बाँकेको रम्मापुर हाट बजार : पशु किनबेच गर्न किसानको रोजाइ


बाँके जिल्लाको रमापुरमा हरेक शनिबार लाग्ने पशु मेला स्थानीय किसान र पशुपालकहरूका लागि आर्थिक गतिविधि गर्ने प्रमुख थलो बनेको छ । जानकी गाउँपालिकामा अवस्थित यो हाट बजारमा गाई, भैँसी, रागा, गोरु जस्ता जनावरहरूको किनबेच हुन्छ । यो बजार बाँके र आसपासका जिल्लाका किसानहरूले भरपर्दो व्यापारिक थलोका रूपमा प्रयोग गर्दै आएका छन् ।
जानकिका स्थानीय कृषक रामेश्वर यादवले करिब एक दशकदेखि रमापुर हाट बजारमा गाई–भैँसी किनबेच गर्दै आइरहेका छन् । उनी भन्छन्, “हामीजस्ता किसानका लागि यो बजार निकै उपयोगी छ । यहाँ विभिन्न प्रकारका गाई, भैँसी, र गोरु सजिलै उपलब्ध हुन्छन्, जसले गुणस्तरीय जनावर छान्न सहयोग पु¥याउँछ ।”
त्यसैगरी, जानकीकै अर्का किसान सुरेश थारूले बजारको महत्त्वबारे प्रकाश पार्दै भने, “म यस बजारबाट हरेक वर्ष गाई र रागा किन्ने गर्छु । यहाँ उचित मूल्यमा जनावर पाइन्छ, जसले हाम्रो दुग्ध उत्पादन र खेतीलाई अझ लाभदायक बनाएको छ ।” रमापुरको हाट बजारले किसानहरूको जीवनस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको छ । किसानहरूले आफ्ना जनावरहरू सहजै बिक्री गर्न र नयाँ जनावर खरीद गर्न पाएका छन् । यस बजारमा हुने व्यापारीहरूको उपस्थिति र प्रतिस्पर्धाले उचित मूल्य सुनिश्चित गरिदिएको छ ।
यसका साथै, बजारले किसानहरूको बीचमा अनुभव आदानप्रदानको अवसर प्रदान गरेको छ । पशुपालन प्रविधि, जनावरको स्वास्थ्य व्यवस्थापन, तथा स्थानीय बजार मूल्यबारे किसानहरू नियमित रूपमा छलफल गर्छन ्। यसले उनीहरूको दक्षता र ज्ञान अभिवृद्धिमा सहयोग पु¥याएको छ ।
जानकी गाउँपालिकाले बजार व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सहजीकरण गरिरहेको छ। सरसफाइ, सुरक्षा, र किसानहरूको लागि सहुलियत योजना सञ्चालन गरेर यो बजारलाई व्यवस्थित बनाउने प्रयास जारी छ । गाउँपालिकाका प्रतिनिधिहरूका अनुसार, आगामी दिनमा बजारको भौतिक संरचना सुधार गर्न र थप सुविधा उपलब्ध गराउन योजनाहरू छन् ।
यो हाट बजारले बाँके जिल्लाको कृषि र पशुपालन क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको छ । विशेष गरी, गाई र भैँसीको व्यापारले दुग्ध उत्पादनमा वृद्धि गराउन सहयोग गरेको छ । यहाँको व्यवसायले किसानहरूको आर्थिक स्थायित्व मात्रै होइन, दुग्ध व्यवसायलाई पनि प्रोत्साहन दिएको छ ।
रमापुरको हाट बजारले किसानहरूको आर्थिक उन्नतिमा टेवा पु¥याउँदै आएको छ । किसानहरूको सहभागिता, व्यापारीहरूको उपस्थिति, र स्थानीय सरकारको सहयोगले यस बजारलाई बाँके जिल्लाको प्रमुख आर्थिक केन्द्रका रूपमा स्थापित गराएको छ । किसानहरूको भनाई र बजारको प्रभावकारिताले संकेत गर्छ कि यो हाट बजारले भविष्यमा पनि किसानहरूको जीवनमा सकारात्मक प्रभाव पार्नेछ । रमापुर हाट बजार बाँके जिल्लाको कृषि र पशुपालन क्षेत्रमा एक प्रेरणादायक उदाहरणका रूपमा अघि बढिरहेको छ ।






