कर्णालीमा पूँजिगत बजेटको खर्च सुस्त

कर्णाली प्रदेश सरकारले पूँजिगत खर्चमा उल्लेखनिय वृद्धि गर्न सकेको छैन । चालु आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीमा हालसम्म साढे चार प्रतिशत सम्म पनि पूँजिगत बजेट खर्च हुन सकेको छैन । कार्तिक मसान्तसम्ममा कर्णाली प्रदेश सरकारले कुल चार दशमलव २९ प्रतिशत मात्र पूँजिगत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय, सुर्खेतले जनाएको छ ।

त्यसैगरी चालु तर्फ ११ दशमलव ११ प्रतिशत बजेट खर्च भएको देखिन्छ । समग्रमा कर्णालीले कार्तिक मसान्तसम्ममा कुल सात दशमलव ११ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको चार महिना अवधिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक प्रतिशतसम्म पनि पूँजिगत बजेट खर्च गर्न सकेको छैन ।

त्यसैगरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले समेत पूँजिगत तर्फ एक प्रतिशत सम्म पनि खर्च पु¥याएको छैन । हालसम्म मुख्यमन्त्री कार्यालयले पूँजिगत तर्फ शुन्य दशमलव १४ प्रतिशत मात्र बजेट खर्च गरेको छ । २०८०/०८१ मा मुख्यमन्त्री कार्यालयका लागि पूँजिगत तर्फ एक अर्व ३० करोड चार लाख ८२ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । त्यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक दशमलव ११ र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले तीन दशमलव १४ प्रतिशत बजेट खर्च गरेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयमा २०८०/०८१ का लागि कुल नौं करोड ६ लाख २९ हजार रुपैयाँ पूँजिगत बजेट विनियोजन भएको थियो । कानून मन्त्रालयले कार्तिक महिनासम्ममा पूँजिगत तर्फ तीन दशमलव १६ प्रतिशत बजेट खर्च गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तीन दशमलव ३४, भौतिक पूर्वाधार विकास मन्त्रालयले चार दशमलव शुन्य तीन, आर्थिक मामिला तथा योजना मन्त्रालयले ६ दशमलव ६५ र सामाजिक विकास मन्त्रालयले १० दशमलव ३१ प्रतिशत पूँजिगत खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रदेश व्यवस्थापिकाले समेत हालसम्म पूँजिगत तर्फको बजेट खर्च गरेको छैन । प्रदेश लोक सेवा आयोगले २७ दशमलव ९८ र मुख्य न्यायाधिवक्ताको कार्यालयले १९ दशमलव ११ प्रतिशत पूँजिगत बजेट खर्च गरेका छन् ।

त्यसैगरी कर्णाली प्रदेश योजना आयोगले समेत कार्तिक मसान्तसम्ममा पूँजिगत तर्फ २२ दशमलव ७२ प्रतिशत बजेट खर्च गरेको छ ।

कुल बजेटमा ७ प्रतिशत खर्च

चालु आर्थिक वर्षका लागि कर्णालीमा ३३ अर्व ३७ करोड रुपैयाँ बढी बजेट विनियोजन भएको थियो । कार्तिक मसान्तसम्मका कुल बजेटको सात दशमलव ११ प्रतिशत बजेट खर्च भएको छ । चालु र पूँजिगत गरी हालसम्ममा कुल दुई अर्व ३७ करोड ३३ लाख ८९ हजार तीन सय ७५ रुपैयाँ बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

मन्त्रालयगत रुपमा हेर्दा कुल बजेटमा धेरै खर्च गर्नेमा आर्थिक मामिला तथा योजना मन्त्रालय रहेको छ । यस मन्त्रालयले हालसम्म १९ दशमलव १८ प्रतिशत बजेट खर्च गरिसकेको छ ।

त्यसैगरी सामाजिक विकास मन्त्रालयले १३ दशमलव ९७, आन्तरिक मामिला तथा कानून मन्त्रालयले हालसम्म १३ दशमलव २५ प्रतिशत कुल बजेट खर्च गरेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नौं दशमलव ९९ र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ६ दशमलव सात प्रतिशत बजेट खर्च गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले चार दशमलव ५५, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले चार दशमलव ४५ र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले दुई दशमलव ७७ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

८४ करोड पूँविगत खर्च भयो

कार्तिक मसान्तसम्ममा कर्णालीले कुल ८४ करोड रुपैयाँ बढी पूँजिगत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा कणाली प्रदेश सरकारले १९ अर्व ५७ करोड ७२ लाख ४३ हजार रुपैयाँ पूँजिगत तर्फ बजेट विनियोजन गरेको थियो ।

यस मध्ये हालसम्ममा ८४ करोड दुई लाख ९३ हजार एक सय सात रुपैयाँ पूँजिगत बजेट खर्च भएको छ ।

कर्णालीमा पूँजिगत बजेटको खर्च सुस्त

टेलिकमको ‘नमुना सेवा’ शुुरु