२०८२ फाल्गुन ५ गते
×

Now Playing

पश्चिम सुर्खेतका स्थानीय सार्वजनिक बसबाट बर्दिया, कैलाली, कञ्चनपुर पुग्दै

पश्चिम सुर्खेतमा पर्ने बराहताल, पञ्चपुरी, चौकुनेका स्थानीयका लागि बर्दिया, चिसापानी, कैलाली, कन्चनपुर आउन जान सहज भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका तथा कैलालीको महन्याल गाउँपालिकामा पर्ने भेरी र कर्णाली नदीमा पक्की पुल बनेर सञ्चालनमा आएपछि सार्वजनिक यातायात बस सेवा सिधा सञ्चालनमा आएको छ ।

बावियाचौरदेखी चिसापानी हुँदै बर्दिया, कैलाली धनगढी, कन्चनपुर सिधा बस सेवा सञ्चालनमा आएको छ । पञ्चपुरी नगरपालिकाको बावियौचारदेखि सुदूरपश्चिम प्रदेशमा जोड्ने बस सेवा सञ्चालनमा आएको छ । पञ्चपुरी नगरपालिकादेखि सुदूरपश्चिम प्रदेशको कैलालीसम्म नियमित यातायातका साधनहरू शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

कर्णाली नदीको कुइनेमा पुल निर्माण भए पनि लामो समयदेखि कैलालीसम्म गाडी सञ्चालन हुन सकेको थिएन । रुट परमिटको समस्याका कारण रोकिएको यातायात सेवा अबदेखि निरन्तर दैनिक ३ वटा गाडी सञ्चालनमा आउने यातायात समितिले जनाएको छ ।

कैलालीसम्म सिधा गाडी सञ्चालन भएपछि यात्रा गर्ने यात्रुहरू खुसी भएका छन् । नियमित यातायात सञ्चालनमा आएपछि सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, बाँके बर्दिया जान थप सहज हुनेछ भने व्यापारीका लागि सामान ढुवानी गर्न समेत सजिलो हुनेछ ।

साबिक कर्णाली, भेरीको दैलेख र सुदूरपश्चिमका अछाम तथा बाजुराको हटारु मार्गको केन्द्र बावियाचौर हो । यहीँ बजारले जामु–कुइने हुँदै लुम्बिनी प्रदेशको राजापुर र सुदूरपश्चिमको चिसापानीसम्म हटारु बाटोको पहिचान बनाएको थियो । हटारु बाटोमा बिस्तारै सडक र भेरी तथा कर्णाली नदीमा पक्की पुल बनेपछि घण्टौँ पैदलयात्रा गर्नुपर्ने बाध्यताको अन्त्य गरेको छ ।

कर्णाली नदीमा पक्की पुल बनेपछि सुदूरपश्चिम प्रदेश जान सहज बनाइदिएको हो । पक्की पुल बनेसँगै बावियाचौर–चिसापानी सडकयात्रा सहज बनेको छ । कैलालीको मोहन्याल गाउँपालिकाको सोल्टासम्म कैलालीबाट दैनिक १५ वटा सार्वजनिक सवारी आउनेगरेका थिए ।

दैनिक सोल्टासम्म सवारी आए पनि सुर्खेत पश्चिमका नागरिकले कुइनेबाट अर्को सवारी फेरेर बावियाचौर आउनु पर्ने बाध्यता थियो । सुदूरपश्चिम र सुर्खेतको बावियाचौरसम्म सिधा यातायात सेवा सञ्चालन नहुँदा यात्रुले सास्ती बेहोर्नुपरेको थियो । रोजगारीका लागि भारत तथा सुदूरपश्चिम, बर्दिया र नेपालगन्ज पुग्न यहाँका नागरिकलाई सहज भएको छ ।

सुर्खेतको बड्डीचौर हुँदै कोहलपुर–चिसापानीसम्मको करिब २०० किलोमिटर सडक ५२ किलोमिटरमा छोटिनेछ । छोटो दूरीको यातायातबाट साबिक सुदूर र मध्यपश्चिमका सुर्खेत, कालिकोट, दैलेख, जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा, अछामलगायत जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

पश्चिम सुर्खेतका स्थानीय सार्वजनिक बसबाट बर्दिया, कैलाली, कञ्चनपुर पुग्दै

YUGAAWHAN NATIONAL DAILY (2080-06-28)

पश्चिम सुर्खेतका स्थानीय सार्वजनिक बसबाट बर्दिया, कैलाली, कञ्चनपुर पुग्दै

चन्दननाथ मन्दिरको लिंगो फेर्दै घटस्थापनाको शुरुवात