समय अगावै फुल्दै लालीगुराँस, लोप हुँदै पैयुँ


समुद्री सतहदेखि एक हजार तीन सय मिटरदेखि एक हजार आठ सय मिटरसम्म पैयुँ र गुराँस पाइन्छ । हेमन्त ऋतुको सुरुवातसँगै पैयुँ ढकमक्क फुल्न थाल्छ । गुराँस वसन्त ऋतुको प्रारम्भमा फुल्छ । हिउँद लागेसँगै पैयुँ फुल्न थाल्छ । यसको रस माहुरीका लागि प्रमुख आहारा हो ।

पैयुँ फुल्न थालेपछि पहाडी क्षेत्रमा गहुँ खेती गर्न थालिन्छ । विभिन्न धार्मिक गतिविधिमा पैयुँका हाँगा प्रयोग गर्ने गरिन्छ । तर पछिल्लो समय पैयुँ हराउँदै गएको छ । गुराँस फुल्ने समयमा परिवर्तन आउन थालेको पाइएको छ ।

दैलेखको गुराँस गाउँपालिका–७ जिम्राका भीमबहादुर खड्का उमेरले ७३ वर्ष भए । उनले थाहा पाउने बेलादेखि नै घर वरपर पैयुँका बिरुवा प्रशस्त थिए । जब पैयुँ फुल्न थाल्थे त्यतिबेला वन ढकमक्क देखिन्थ्यो । तर केही वर्षदेखि पैयुँका बिरुवा हराउँदै गएको खड्काले बताए ।

‘पहिला त पैयुँ बनैभरि थियो, उनले भने, ‘कात्तिक लाग्न थालेपछि फुलेर ढकमक्क हुन्थ्यो, पछिल्लो समय त यो बिरुवा हराउँदै गएको छ ।’
खड्काले भने, ‘विवाह गर्दा, पूजाआजा गर्दा पैयुँ चाहिन्छ, कूल पूजा गर्दासमेत मौलो पैयुँकै हाल्नुपर्ने हुन्छ । तर अहिले यो पाउन छाडेको छ ।’

गुराँस– ८ का जगत विसी पनि पैयुँ लोप हुन थालेको देखेर अचम्मित बनेका छन् । ‘यो बिरुवा एकै पटक सबै ठाउँमा हराउँदै गएको छ, यसको कारण के होला ?’, उनले प्रश्न गर्दै भने, ‘यो हराउनु सामान्य कुरा होइन ।’

पैयुँ नेपालको रैथाने वनस्पति हो । गुराँस–८ का महेश केसी पैयुँ हराउँदा यसले समग्र पर्यावरणमा असर पार्न सक्ने बताए । यसको संरक्षणमा सबैले चासो दिनुपर्ने उनको सुझाव छ । यही क्षेत्रमा लालीगुराँस प्रशस्त पाइन्छ । स्थानीयवासीका अनुसार गुराँस पहिला फागुनदेखि फुल्न थाल्थ्यो । तर अहिले पुस महिनादेखि नै फुल्न थालेको छ । गुराँस गाउँपालिकाको कालिका माविमा वातावरण विषय अध्यापन गराउँदै आएका शिक्षक लोकबहादुर खड्का लालीगुराँस फुल्ने समयमा परिवर्तन आएको बताए ।

‘पहिला लालीगुराँस फुल्न थालेपछि वसन्त ऋतुको आगमन भयो भनेर बुझ्ने गरिथ्यो । यो फागुनदेखि फुल्न थाल्थ्यो । तर अहिले त पुसदेखि नै फुल्न सुरु गर्छ ।’ शिक्षक खड्का पहाडी क्षेत्रमा पाइने अन्य बिरुवा पनि फुल्ने समयमा परिवर्तन आएको पाइएको बताए ।

पैयुँलगायत वनस्पति हराउँदै जानु र फूल फुल्ने समयमा समेत परिवर्तन हुनुको कारण जलवायु परिवर्तनको असर भएको मध्यपश्चिम विश्वविद्यालयमा विज्ञान सङ्कायमा अध्यापन गराउँदै आएका प्राध्यापक डा पुष्पराज आचार्य बताउछन् । उनी भन्छन्, ‘अहिले विश्वमै तापमानमा वृिद्ध भइरहेको छ । जलवायु परिवर्तनको असर हरेक क्षेत्रमा परिरहेको छ । तापमान वृद्धिको असर फूल फुल्ने बिरुवामा अधिक पाइएको छ ।’ पैयुँ हराउँदै गएको बारेमा अध्ययन अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ ।

रामप्रसाद गौतम ३० वर्षदेखि कृषि र वनको क्षेत्रमा काम गर्दै आएका छन् । उनले काठमाडौँमा नेपाल कृषि बीउबिजन केन्द्र स्थापना गरेर विभिन्न प्रजातिका बिरुवाको बीउ तथा बेर्ना वितरण गर्दै आएका छन् । पैयुँ नेपालका पहाडी क्षेत्रका वनमा आफै उम्रिने बिरुवा भए पनि गौतमले आफ्नो संस्थाबाट यो बिरुवाका बीउ र बेर्ना उत्पादन गरी वितरण गर्दै आएका छन् । ‘पैयुँ लोप हुन थालेपछि यसको संरक्षणका लागि बीउ उत्पादन गर्न थालिएको हो’, उनले भने ।

कर्णाली प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता रेणुका न्यौपाने केही बिरुवाको संरक्षणका लागि काम भइरहेको बताए । ‘पैयुँ लोप हुँदै गएको विषयमा त खोज अनुसन्धान भएको छैन’, उनले भने । आगामी आर्थिक वर्षदेखि यस विषयमा प्रदेश सरकारले कार्यक्रम ल्याउने प्रवक्ता न्यौपानेले बताए । (रासस)

समय अगावै फुल्दै लालीगुराँस, लोप हुँदै पैयुँ

लागूऔषधसहित एक जना पक्राउ

समय अगावै फुल्दै लालीगुराँस, लोप हुँदै पैयुँ

चार सय परिवारलाई निःशुल्क सोलार