भूकम्प प्रभावितमा बढ्न थाल्यो मानसिक तनाव

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित भएकी दार्मा गाउँपालिका–५ ढाकाडाम मूलपानीकी ३८ वर्षिया एक महिलालाई रातीको समयमा निन्द्रा पर्न छाडेको छ । बाहिर केही आवाज आयो कि उनी तर्सिने मात्र होइन, सुतिरहेको त्रिपालभित्रैबाट ‘भूकम्प आयो’ भन्दै चिच्याएर भाग्न खोज्छिन् । उनीसँगै त्रिपाल टाँगेर बसेकी अर्की ३२ वर्षिया महिलाको अवस्था पनि उनको भन्दा खासै फरक छैन । उनलाई पनि रातिको समयमा निन्द्रा लाग्न छाडेको छ ।

अन्धनाशक आधारभूत विद्यालय रातामाटामा पढ्ने १३ वर्षिया एक विद्यार्थी पनि रात पर्न थाल्यो भने थरथर काप्ने गर्छिन् । उनमा एक किसिमको डर पैदा मात्र भएको छैन, रातिमा निदाउने बेला भूकम्प आयो भनेर चिच्याउने गर्छिन् र टोलाउने गर्छिन् ।

यी तीन जना प्रतिनिधि पात्र हुन् । जिल्लाको दार्मा गाउँपालिकाका भूकम्पपीडित धेरैमा अहिले यही समस्या देखिन थालेको छ । भूकम्पका कारण प्रत्यक्ष प्रभावित भएका पालिकाका महिला र बालबालिकामा यस किसिमको मानसिक तनाव देखिन थालेको हो । भूकम्पले घर भत्किएपछि रातीको समयमा भागाभाग गर्न बाध्य भएका पालिकाबासीमा त्रासका कारण मानसिक समस्या देखिएको मनोविमर्शविद्हरू बताउँछन् ।

भूकम्पले घर भत्किएपछि त्रिपालमै बसेकी आफ्नी २२ वर्षिया श्रीमती सीता केसीलाई रातमा निद्रा लाग्न छाडेको र रातभर टोलाएर बस्ने गरेको दार्मा गाउँपालिका २ लिरापाजाका टेकबहादुर केसीले बताए । करिब ७ लाख ऋण लिएर बनाएको घर भत्किएपछि ऋण कसरी तिर्ने भन्ने पिरले गर्दा श्रीमतीमा टोलाउने, निद्रा नलाग्ने समस्या देखिएको हुन सक्ने उनले जानकारी गराए । ‘साना बालबालिका समेत भूकम्प गएदेखि यता सामान्य आवाज आएमा डराउने गरेका छन्,’ उनले भने, ‘भूकम्पले घर भत्किएपछि कात्तिक १८ गतेदेखि त्रिपालमा बस्दै आएका छौं । त्यही त्रिपालमा सुत्न जाउँ भन्दा जान मान्दैनन् ।’

पटक–पटक गैरहेको भूकम्पले गर्दा मनमा एक किसिमको सन्त्रास फैलिरहेको र कतै जान डर लाग्ने गरेको बछेलाकी वर्ष ४४ वर्षिया धनी केसीले बताइन् । ‘फेरि भूकम्प आएर च्याप्ने हो कि भन्ने डरले सुरक्षित स्थान खोजेजस्तो देखिन्छ,’ उनले भने, ‘साना केटाकेटी रातीको समयमा सुतेको स्थानमा जुरुक्क उठेर चिच्याउने, कराउने गर्छन् ।

दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले पछिल्नो समयमा भूकम्पले प्रभावित भएका बस्तीका महिला तथा बालबालिकामा मानसिक समस्या देखिन थालेको बताए । मानसिक समस्या देखिएपछि सिएमसी नेपालका मनोसामाजिक परामर्शकर्ता गोपाल वीसीलाई बोलाएर परामर्श दिने काम भइरहेको उनले जानकारी गराए ।

उनका अनुसार दार्मा गाउँपालिकामा भूकम्पले गर्दा एक हजार एक सय पूर्ण र एक हजार आंशिक गरी भौतिक संरचनामा क्षति पुगेको छ । जसका कारण दुई हजार भन्दा बढी विस्थापित भएर भत्किएको घर नजिकै त्रिपाल टाँगेर बस्दै आएका छन् । मनोसामाजिक परामर्शकर्ताले पालिकाका सबै स्थानमा पुगेर परामर्श दिएपछि मात्र कतिमा समस्या देखियो भनेर भन्न सकिने उनको भनाइ छ । मानसिक समस्या बढी देखिएकालाई पालिकाले बाहिर लगेर उपचार गर्ने समेत उनको भनाइ छ ।

मनोसामाजिक परामर्श दिंदै आएका सीएमसी नेपालका मनोसामाजिक परामर्शकर्ता गोपाल वीसीले तीन दिनमा चार विद्यालयका एक हजार बढी विद्यार्थी र सयभन्दा बढी स्थानीयलाई परामर्श दिएकामा दर्जन बढीलाई समस्या देखिसकेको बताए । परामर्श दिने क्रममा अन्धनाशक आधारभूत विद्यालयका तीन जना विद्यार्थी र दुई महिलालाई अलि बढी मानसिक समस्या देखिएको उनले जानकारी गराए ।

‘महिला तथा बालबालिकामा डराउने, रातीको समयमा निद्रा नलाग्ने, चिच्याउने, कराउने, टोलाउने समस्या बढी देखिएको छ,’ उनले भने, ‘परामर्श दिने काम जारी छ । अलि बढी समस्या देखिएकालाई बाग्चौरस्थित मनोसामाजिक परामर्श केन्द्रमा लगेर उपचार गर्छौं ।’

चिसाले गर्दा त्रिपालमा बसेका धमाधम बिरामी पर्न थालेपछि स्वास्थ्यसेवा कार्यालय सल्यानले लगातार दुई दिनसम्म घरदैलोमै पुगेर स्वास्थ्योपचार गर्ने क्रममा केहीमा मानसिक समस्या भएको फेला परेको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले बताए ।

भूकम्प प्रभावितमा बढ्न थाल्यो मानसिक तनाव

प्रधानमन्त्री प्रचण्ड कोप–२८ मा सहभागी हुन बुधवार

भूकम्प प्रभावितमा बढ्न थाल्यो मानसिक तनाव

अनुमतिपत्र बिनाका शिक्षक अध्यापन गराउँदै

This will close in 0 seconds