उमेर नपुग्दै आमा बन्दा शिशुको ज्यान जोगाउँन मुस्किल


अघिल्लो वर्षको जेठ महिनामा जुम्लाको सिंजा गाउँपालिका–६ की १७ वर्षिया संगीता रोकायाले गर्भावस्थाको सात महिनामै नजिकैको शनिगाउँ बर्थिङ सेन्टरमा बच्चा जन्माइन् ।
बच्चाले तत्काल दूध चुस्न नसकेपछि स्वास्थ्यकर्मीले सदरमुकाममा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला रेफर गरिदिए ।
महिना नपुग्दै बच्चा जन्मिएकाले सघन उपचार कक्ष (एनआईसीयू) मा राखेर उपचार गर्नुपर्ने थियो । स्वास्थ्यचौकी इन्चार्ज रमेश रावलले भने, ‘रेफर गरे पनि अभिभावकले घर लगे । त्यसैले जन्मेको २४ घण्टामै बच्चाको मृत्यु भयो ।’
पालिकाले कर्णाली अस्पताल लैजान निःशुल्क एम्बुलेन्स व्यवस्थापन गरेको थियो । तर, अभिभावकले घर लगेकाले शिशुलाई बचाउन नसकिएको पालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताए ।
गत वर्ष २२ र चालु आर्थिक वर्षको मंसिर १५ सम्म १२ जना गर्भवती र सुत्केरी सिंजाले सञ्चालनमा ल्याएको निःशुल्क एम्बुलेन्स सेवामार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालसम्म पु¥याएको थियो ।
स्वास्थ्य शाखा प्रमुख रोकायाले भने, ‘नवजात शिशु र मातृशिशु स्याहारको क्षेत्रमा निकै संवेदनशील भएर काम गरिरहेका छौं । तर परम्परागत मानसिकताका कारण अस्पतालसम्म लैजानै कठिन छ ।’
सुत्केरी र गर्भवतीलाई अस्पतालसम्म लैजान र ल्याउन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेकोमा स्थानीय खुसी छन् । गत माघमा कनकासुन्दरी गाउँपालिका–५ लुड्कुकी १९ वर्षिया आइसा उपाध्यायले गर्भवती भएको आठ महिनामै बच्चा जन्माइन् । हाँडसिञ्जा स्वास्थ्यचौकीको प्रसूति गृहमा उनले जन्म दिएको शिशुको पनि स्वास्थ्य कमजोर थियो ।
स्वास्थ्यकर्मीले थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाए । उपचारकै क्रममा बच्चाको मृत्यु भयो । चिसोले गर्दा बच्चालाई निमोनिया भएको थियो । स्वास्थ्यचौकी इन्चार्ज वीरेन्द्र उपाध्यायले भने, ‘स्वास्थ्यचौकीमा उपचार हुन नसक्ने देखिएपछि अस्पताल पठायौं । उपचारका क्रममा बच्चाको अस्पतालमै मृत्यु भयो । कनकासुन्दरीदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला आइपुग्न एम्बुलेन्समा चार घण्टा लाग्छ ।’
सानै उमेरमा बच्चा जन्मिएको र गर्भावस्थामा आमालाई पोषणयुक्त खाना नपुगेका कारण महिना नपुग्दै कमजोर बच्चा जन्मिएको स्वास्थ्यचौकीकी अनमी प्रिया आचार्यले बताइन् । बच्चा बचाउन हदैसम्मको प्रयास भए पनि बचाउन नसकिएको स्वास्थ्यचौकी इन्चार्ज वीरेन्द्र उपाध्यायले जनाए । उनले भने, ‘कम उमेरमै विवाह गर्ने र महिना नपुग्दै बच्चा जन्माउने अवस्था भएकाले शिशु मृत्युदर बढेको हो ।’
तिला गाउँपालिका–८ जुम्लाकोटकी २२ वर्षिया आइसरा रावतले गत माघ १४ गते आठ महिनाकै बच्चा जन्माइन् । जन्मेको ११ घण्टामै बच्चाको मृत्यु भयो । बच्चा नर्मल नै जन्मेको हो । स्वास्थ्यचौकी इन्चार्ज विराजु जीसीले भने, ‘बच्चा जन्मेपछि टाउकामा फोका निस्केको, नाकबाट रगत बगेको, छिटोछिटो श्वास फेर्ने र दूध चुस्न सकिरहेको थिएन ।’
उनका अनुसार बच्चाको थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रेफर गरिएको थियो । तर, अभिभावकले शिशुलाई अस्पताल नलगेपछि बच्चाको घरमै मृत्यु हुन पुग्यो । भारी हिमपात र आर्थिक अभाव भएपछि बच्चालाई अस्पतालसम्म पु¥याउन नसकिएको परिवारजनको गुनासो छ ।
संगीता, आइसा र आइसराका बच्चाको मृत्युका कुरा प्रतिनिधि घटना मात्रै हुन् । उनीहरूजस्ता सयौं किशोरीले प्रजनन क्षमता परिपक्व नहुँदै बच्चा जन्माउनु, दुर्गममा राम्रो प्रसूति गृह नहुनु, यातायातको सहज पहुँच र आर्थिक अभावका कारण नवजात शिशुले थप उपचारै नपाएर मृत्यु हुने गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।
२९ जना नवजात शिशुको मृत्यु
जन स्वास्थ्य सेवा कार्यालय, जुम्लाका अनुसार गत वर्ष मात्रै २९ जना नवजात शिशुको मृत्यु भएको छ । जन्मेदेखि सात दिनभित्र २३, जन्मेको आठदेखि २८ दिनभित्र पाँच नवजात शिशुको स्वास्थ्य संस्थामै मृत्यु भएको र जन्मेको सात दिनभित्र एक शिशुको घरमा मृत्यु भएको जन स्वास्थ्य सेवा कार्यालय, जुम्लाका तथ्यांक शाखा प्रमुख पदम खत्रीले बताए ।
मृत्यु भएका अधिकांश दुर्गम क्षेत्रका छन् । उनले भने, ‘कम उमेरमा बच्चा जन्माउनाले पनि धेरै नवजात शिशुको मृत्यु हुने गरेको छ ।’ सबै जातिमा कम उमेरमा विवाह हुने र परिपक्व नहुँदै बच्चा जन्माउने गरेकाले समस्या देखिएको जन स्वास्थ्य सेवा कार्यालय, जुम्लाले जनाएको छ ।
अहिले पनि स्वास्थ्य संस्थामा सुत्केरी नहुनु, गाउँमै सुत्केरी गराउनुपर्ने परम्परागत मान्यता रहनाले पनि नवजात शिशुको अकालमा मृत्यु हुने गरेको चिकित्सकहरू बताउँछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनअनुसार २०७९-०८० मा नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा २१ र एक वर्षसम्मका शिशुको मृत्युदर २८ छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ को तथ्यांकले पनि नवजात शिशुको मृत्युदर २१ नै देखाएको थियो ।
नवजात शिशुको मृत्युको कारण बन्दै आएका प्रमुख रोगमा निमोनिया, झाडापखाला, दादुरा, कुपोषणलगायत छन् । दिगो विकास लक्ष्यअनुरूप सन् २०३० सम्ममा नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ वा सोभन्दा कम र सन् २०३५ मा १० भन्दा कममा ल्याउने सरकारको नीति छ ।
सोहीअनुरूप सरकारले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकताभित्र राखेर वर्षौंदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । तैपनि, नवजात शिशुको मृत्युदर कम हुन सकेको छैन । स्थानीय सरकारले स्वास्थ्य संस्थामा अनिवार्य सुत्केरी हुनुपर्ने र उमेर पुगिसकेपछि मात्रै विवाह गर्नुपर्ने मापदण्ड कार्यान्वयन गर्न सके शिशु मृत्युदर घट्ने सरोकारवाला बताउँछन् ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार गत वर्ष तीन सय १० किशोरी २० वर्ष नपुग्दै आमा बनेका छन् ।
सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा एक सय २७ र सबैभन्दा कम सिञ्जा गाउँपालिकामा–५ जना २० वर्ष नपुग्दै सुत्केरी भएको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । उमेर नपुग्दै आमा बन्ने, गर्भपतन गराउने, कम तौलका बच्चा जन्मिने, प्रजनन स्वास्थ्यमा असर देखिनेलगायत समस्या आइरहेको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।






