जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना हुने

कर्णाली प्रदेशकै व्यस्त जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना हुने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना गरिने भएको हो ।
जुम्ला विमानस्थलमा हवाई इन्धनको डिपो स्थापना गर्ने बहस धेरै पहिलादेखि चलेको थियो । तर अहिले सम्म परिणाममुखी काम हुन सकेको छैन । जुम्ला विमानस्थल विस्तार,हवाई इन्धन डिपो स्थापनाका लागि जुम्लाकी सांसद कान्तिका सेजुवाल लामो समयदेखि पहल गर्दै आएकी थिइन् ।
चन्दननाथ नगरपालिकाको मेयर हुँदै गर्दा २०७६ सालमा एयरपोर्ट विस्तारका लागि समेत डिपिआर गर्न दबाब दिएकी थिइन् । आयल नियमले असोज २२ गते सिफारिस गर्दै जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना गर्ने जनाएको छ ।
तत्काल अध्ययन समिति बनाई कार्य प्रारम्भ गर्न आयल निगम नेपालले सोमबार जारी गरेको सिफारिस पत्रमा उल्लेख गरिएको छ । डिपो स्थापनाका लागि दसैँपछि नेपाल आयल निगमको टोली जुम्ला जाँदैछ ।
‘जग्गा प्राप्तिको लागि नागरिक उड्डयन प्राधिकरणसँग छलफल भएको छ ।’ सांसद सेजुवालले भन्नुभयो,“स्थलगत अनुगमन र कार्यान्वयनको लागि दसैँ र तिहारको बीचमा नेपाल आयल निगमको प्राविधिक टोली जुम्ला जाने सहमति भएको छ । विस्तृत अध्ययन पश्चात् तत्काल नै डिपो स्थापना हुने छ ।”
कर्णालीका सबै जिल्लामा उडान गर्न सहज हुने र सुरक्षित विमानस्थल पनि जुम्ला हो । तर नियमित उडान नहुँदा समस्या भएको छ । हवाई इन्धनको डिपो जुम्लामै भएको खण्डमा जुम्ला हुँदै हुम्ला, डोल्पा, मुगु जाने आन्तरिक बाह्य पर्यटकको आगमनमा उल्लेखीय वृद्धि हुने आशा गरिएको पर्यटन व्यवसायी नोर्बु लामाले बताए ।
सांसद सेजुवालका अनुसार धावनमार्गको जग्गा अधिग्रहणका लागि सोको मुआब्जा वितरण गर्नका लागि हाल ५० लाख मात्रै विनियोजन भएको छ । थप बजेट रकमान्तरको समयमा व्यवस्था हुने छ ।
यद्यपि नागरिक उड्डयन प्राधिकरणले जुम्ला विमानस्थल विस्तारका लागि चार करोड ४२ लाख बजेट विनियोजन गरेको छ । उक्त बजेट तत्काल नै कार्यान्वयन हुने स्थिति छैन । जुम्ला विमानस्थल विस्तारका लागि एक सय८३ दशमलव ८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ ।
जसका लागि ४८ करोड बजेट आवश्यक पर्ने देखिएको छ । तर अहिले सम्म जग्गा अधिग्रहणका लागि बजेट विनियोजन हुन सकेको छैन । जग्गा अधिग्रहणका लागि परामर्श गर्न पत्र आएपनि बजेट नआए सम्म कुनै काम अघि नबढ्ने देखिएको छ ।
जग्गा अधिग्रहणका लागि बजेट नजुट्दा अर्थमन्त्रीदेखि प्राधिकरणका सिइओलाई पहिलो चरणमा न्यूनतम २० करोड सम्म बजेट छुटाई दिन दबाब दिएको सांसद सेजुवाल बताउँछन् ।
जग्गा अधिग्रहणका लागि बजेट विनियोजन नभए सम्म विमानस्थल विस्तारका लागि आएको बजेट कार्यान्वयन नहुने जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारी बताउँछन् । विगतको भन्दा पछिल्लो वर्षमा जुम्ली सांसदहरु सबै आआफ्नो ठाउँबाट लागेको बजेट जुट्ने आशा लागेको उनको भनाई छ ।






