आन्तरिक तयारीमा जुटे कर्णालीका राजनीतिक दल


आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कर्णालीका राजनीतिक दलहरु तयारीमा जुटेका छन् । बिषेश गरेर प्रमुख राजनीतिक दलहरु कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र उपनिर्वाचनको तयारीमा जुटेका हुन् । कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र उपनिर्वाचनलाई लक्षित गरेर निर्वाचन हुने पालिका र वडाहरुमा उम्मेदवार छान्नेदेखि भेला तथा जनसभाका काम गरिरहेका छन् ।

विगतमा दलहरुले गठबन्धन गर्ने गरेकोमा यो उपनिर्वाचनमा कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र एक्लाएक्लै भिड्ने लागेकाले यो पटक दलहरुको जनमत परीक्षणका रुपमा उपनिर्वाचनलाई लिइएको छ । उपनिर्वाचन हुने कर्णालीका आठ पालिका आठ पदका लागि कांग्रेस, नेकपा नेकपा एमाले र माओवादी केन्द्र तयारी तीव्र पारेका छन् । ती पालिका र वडामा कांग्रेस र नेकपा एमाले उम्मेदवार छानिसकेका छन् भने माओवादी केन्द्रका आंकाक्षी धेरै भएकाले उम्मेदवार छान्न बाँकी रहेको छ ।

नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिका प्रवक्ता दमनबहादुर शाहीका अनुसार दैलेखको महाबु गाउँपालिकाकाको अध्यक्षमा झलक भण्डारी, दुल्लु नगरपालिका–१३, को वडाध्यक्षमा शेरबहादुर शाहीको नाम टुङ्गो लागेको छ । यस्तै, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुखमा इन्द्रा चन्द सिंह र कुशे गाउँपालिका–७, को वडाध्यक्षमा खम्बबहादुर सिंहको नाम टुङ्गो लागेको छ ।

प्रवक्ता शाहीका अनुसार कालिकोट, डोल्पा, हुम्ला, रुकुमपश्चिममा उम्मेदवार छान्ने काम जारी रहेको छ । कर्णाली प्रदेशअन्तर्गत नगरपालिका उपप्रमुख एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष एक र पाँच वडाध्यक्ष गरी आठ पदमा उपनिर्वाचन हुनेछ । जसमा जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष तथा दैलेखको दुल्लु नगरपालिका–१३, कालीकोटको तिलागुफा नगरपालिका–४, जाजरकोटको कुसे गाउँपालिका–७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, र रुकुमश्चिमको सानीभेरी गाउँपालिका–५, मा वडाध्यक्ष पदमा उपनिर्वाचन हुनेछ ।

नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटीका अनुसार जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुखमा सुनिता रोकाया, हुम्लाको सर्केगाड गाउँपालिको उपाध्यक्षमा जाना शाहीलाई उम्मेदवार चयन गरेको छ, भने उपनिर्वाचन हुने पाँच वडाका वडाध्यक्षको नाम पनि टुङ्गो लगाइएको छ । त्यस्तै, दैलेखको महावु गाउँपालिकामा आंकाक्षी तीन जना भएकाले उम्मेदवार नाम टुङ्गो लगाउन बाँकी रहेको छ । माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष कृष्णबहादुर जिसीका अनुसार उपनिर्वाचन हुने आठ पालिकामा उम्मेदवार आंकाक्षी धेरै भएका कारणले नाम टुग्याउन बाँकी रहेको बताए । केही दिनमा प्रदेशले टुङ्गो लगाउने र उपनिर्वाचन हुने वडा वडाध्यक्षको नाम जिल्ला नै टुङ्गो लगाउने उनले बताए । माओवादी केन्द्रले उपनिर्वाचन हुने ठाउँमा केन्द्रीय सदस्यहरुलाई खटाएको छ ।

समाजवादीले साथ दिए महाबुमा एमालेको सहज जित

दैलेखको महाबु गाउँपालिकामा पनि अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । २०७९ साल माघमै अध्यक्ष लछुमन गुरुङको निधन भएपछि उपनिर्वाचनमार्फत पदपूर्ति गरिन लागेको हो । सो गाउँपालिकामा अहिले उपाध्यक्ष मञ्जुकुमारी शर्माले कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गरेकी छन् ।

२०७८ को जनगणनाअनुसार १८ हजार ५९ जनसंख्या भएको यो गाउँपालिकामा १२ हजार २१७ मतदाता रहेका छन् । यस गाउँपालिकालाई ६ वटा वडामा विभाजन गरिएको छ । महाबु गाउँपालिकाका ६ वडा वडामध्ये २०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले अध्यक्ष, उपाध्यक्षमा निर्वाचित हुँदै ३ वटा वडामा विजयी भएको थियो भने एक वटा वडामा अध्यक्षबाहेक सबै सदस्यमा निर्वाचित भएको थियो ।

माओवादी केन्द्रले दुई वटा वडामा अध्यक्षमा निर्वाचित हुँदा नेकपा एमालेले एउटा वडामा क्लिनसिप गरेको थियो । माओवादी केन्द्र वडाध्यक्ष जितेको एउटा वडामा कांग्रेसले सदस्यमा क्लिनसिप गर्दा एउटा वडामा माओवादी केन्द्र एउटा वडा सदस्य र एकीकृत समाजवादीले दुईवटा वडा सदस्यमा जितेको थियो । २०७९ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार लछुमन गुरुङ चार सय ६० मतान्तरले निर्वाचित भएका थिए । गुरुङले दुई हजार नौ ७९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हरिप्रसाद उपाध्यायले दुई हजार पाँच १९ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार मञ्जुकुमारी शर्मा आठ सय ५४ मतान्तरले निर्वाचित भएकी थिइन् । उनले तीन हजार एक सय ५५ मतसहित विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार दुर्गाकुमारी सिंहले दुई हजार तीन सय एक मत ल्याएकी थिइन् ।

त्यस्तै, वडाको स्थिति हेर्दा, वडा नं. १ मा नेकपा एमालेका विजयी हुँदा प्रतिस्पर्धामा कांग्रेस, वडा नं. २ मा कांग्रेसका विजयी हुँदा प्रतिस्पर्धामा नेकपा एमाले, वडा नं. ३ मा कांग्रेसका विजयी हुँदा प्रतिस्पर्धामा नेकपा एमाले, वडा नं. ४ मा कांग्रेसका विजयी हुँदा प्रतिस्पर्धा नेकपा एमाले, वडा नं. ५ मा माओवादी केन्द्रका विजयी हुँदा प्रतिस्पर्धामा नेकपा एमाले र वडा नं. ६ मा माओवादी केन्द्रका विजयी हुँदा प्रतिस्पर्धाका कांग्रेस विजयी भएका थिए ।
यहाँ कांग्रेस, नेकपा एमाले एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका थिए भने एकिकृत समाजवादी र माओवादी केन्द्र चुनावी तालमेल गरेका थिए । एकिकृत समाजवादीका जंगबहादुर शाहीले दुई हजार दुई सय ६८ मत ल्याएका थिए भने त्यसै पार्टीका पुण्यप्रभा दशौदीले दुई हजार एक सय ३३ ल्याएकी थिइन् । त्यहाँबाट संघीय सांसद निर्वाचित अमरबहादुर थापा समाजवादीसँग अहिले असन्तुष्ट बनेको कारणले त्यो मत नेकपा एमालेमा जाने विश्लेषण भइरहेको छ ।

नलगाडमा तीन पार्टी बिच प्रतिस्पर्धा

नलगाडमा आगामी उपनिर्वाचनमा गठवन्ध बिना चुनाव भएको खण्डमा माओवादी, कांग्रेस र एमाले बिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत नलगाड नगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार डम्मरबहादुर रावत पाँच हजार पाँच सय ९९ मत ल्याई विजयी भएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेबा उम्मेदवार धर्मबहादुर शाहीलाई एक हजार नौ सय ७३ मतान्तरले पराजित गरेका थिए । पराजित धर्मबहादुर शाहीले तीन हजार ६ सय २६ मत ल्याएका थिए ।

पालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र र कांग्रेसको गठबन्धन भएको थियो भने वडाहरुमा सबै पार्टी एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका थिए । यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार सरिता सिंह पाँच हजार चार सय ६ मतसहित विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सुनिता बोहराले तीन हजार तीन सय ९३ मत ल्याएकी थिइन् । यहाँ उपप्रमुख सिंहको भूकम्प परि मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । नलगाड नगरपालिकामा गठवन्धन नभएको खण्डमा तीन दलबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस नगरपालिकामा कूल जनसंख्या २८ हजार आठ सय ५८ रहेको छ भने कुल मतदाता संख्या १६ हजार पाँच सय चार रहेको छ ।

वडाको स्थिति हेर्दा १३ वडा रहेको नगरपालिकामा पाँच वडामा माओवादी केन्द्र विजयी भएको छ । जहाँ उसको प्रतिस्पर्धा वडा नं. १२ मा मात्र नेकपा एमालेसँग भएको छ । अन्य चार वडामा कांग्रेससँग प्रतिस्पर्धा भएको छ । जसमा चार वडा कांग्रेस जितेको छ । वडा नं. ८ मा कांग्रेसले जित्दा नेकपा एमालेसँग प्रतिस्पर्धा भएको छ भने अन्य वडामा माओवादी केन्द्रसँग प्रतिस्पर्धा भएको छ । तीन वडा नेकपा एमालेले जितेको छ । ती वडामध्ये वडा नं. ६ नेकपा एमालेले जितेको त्यो वडामा माओवादी केन्द्र प्रतिस्पर्धी रहेको थियो भने अन्य वडामा कांग्रेस प्रतिस्पर्धी बनेको थियो । एउटा वडा नं. ११ मा स्वतन्त्र उम्मेदवारले जित्दा प्रतिस्पर्धी एमाले रहेको थियो ।

वडा नं. १ मा माओवादी विजयी हुँदा प्रतिस्पर्धामा कांग्रेस, वडा नं. २ मा कांग्रेस विजयी हुँदा प्रतिस्पर्धामा माओवादी, वडा नं. ३ मा माओवादी केन्द्र विजयी हुँदा प्रतिस्पर्धा कांग्रेस, वडा नं. ४ मा कांग्रेस विजयी हुँदा प्रतिस्पर्धामा माओवादी केन्द्र, वडा नं. ५ मा कांग्रेस विजयी हुँदा प्रतिस्पर्धामा माओवादी केन्द, वडा नं. ६ मा नेकपा एमाले विजयी हुँदा प्रतिस्पर्धामा माओवादी, वडा नं. ७ मा नेकपा एमाले विजयी हुँदा प्रतिस्पर्धामा कांग्रेस, वडा नं. ८ मा कांग्रेस विजयी हुँदा प्रतिस्पर्धामा नेकपा एमाले रहेको थियो । यस्तै, वडा नं. ९ मा नेकपा एमाले विजयी हुँदा प्रतिस्पर्धामा कांग्रेस, वडा नं. १० मा माओवादी केन्द्र विजयी हुँदा प्रतिस्पर्धामा कांग्रेस, वडा नं. ११ मा स्वतन्त्र उम्मेदवार विजयी हुँदा प्रतिस्पर्धामा नेकपा एमाले, वडा नं. १२ मा माओवादी केन्द्र विजयी हुँदा प्रतिस्पर्धामा नेकपा एमाले र वडा नं. १३ मा माओवादी विजयी हुँदा प्रतिप्रस्र्धामा कांग्रेसका रहेका थिए ।

हुम्लाको सर्केगाडमा पनि उस्तै

हुम्लाको सर्केगाड गाउँपालिमा नेपाली कांग्रेस र माओवादी केन्द्रबिच गठबन्धन बनाएर चुनाव लडेका थिए । गठबन्धनबाट अध्यक्षमा नेपाली कांग्रेसका ठानबहादुर रोकायाले तीन हजार पाँच सय ४३ मतका साथ निर्वाचित भएका थिए । उनले नेकपा एमालेका ज्ञामी बुमिलाई पराजय गरेका थिए । बुमिले नौ सय ९७ मत पाएका थिए । रोकाया र बुमीको मतान्तर दुई हजार पाँच सय ४६ थियो ।

त्यस्तै, गाउँपालिकाको उपाध्यक्ष माओवादी केन्द्रका चन्द्रसिंह कार्कीको निधनपछि यहाँ उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा तीन हजार दुई सय ६९ मत पाएर माओवादी केन्द्रका कार्की उपाध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी नेकपा एमालेका जुनकुमारी फडेराले एक हजार ६४ मत पाएकी थिइन् ।

आठ वटा वडा रहेको गाउँपालिकामा नेकपा एमाले दुई, माओवादी केन्द्र तीन, कांग्रेस दुई र एक वडा स्वतन्त्रले जितेका थिए । गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि माओवादी र कांग्रेसले गठबन्धन गरेको भएपनि वडामा गठबन्धन भएको थिएन् ।

वडाको स्थिस्ति हेर्दा वडा नं. १ मा नेकपा एमाले विजयी हुँदा प्रतिस्पर्धामा माओवादी आएको थियो । त्यस्तै, वडा नं. २ मा माओवादी विजयी हुँदा प्रतिस्पर्धामा नेकपा एमाले, वडा नं. ३ मा स्वतन्त्र उम्मेदवार विजय हुँदा प्रतिस्पर्धा माओवादी केन्द्र, वडा नं. ४ मा माओवादी केन्द्र विजयी हुँदा प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवार, वडा नं. ५ मा कांग्रेसका उम्मेदवार विजयी हुँदा प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार, वडा नं. ६ मा नेकपा एमाले विजयी हुँदा प्रतिस्पर्धामा कांग्रेस, वडा नं. ७ मा कांग्रेस विजयी हुँदा प्रतिस्पर्धामा नेकपा एमाले र वडा नं. ८ मा माओवादी केन्द्र विजयी हुँदा प्रतिस्पर्धामा नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी आएको थियो । वडाको यो स्थितिले पनि सर्केगाड गाउँपालिका आगामी उपनिर्वाचनमा पनि तिनै पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

आन्तरिक तयारीमा जुटे कर्णालीका राजनीतिक दल

YUGAAWHAN NATIONAL DAILY (2081-07-23)

आन्तरिक तयारीमा जुटे कर्णालीका राजनीतिक दल

रोजगारी छैन, अब कमाउन कालापहाड !