मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनमा अवरोधः उच्च अदालतद्वारा तारिख तोकियो


मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि गठित निर्वाचन समिति र मतदान अधिकृत सहितको टोली निर्वाचनका सबै तयारीहरू पूरा गरिसकेको अवस्थामा केही विद्यार्थीहरूले आफ्नो मताधिकारको माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए ।
उक्त रिटको सुनुवाई गर्दै उच्च अदालतको संयुक्त इजलासले २०८१ भदौ २७ मा जारी गरिएको अल्पकालीन आदेशलाई २०८१ आश्विन ६ गते निरन्तरता दिनु नपर्ने आदेश दिएको छ । साथै, रिट दायर गर्ने निवेदकहरूलाई २०८१ कार्तिक २ मा अदालतमा हाजिर हुन तारेख तोकिएको हुँदा, मुद्दा हाल अदालतमा विचाराधीन रहेको जानकारी दिइएको छ ।
यसैबीच, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सवाल उठाउँदै नेपाल विद्यार्थी संघले २०८१ आश्विन ८ मा एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा विश्वविद्यालयको कुइनेपानीस्थित केन्द्रीय कार्यालयमा दशैं, तिहार, छठलगायतका चाडपर्वहरूको पूर्वसन्ध्यामा गरिएको तालाबन्दीले प्राध्यापक र कर्मचारीहरूको तलव, भत्ता निकासा तथा अन्य आर्थिक र प्रशासनिक काम प्रभावित हुने मध्यपश्चिम विश्वविद्यालय रजिष्ट्रारको कार्यालय सुर्खेतले जनाइएको छ ।
नेपाल विद्यार्थी संघले उच्च अदालतको पूर्ण फैसला प्राप्त भएपछि विश्वविद्यालयमा क्रियाशील विद्यार्थी संघ, संगठन र सरोकारवाला पक्षहरूको आपसी सहमतिमा निर्वाचनको नयाँ मिति र कार्यक्रम निर्धारण गरी समयमै निर्वाचन गर्न विश्वविद्यालय तयार रहेको जनाउँदै अविलम्ब तालाबन्दी खुलाउन र निर्वाचनको वातावरण बनाउने अपिल गरेको छ ।







