पाहुनाको पर्खाइमा मांग्री गाउँ


मुगुम कार्मारोङ गाउँपालिका–८ माँग्री गाउँमा पाँच वर्षअघि स्थापना गरिएको सामुदायिक होमस्टे प्रचारप्रसारका अभावमा ओझेलमा परेको छ । प्रचारप्रसारको अभावमा होमस्टे ओझेलमा परेको हो । गाउँमा पर्यटक भित्र्याउने उद्देश्यले होमस्टे निर्माण गरिएको थियो । २०७५ सालमा यहाँ होमस्टे स्थापना गरिएको हो ।

यहाँ एक सय ७३ घरधुरीको बसोबास रहेको छ । जसमध्ये २५ घरधुरीले सामुदायिक होमस्टे सञ्चालन गरेका छन् । तर, होमस्टे स्थापना भएको लामो समयसम्म पर्यटकको आगमन नहुँदा २४ वटा होमस्टे अहिले बन्द भएका छन् । हाल एउटा मात्र होमस्टे सञ्चालनमा रहेको स्थानीय सोनाम छिरिङ लामाले बताए ।

प्रदेश तथा स्थानीय सरकारले होमस्टे प्रवर्द्धनका कार्यक्रम नल्याउँदा व्यवसाय सञ्चालन गर्न समस्या भएको होमस्टे सञ्चालक सोनाम ग्यालजेन लामाले बताए । उनका अनुसार सदरमुकाम गमगढीबाट पैदलयात्राबाट चार घण्टामा मांग्र गाउँ पुग्न सकिन्छ । सवारी साधनको प्रयोग गरेर जाँदा भने एक घण्टा लाग्छ । यहाँ आएपछि लामा समुदायको परम्परागत कला संस्कृति, गुम्बा र परम्परागत शैलीका घरहरू देख्न सकिने उनको भनाइ छ । यस गाउँमा लामा समुदायको मात्र बसोबास छ ।

२०७५ सालमा एक गैरसरकारी संस्थाले पाँच दिनको तालिम सञ्चालन गरेपछि होमस्टे सञ्चालनमा आएको थियो । प्रचारप्रसारको अभावले होमस्टे सञ्चालक पुरानै अवस्थामा फर्किएका बुद्ध नमुना माविका प्रधानाध्यापक लग्नसिंह सेजुवालले बताए । होमस्टे सञ्चालक कार्मा पुटिक लामाका अनुसार तालिम पश्चात समिति निर्माण गरेर गाउँपालिकामा दर्ता समेत गरिएको थियो । केही महिना आलोपालो प्रणालीमा होमस्टे सञ्चालन गरिएको उनले बताइन् ।

गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा होमस्टे प्रवर्द्धन समेटिएको भएपनि पालिकाले सहयोग नगरेको वडाध्यक्ष पेमा टुण्डल लामाले बताए ।

पाहुनाको पर्खाइमा मांग्री गाउँ

कालीकोटमा नौ स्थानीय तहमध्ये आठमा बिजुली