वडादशैं शुरु: आज घटस्थापना


बडा दशैं आजबाट शुरु भएको छ । आज दशैंको पहिलो दिन घटस्थापना हो ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार, घटस्थपना गर्ने साइत आईतवार बिहान ११ बजेर २९ मिनेटमा परेको छ । यो दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नुअगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ ।
दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाउने प्रचलन छ ।
नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दशैंघरमा जमरा राखिन्छ । माटाको घट (कलश) स्थापना गरी जमरा राख्ने गरिन्छ ।
घटस्थापनाका दिन दुर्गापूजासँगै विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन छ ।






