कर्णाली राजमार्गमा झन्डै एक दशकको अवधिमा ९०१ जनाको मृत्यु


कर्णाली राजमार्गमा झन्डै एक दशकको अवधिमा ९०१ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ती दुर्घटनामा एक हजार ५२७ जना घाइते भएका छन् । तीन वर्षको अवधिमा मात्रै यही सडकमा ३०१ जनाले ज्यान गुमाएका छन् भने झन्डै आठ सय घाइते भएका छन् ।

साँघुरो र अप्ठेरो सडक, क्षमताभन्दा बढी यात्रु राखिनु, पुराना गाडी, ट्राफिक नियमको बेवास्तालगायतका कारण राजमार्गमा दुर्घटना बढिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयको निष्कर्ष छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) जनक भट्टराईले अत्यधिक गतिका कारण पनि दुर्घटना बढिरहेको बताए  । उनले कर्णालीको कठिन भूगोल त्यसैमा पनि जीर्ण सडक हुँदा दुर्घटना रोक्न चुनौती रहेको बताए  ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा एक हजार ८६ सडक दुर्घटना भएका थिए । ती दुर्घटनाबाट ११२ जनाको मृत्यु भएको छ भने दुई हजार ७७ जना घाइते भएका थिए । आव २०७९÷८० मा ५४६ वटा सडक दुर्घटना परेर १२३ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा एक हजार ९० जना घाइते भएका थिए । आव २०७८÷७९ मा ४०३ दुर्घटना हुँदा १८० जनाले ज्यान गुमाएको प्रहरीको तथ्याङ्कमा रहेको छ ।

प्रदेश प्रहरी प्रमुख भट्टराईले दुर्घटना कम गर्न सडक चौडा र स्तरोन्नति गर्न आवश्यक रहेको बताए । यान्त्रिक कारण र मानवीय कमजोरीभन्दा पनि कर्णाली राजमार्गमा दुर्घटनाको प्रमुख कारण नै सडकको दुरवस्था बनेको भन्दै डिआइजी भट्टराईले बेलैमा सडकको अवस्था नसुधारे दुर्घटनाको अवस्था झन् भयावह बन्ने चेतावनी दिए  । गत वर्ष सुर्खेतमा मात्र ६७३ दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको थियो भने एक हजार १८४ जना घाइते भएका थिए । प्रत्येक वर्ष दुर्घटनाको दर बढिरहेको छ ।

ट्राफिक प्रहरीको नियम उल्लङ्घन गरेकाले धेरै दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ । प्रहरी चेक पोस्टमा यात्रु झार्ने र अलि पर कोल्टो परेको ठाउँमा गएर थप यात्रु भर्ने यातायात व्यवसायीको चलनका कारणले दुर्घटना बढी हुने गरेका छन् । साथै दुईपाङ्ग्रे सवारी मदिरा पिएर चलाउने, किशोर अवस्थाका व्यक्तिले अधिक गतिमा सवारी चलाउने भएकाले बढी दुर्घटना हुने गरेको बताइएको छ । सरकारले राजमार्गको स्तरोन्नतिमा बेवास्ता गरेको भन्दै जुम्लाका सांसद विनीता कठायतले प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । उनले सांसद कान्तिका सेजुवाल, अम्मरबहादुर थापा, गणेश पराजुली, सोविता गौतमलगायत १३ जना सांसदको समर्थनमा प्रस्ताव दर्ता गराए ।

त्यस्तै कर्णाली राजमार्गमा बढ्दो सवारीसाधन दुर्घटनाको रोकथाम तथा न्यूनीकरणका लागि उच्च अदालत सुर्खेतले तीन साताअघि सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले दसैँलक्षित अनुगमनलाई तीव्र पारेको जनाएको छ ।

कर्णाली राजमार्गमा झन्डै एक दशकको अवधिमा ९०१ जनाको मृत्यु

राप्ती नदीमा खसेका बालकको सकुशल उद्धार

कर्णाली राजमार्गमा झन्डै एक दशकको अवधिमा ९०१ जनाको मृत्यु

आगलागीबाट बच्न सुरक्षा निकायले गर्यो कृत्रिम अभ्यास