हुम्लाको विमानस्थलमा पहुँचकै भरमा टिकट वितरण


राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको हुम्लाको सिमकोट विमानस्थलमा पहुँचकै भरमा टिकट वितरण हुने गरेको छ ।
सिमकोट विमानस्थलमा पहुँचको भरमा टिकट वितरण हुँदा सर्वसाधारण दैनिक गेटमै कुरेर फर्किन बाध्य छन् ।
पहुँचका भरमा जहाज टिकट वितरण हुने गरेपछि सर्वसाधारण नागरिक मर्कामा छन । निजी एयरलाइन्स कम्पनीका जहाजहरूले भनसुन र पहुँचका भरमा जहाजको टिकट वितरण हुने गरेपछि दसैँ सकेर सहर झर्ने विद्यार्थी, बिरामी र सर्वसाधारण नागरिक प्रत्यक्ष मर्कामा परेका छन् ।
दुई सातासम्म सिमकोट विमानस्थलमा जहाजको टिकटको प्रतीक्षामा बसेकी सिमकोट गाउँपालिका– ७ की पम्पा शाही पैदल हिँडेर जान थालेको बताउँछिन् ।
‘पहुँचवालाले सहजै जहाजको टिकट पाउँछन् । हामी सोझाहरूको काम छैन,’ शाहीले नयाँ पत्रिकासँग भनिन् । उनले दुई दिन पैदल हिँडेर चंखेली गाउँपालिकाको सल्लिसल्लाबाट गाडी चढेर नेपालगन्ज जान बाध्य भएको गुनासो गरिन् ।
समिट एयरलाइन्सले दैनिक एक र एक फ्लाइट उडान भर्दै आएको भने सीता एयरलाइन्सले शुक्रवार चार फ्लाइट उडान भरे पनि जहाज टिकट पहुँचकै भरमा वितरण गरेपछि सर्वसाधारण मर्कामा परेको सिमकोट गाउँपालिका– ७ की हजारी शाहीको भनाइ छ । ‘गरिबका दिन कहिले आउला, कहिले हुम्ला गाडी आउला र सुख होला,’ शाहीले भनिन् ।
बिरामीहरूको बिचल्ली
सिमकोट गाउँपालिका– ८ स्याडा गाउँका रूप बुढा पेट दुख्ने बिरामीको उपचारका लागि नेपालगन्ज जान १९ कात्तिकमा सिमकोट पुगेका थिए । उनले अझै टिकट पाउन सकेका छैनन् । १९–२४ गतेसम्म होटेलमा खाने–बस्ने गर्दा उनको उपचारका लागि तयार पारेका पैसा सकिएको बताए ।
पहुँचवालालाई सहजै टिकट
सिमकोट विमानस्थलबाट सुर्खेत, नेपालगन्ज झर्न सिडियो, डिएसपी, राजनीतिक दलका नेता–कार्यकर्ता, कार्यालयका हाकिमले टिकट सहजै पाउने गरेका छन् ।
उनीहरूका नाममा टिकट फोन, म्यासेज वा भनसुनमै बुकिङ हुने गरेको छ । पहुँचका आधारमा टिकट वितरण हुँदा सर्वसाधारणलाई विमानस्थल गेटमै प्रहरीले रोकिदिने गरेको पाइएको छ । निजी कम्पनीका जहाजहरूले टिकटमै सिन्डिकेट लागू गरेका छन् ।(नयाँ पत्रिका)





