निर्माणाधीन पुल भत्किँदा कामदारको मृत्यु,तीन जना घाइते

जुम्लाको पातारासी गाउँपालिकामा निर्माणाधीन पुल भत्किँदा एक जना कामदारको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । पातारासी गाउँपालिका-१ स्थित डलिगाड खोलामा निर्माणाधीन अवस्थामा रहेको पुल भत्किएको हो ।

पुल भत्किँदा च्यापिएर पातारासी गाउँपालिका-१ का ५३ वर्षीय रन बुढाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक उमेश चन्दका अनुसार पातारासी– १ कै ४१ वर्षीय कर्ण ऐडी, १८ वर्षीय शुरेस बुढा र १६ वर्षीय धन ऐडी घाइते भएका छन् ।मृतक रन बुढा कामदारका रुपमा काम गर्दै आइराखेका थिए ।

 

घाइते तीन जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक चन्दले बताए ।पुल भत्केको घटना थाहा पाउने बित्तिकै पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बोहोरा र उपाध्यक्ष जनमाया रोकाया घटनास्थलमा पुगेका थिए । अध्यक्ष बोहोराले गुणस्तरहीन सामाग्रीको प्रयोग र चरम लापरबाहीका कारण पुल भत्किएको प्रतिक्रिया दिए ।

उनका अनुसार यो पुल कर्णाली प्रदेश सरकारको बजेटले बन्दै थियो ।स्थानीय सरकारसँग पुल बनाउने बेला देखि नै कुनै समन्वय नभएको र समस्या आएपछि मात्रै एक्कासी थाहा पाएको उनको भनाइ छ । मृतकको क्षतिपुर्ति र घाइतेको उपचारमा सहयोगबारे पालिकास्तरमा छलफल हुने अध्यक्ष बोहोराको भनाइ छ ।

स्थानीय नैनसिंह ऐडीले पहिल्यै नै गुणस्तरीय सामान प्रयोग नभएको बताए । उनले घटनाको सत्यतथ्य छानबिन गरेर दोषी माथि कारबाही हुनुपर्ने बताए । ठेकेदारले कल्भट निर्माण गर्दा कमसल सामाग्रीको प्रयोग गरेको र बनाउँदै गरेको पुल भत्किएको स्थानीयले बताएका छन् ।

निर्माणाधीन पुल भत्किँदा कामदारको मृत्यु,तीन जना घाइते

कर्णालीमा पहिलो पटक माओवादी प्रतिपक्षमा

निर्माणाधीन पुल भत्किँदा कामदारको मृत्यु,तीन जना घाइते

YUGAAWHAN NATIONAL DAILY (2081-03-22)