चिसोबाट जोगिन दाउराको जोहो गर्दैः जुम्लाका महिला


केहि दिनयता देखि जुम्ला सहित देशभर अत्याधिक रूपमा चिसो बढ्दै गइरहेको छ । जुम्लामा चिसोको कारण घरबाट बाहिर निस्किनै मुस्किल हुन थालेको छ । विहान बेलुका दिनहुँ चिसो बढ्दै गइरहेको छ । जुम्लाका ग्रामीण क्षेत्रका महिलाहरु यतिबेला दाउरा संकलन गर्न व्यस्त छन् । उनीहरु हिउँदको चिसो कटाउन बन जंगल तिर दाउरा संकलन गर्न व्यस्त भएका हुन् ।

मंसिर महिना लागेपछि जाडो बढ्ने भएकाले यस क्षेत्रका महिलाहरुलाई जाडो छल्नका निमित्त दाउरा ओसापोसार गर्न भ्याइनभ्याइ छ । जुम्लामा हिउँ पर्ने समय पनि नजिकिँदै छ, यहाँ पुस महिनादेखि फागुन र चैतको अन्तिम सम्ममा हिउँ पर्ने गर्दछ । हिउँ पर्न साथ बाटो बन्द हुने हुँदा जाडो छल्न पूर्व तयारीका लागि यहाँका महिलाहरु दैनिक तीन चार घण्टाको पैदल यात्रा तय गर्दै जङ्गलबाट दाउरा ल्याउने गर्दछन् । कात्तिक महिना भरी बर्खे बालीहरु भित्राउन व्यस्त हुने जुम्ली महिला पुस लाग्न थालेसँगै दाउराको जोहो गर्न व्यस्त देखिन्छन् ।

अहिले जुम्लाको अधिकतम तापक्रम १७ दशमलव नांै र न्यूनतम तापक्रम माइनस चार दशमलव पाँच डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय जुम्लाले जनाएको छ । जाडो कटाउन घरमा ७-८ महिने दुधे बालक अरुकै भरमा छाडेर जंगल जान बाध्य भएको जुम्ली महिलाहरु बताउँछन् ।

तस्बिर गोल्डेन बुढा

जुम्ला सिंजा–६ कि कल्पना बुढा भन्छिन्, ‘दाउरा बालेर मात्र चिसोबाट बच्न सकिन्छ । यसका लागि बिहान बेलुकाको समयमा दाउराको जोहो गर्नमै जुट्ने गरेका छौं ।’ चिसोमा दाउरा बाल्नेहरू बढेपछि स्थानीयहरू दाउरा बेच्ने क्रम पनि शुरु भएको छ । उनका अनुसार हरेक वर्ष हिउँदमा निश्चित समय तोकेर मात्र दाउरा सङ्कलनका लागि खुला गर्ने गरिन्छ ।
यस अवधिमा मात्र दौरा संकलन गर्न पाइने भएपछि शिशुको परवाह नगरी दाउरा संकलन गर्नुपरेको छ । जुम्लामा वर्षैदेखि गाउँका मुख्य टोली र वन उपभोक्ता समितिको समन्वयमा स्थानीयवासीलाई जङ्गलमा रहेका सुकेका दाउरा फुकुवा गर्ने प्रचलन छ ।

जुम्ली महिला १५ देखि २० जना सम्म मिलेर दाउरा सङ्कलनका लागि जंगल आउजाउ गर्ने गर्दछन् । हातमा पञ्जा, मुखमा मास्क र खुट्टामा टालटुल गरेको मैलो जुता, पिठ्युँमा डोको, दाउराका सहित उनीहरु भेटिने गर्दछन् ।
जाडोका कारण गाई गोरु पनि बन पाखा लान नसकिने हुँदा करिब साढे दुई महिना जति घरमै राखिन्छ। यो चलन सिङ्गो जुम्लाको अवस्था र व्यवस्था हो ।


जुम्ली माहिलाहरु बिहान सबेरै तीन घण्टाको उकालो तय गरी लेकको जंगलमा पुगेर दाउरा संकलन गरेपश्चात् ओसारपसारका लागि हुनेले घोडा वा खच्चडको प्रयोग गर्दछन्, भने नहुनेले आफ्नो पिठ्युँमा बोकेर ल्याउने गर्दछन् ।
पुस महिनादेखि फागुनको दोस्रो सातासम्म त गाइबस्तु, भेडाबाख्रा समेत जंगलमा चराउन लैजान नसकिने स्थानीयहरू बताउँछन् ।

यसबीचमा दुई महिनाभन्दा लामो अवधि गाइबस्तु घरमै राखिन्छ । चरिचरन क्षेत्र पूरै हिउँले ढाकिएको हुनाले पनि गाइबस्तु बाहिर निकाल्न नसकिने अर्की स्थानीय महिला आउसी बुढा बताउँछिन् । स्थानीयहरू भने घरमै आगो बालेर गेडागुडी पकाएर खाने प्रचलन छ ।

पछिल्लो समय भने जुम्लामा दाउरा खोजेर ल्याउने र बजारतिर बिक्री गर्ने पनि प्रचलन छ । उनले अन्य महिना खेतीपातीमा व्यस्त हुने र जाडोको मौसम फुर्सदिलो हुने भएकाले पनि जंगलमा सुकेका दाउरा खोज्न दिइने गरेको बताइन् ।

चिसोबाट जोगिन दाउराको जोहो गर्दैः जुम्लाका महिला

केपी ओली कप राष्ट्रिय टी–ट्वेन्टी क्रिकेटमा कर्णालीको

चिसोबाट जोगिन दाउराको जोहो गर्दैः जुम्लाका महिला

YUGAAWHAN NATIONAL DAILY (2080-08-08)