कर्णालीबाट १ महिना मै १६ सयले लिए श्रमस्वीकृति


कर्णाली प्रदेशबाट रोजगारीका लागि तेस्रो मुलुक जाने युवाको संख्या बढेको छ । कर्णालीबाट कालापहाड (भारत) जानेको संख्या सधैं अत्यधिक भए पनि उनीहरू सरकारको गणनामा छैनन् । तर, वैदेशिक रोजगार विभागको तथ्यांकले दुर्गम कर्णालीका युवाको विदेश मोह बढ्दै गएको देखिन्छ ।
विभागको तथ्यांकअनुसार एकै महिनामा कर्णाली प्रदेशका १६ सयभन्दा बढी युवाले वैदेशिक रोजगारका लागि श्रमस्वीकृति लिएका छन् । चालु आर्थिक वर्ष २०८०–८१ को फागुनमा कर्णाली प्रदेशका १ हजार ६ सय ८४ जना युवाले वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएको तथ्यांक छ । यो संख्या पहिलोपटक स्वीकृति लिएर विदेश जान चाहेका र एकपटक रोजगारीमा गएर फर्केकाले फेरि जान आवेदन दिएर पाएको स्वीकृति दुवै हो ।
कर्णाली प्रदेशबाट गत आर्थिक वर्ष २०७९–८० मा भने ३० हजार ३ सय ४३ जनाले श्रमस्वीकृति लिएका थिए । यो फागुनसम्मको तथ्यांकअनुसार कर्णालीका १० जिल्लामध्ये सल्यानबाट सबैभन्दा बढी ४ सय ७८ जनाले श्रमस्वीकृति लिएका छन् । सबैभन्दा कम भने डोल्पाका ४४ जना छन् । यसैगरी हुम्लाका ५० जनाले श्रमस्वीकृति लिएका छन् । जाजरकोटबाट १ सय ९१, जुम्लाबाट ८४ र कालिकोटबाट ५८ जनाले विदेश जान स्वीकृति लिएका छन् । सुर्खेतका ३ सय ४९, रुकुम पश्चिमका १ सय ९१ र दैलेखका १ सय ९६ जनाले पनि श्रमस्वीकृति पाएका छन् ।
श्रमस्वीकृति लिनेमा महिलाभन्दा पुरुषको संख्या बढी छ । विदेश जाने अधिकांशको रोजगार गन्तव्य मुलुक कतार, मलेसिया, कुबेत, बहराइन, युएईलगायत छन् । स्थानीय सरकार सञ्चालनमा आए पनि उपयुक्त रोजगारी नपाउँदा कालपहाड जाने र ऋण काढेर विदेशिने युवाको संख्या बढ्दै गएको छ । पहिलो वर्ष ऋण तिर्न ठिक्क हुने र पुनः दोस्रो वर्ष कमाउनकै लागि विदेशिने प्रचलन छ ।
स्थानीय तह सञ्चालनपछि गाउँगाउँमा पूर्वाधार विकासले गति लिएको छ, तर वर्षैभरी काम पाउने व्यवस्था हुन सकेको छैन । वर्षका केही महिनामात्र पाइने काममा युवा नजोडिँदा विदेश जाने संख्या बढ्न थालेको हो ।






