हुम्लामा विद्युत सेवा अवरुद्ध


जलविद्युत आयोजना मर्मतका लागि हुम्ला सदरमुकाम सिमकोटमा विद्युत वितरण बन्द गरिएको छ । राष्ट्रिय प्रसारणमा नजोडिएको हुम्लामा पाँच सय किलोवाटको हिल्दुम जलविद्युत आयोजनाद्वारा उत्पादित बिजुलीको भर छ ।
आयोजना मर्मत गर्न दुई साताका लागि विद्युत सेवा बन्द गरिएको हिल्दुम वितरण केन्द्र सिमकोटले जनाएको छ ।
विद्युतगृहको मुख्य नहरमा पेनष्टक पाइप जडान गर्न सेवा अवरुद्ध गर्नु परेको विद्युत प्राधिकरण हेल्दुङ वितरण केन्द्रका प्रमुख नारायणप्रसाद कर्णले बताए । आयोजना बन्दले सिमकोटसहितका दुई गाउँपालिकाका बासिन्दाले बिजुली प्रयोगका लागि पर्खिनुपर्ने भएको छ ।
‘मुख्य क्यालनमा रहेको अस्थायी पाइप हटाइ पेनस्टक पाइप जडान गर्ने कार्य भइरहेकाले विद्युत सेवा अवरुद्ध भएको हो’, प्रमुख कर्णले भने । कार्तिक ९ देखि २२ गतेसम्म पुनःनिर्माण कार्यका लागि आयोजना बन्द गरिएको जानकारी उनले दिए । हुम्लामा हिउँदमा भारी हिमपात हुन्छ तर विद्युतका लागि आवश्यक पानी पुग्दैन । साथै पहिरो जाने भएकाले हिमपात हुनुअगावै आयोजना मर्मत गरिएको उनले बताए ।
विद्युत सेवा अवरुद्ध भएसँगै सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा राति अन्धकार भएको छ । दशैं बिदा सकिए लगत्तै सिमकोटका कार्यालयहरु खुले पनि बिजुली नहुँदा सेवा प्रभावित भएको छ । विद्युतको राष्ट्रिय प्रसारणमा नजोडिएको हिमाली जिल्ला हुम्ला स्थानीय आयोजनामा समस्या आउँदा बिजुलीविहीन हुने गरेको छ ।
आयोजनाले सिमकोट–४ मा हिल्दुम खोलाको पानी उपयोग गरेको छ । हिल्दुम जलविद्युतका दुई हजार पाँच सयभन्दा बढी घरधुरी सेवाग्राही छन् । विद्युत आपूर्ति बन्द हुँदा सिमकोटका इलेक्ट्रोनिक्स व्यवसायी प्रभावित भएका छन् । सरकारी तथा गैरसरकारी कार्यालयलाई सेवा प्रवाह गर्न समस्या भएको छ ।
नेपाल टेलिकमको हुम्ला शाखाले भने आफ्नो नेटवर्क सहज बनाउन जेनेरेटर चलाउने गरेको छ । राति १० देखि बिहान ६ बजेसम्म जेनेरेटर बन्द गर्दा भने टेलिकमका सबै सेवा ठप्प हुने गरेका छन् ।






