सम्पादकीय: राजमार्गले ल्याएको आर्थिक चलायमान !
स्तरोन्तीमा राज्यको उपेक्षाले मृत्युमार्गको बनेको छ कर्णाली राजमार्ग । कर्णालीको लाइफलाईन यो सडक निर्माण भएको झण्डै दुई दशकसम्म पनि ढुक्कले सुरक्षित यात्रा गर्न सकिने अवस्थामा छैन । राज्यको प्राथमिकता बाहिर रहेको यहीँ सडकमा बर्षेनी कर्णालीका नागरिकले अनाहकमा ज्यान गुमाउन बाध्य छन् । साविक कर्णालीलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सडक पनि यहीँ हो । स्तरोन्तीमा सरकारी उपेक्षाले यात्रुलाई कष्टकर यात्रा गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतर्फ राजमार्ग छेउका बस्तीमा धुलोधुवाले बसी नसक्नु छ । सडक स्तरोन्ती नहुँदा समस्या त हुन्छ नै यो सडक निर्माण भएपछि भने साविक कर्णालीको आर्थिक समृद्धिको यात्रा सिङ्गो देशसँगै अन्तर्राष्ट्रिय बजारसम्म विस्तार भएको छ । यो सडक निर्माण भएसँगै सडकले छोएका बस्तीहरुमा विस्तारै कृषि, पशुपालन तथा पर्यटन क्षेत्रबाट आर्थिक उपार्जन सुरु हुन थालेको छ । जुम्ला, मुगु र कालीकोट जिल्लामा उत्पादन हुने स्याउले बजार पाउन थालेका छन् । कालीकोट जिल्लामा पनि कृषि तथा पशुपालनबाट आर्थिक चलायमान भइरहेको छ ।
कर्णाली राजमार्ग आसपासमा पर्ने कालीकोटको खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिका अन्र्तगतका ताडी, बद्रीगाउँ, दाँहा, पिलि, गाल्जे, खल्नागाड, धनेडा, भिग्म गाउँका किसानहरु बैमोसमी तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सफल भइरहेका छन् । उनीहरुले उत्पादन गरेको तरकारीले कर्णाली राजमार्गकै कारण बजार पाएको छ । जसबाट उनीहरुले मनग्य आम्दानी गर्न सफल भएका छन् । बिगतमा परम्परागत खेतीबाट सामान्य आम्दानी लिने यहाँका किसानहरु अहिले तरकारी खेतीबाट चौगुना आम्दानी लिइरहेका छन् । बैमौसमी तरकारी खेती गरेर अहिले बर्षमा चार सिजनसम्म तरकारी खेती गरेर त्यसबाट बर्षमा एक लाखदेखि दुई लाखसम्म आम्दानी लिन सफल भएका छन् यहाँका किसान । कर्णाली राजमार्ग बनेपछि गाउँमा उत्पादन गरिएको तरकारी बजारीकरण गर्न सजिलो भएको छ तर माग अनुसारको तरकारी उत्पादन गर्न भने यहाँका किसानले सकेका छैनन् । कर्णाली राजमार्ग बनेपछि मात्रै यहाँका किसानहरुले सामूहिक तरकारी खेती गर्न थालेका हुन् । तिलागुफा नगरपालिका वडा नं. ६ जुबिथाका किसानहरुले बर्षमा तरकारी बेचेर नै एक करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् । उनीहरुले मार्सी धान फल्ने खेतहरुमा धान खेतीभन्दा तरकारी खेतीबाट राम्रो आम्दानी लिन थालेपछि विगतमा मार्सी धान लगाउने खेतहरु अहिले बैमौसमी तरकारीले भरिएका छन् ।
किसानहरुको त्यो उत्साह देखेर तिलागुफा नगरपालिकाले पनि नगरको कृषि क्षेत्रलाई अब्बल बनाउने प्रयास गरिरहेको छ । जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने पालिकाको प्रयत्नलाई सकारात्मक मान्न सकिन्छ । नगरपालिकाले स्थानीयस्तरमा उत्पादन हुने कृषि बस्तुलाई ब्राण्डिङ्ग गर्ने नीति पनि लिएको छ । स्थानीयस्तरमा उत्पादन हुने स्याउ, ओखर, सिमि, आलु, कालो मार्सी धान, रातो मार्सी धान, टिमुर लगायतका स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजका बस्तुलाई ब्राण्डिङ्ग गर्ने कार्य आफैमा स्वागत योग्य छ । कृषि उत्पादनमा वृद्धि गरी उत्पादित वस्तुहरुको बजारिकरण गरी स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजको ब्राण्डिङ्ग गर्दै कृषिमा आत्मनिर्भर हुन खोजिरहेका किसानलाई स्थानीय सरकारहरुले नीति मै समेटेर थप आयआर्जनमा लगाउन ध्यान दिनु पर्दछ । अर्कोतर्फ राज्यले कर्णाली राजमार्गको स्तरोन्ती मात्रै गरिदिएको खण्डमा किसानले नै कर्णालीको समृद्धि ल्याउनमा सघाउ पु¥याउनेमा दुई मत छैन ।





