बाँकेको जमुनाहा भन्सारबाट दुई महिनामा ११ करोडको केरा आयात


चालु आर्थिक वर्ष २०८०-८१ को साउन र भदौ मसान्तसम्म नेपालगन्ज भन्सार नाका हुँदै १० करोड ३१ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको केरा आयात भएको छ ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार चाडपर्वको सिजन भएका कारण यी दुई महिनामा केरा आयात अत्यधिक हुने गरेको छ । यो अवधिमा २४ सय ६६ मेट्रिक टन केरा आयात भएको हो ।
नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले यहाँबाट आयात भएको केरा देशका विभिन्न बजारमा पुग्ने गरेको बताए । स्थानीय बजार मात्र नभई बर्दिया, सुर्खेत, दाङ र नारायणगढसम्म केरा खपत हुने गरेको छ ।
नेपालगन्जलगायत यस क्षेत्रमै फलफूल उत्पादनको अवस्था न्यून छ ।
केरा उत्पादनका लागि कृषकहरू उत्साहित भए पनि भारतबाट आउने सस्तो मूल्यका केराका कारण उनीहरू टिक्न सकिरहेका छैनन् ।
स्थानीय उत्पादन बढाउन कुनै चासो नदिँदा केरामा मात्र यतिका रकम बिदेसिएको छ । नेपालगन्ज नाका हुँदै अन्य फलफूलसमेत आयात हुँदै आएको नेपालगन्ज भन्सार कार्यालयले जानकारी दिएको छ ।
स्वदेशी केरा उत्पादक कृषकहरूले भारतबाट आउने केरा तत्काल रोक्नुपर्ने माग राख्दै आएका छन् । भारतबाट आयातीत केरा रोग तथा विषादी परीक्षण समेत नगरी भित्रिने गरेको छ ।
भारतबाट विश्व व्यापार सङ्गठनको मापदण्ड पूरा नगरी केरा आयात हुने गरेको कृषकहरूको भनाइ छ । यसबाट नेपाली केरा कृषकको करोडौँको नोक्सानी हुने अवस्था सिर्जना भएको छ ।
कृषिजन्य वस्तु उत्पादन गरी राज्यलाई आत्मनिर्भर बनाउने सरकारको लक्ष्य अनुरूप केरामा आत्मनिर्भरउन्मुख रहेको अवस्थामा निर्बाध रूपमा केरा आयात हुँदा व्यवसायीका साथै राज्यले समेत नोक्सानी व्यहोर्नुपरेको व्यवसायीहरूको भनाइ छ ।
बाँके र बर्दिया जिल्लामा चार हजार कृषकले दुई हजार पाँच सय हेक्टरमा व्यावसायिक केरा खेती गरिरहेका छन् । यहाँ वार्षिक रूपमा झन्डै ९५ हजार मेट्रिकटन केरा उत्पादन हुने गरेको अगुवा कृषक देवेन्द्र अधिकारीले बताए ।
निर्बाध रूपमा भारतबाट केरा आयात गरिएकाले जिल्लामा उत्पादन भएको केरा बिक्री वितरण हुन नसक्दा कृषकहरूको लिएको ऋण डुब्ने खतरा रहेको कृषकका अगुवाहरूको गुनासो रहेको छ ।






