपछि हजुरबुवा–हजुरआमाको साहारामा हुर्किएकी विपनाको पढाइ कक्षा ३ मै रोकिने अवस्था थियो। अहिले भने उनी संरक्षण केन्द्रमै बसेर कक्षा १० मा पढिरहेकी छन्।

२०७५ सालमा स्थापना गरिएको यो केन्द्रबाट हालसम्म ३८ जना बालबालिकाले आश्रय पाइसकेका छन्। अहिले पाँच बालिका र १० बालक केन्द्रमा छन्। संरक्षण र स्याहारका लागि दुई जना आमा, दुई सुरक्षा गार्ड र एक वार्डेन खटाइएको छ।

वार्डेन कृष्णराम चौधरीका अनुसार हालसम्म २३ जना बालबालिका केन्द्रबाट बाहिरिसकेका छन्, जसमा कक्षा १२ उत्तीर्ण गरेर ५ जना, १८ वर्ष उमेर पुगेका १० जना छन्। केही पारिवारिक मिलनपछि फर्किएका छन्।

बारबर्दिया नगरपालिका देशमै पहिलो निःशुल्क र अनिवार्य आधारभूत शिक्षा सुनिश्चित घोषणा गर्ने नगरपालिका हो। यसै घोषणाको निरन्तरताका रूपमा असहाय बालबालिका संरक्षण केन्द्र स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाईले जानकारी दिए।

उपप्रमुख रत्नाकुमारी पाण्डेका अनुसार केन्द्र सञ्चालनका लागि वार्षिक ३० लाख रुपैयाँ बजेट छुट्याइन्छ र आवश्यक भए थप रकम व्यवस्थापन गरिन्छ। बालबालिकाको खान, बस्न, लत्ताकपडा, कापीकिताबलगायत सम्पूर्ण जिम्मेवारी केन्द्रले लिएको छ।

बारबर्दियाको यो पहल न केवल स्थानीय तहको सामाजिक उत्तरदायित्वको उदाहरण बनेको छ, बरु साना बालबालिकाको जीवनमा उज्यालो सम्भावना बोकेको यात्रा पनि हो।

 

 

“बारबर्दियाको संरक्षण केन्द्र: चाँदनी र विपनाको जीवनलाई फेरिदिने भरोसा”

जुम्ला अदालतमा ६८.४९ प्रतिशत मुद्दा फछ्र्यौट

“बारबर्दियाको संरक्षण केन्द्र: चाँदनी र विपनाको जीवनलाई फेरिदिने भरोसा”

काफल खाएर असारलाई बिदा गर्ने प्रचलन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds