प्रचण्डलाई भन्दिनू- फोक्सुण्डो आउँदा गरेको वाचा नबिर्सिनू !

राेहेज खतिवडा | फोक्सुण्डो पुगियो तर अपर डोल्पाको फुर्ती बोकेर हिँडेका हाम्रो यात्रा यहीँ टुंगिने देखियो । भेटेका/कुरा गरेका कसैले पनि माथिल्लो डोल्पा जान सकिन्छ भनेनन् । हाम्रो हिम्मत बाँकी रहेन । विकट हिमाली भूगोल र प्रतिकूल मौसमसँग आत्मसमर्पण गर्नुबाहेक हामीसँग अर्को विकल्प रहेन ।

रात झमक्कै परेपछि रिग्मो गाउँ पुगेका थियौँ । निख्खर अँध्यारोमा रेनकोट ओढेर हामी तीन प्राणी लुसुलुसु हिँडिरहेका छौँ । ढाडमा झोला त छँदै छ । ढुंगाको गाह्रो, ढुंगाकै छानो भएका, भित्तामा माटोले लिपेर छानामा पनि माटोले नै छोपिएका सुन्दर हिमाली घरहरू भएको सुन्दर गाउँ हो रिग्मो । तर, अँध्यारोमा देख्ने कुरै भएन । हामी यी घरहरूबीचका गल्ली छिचोल्दै गाउँको पूर्वपट्टि निस्कियौँ । बास बस्ने कहाँ हो, केही टुंगो थिएन । बाटोमा फोन लागेको भए पो टुंगो हुन्थ्यो ।

लखतरान भइसकेको हाम्रो टोली पदयात्री लौरोको भरमा अगाडि बढ्दै थियो । गाउँ छिचोल्नेबित्तिकै लस्करै घोडाहरू बाँधेको ठाउँ (खुला आकाशमुनि भएकाले तबेला लेखिनँ, सायद यो तत्कालका लागि गरिएको व्यवस्था थियो होला), त्यसपछि केही खुला जमिन पार गर्नेबित्तिकै एउटा होटलको दाहिनेतिर रहेको गोरेटो आयो । अलि अगाडि पुगेपछि हामीले सोध्यौँ, ‘निमा लामाको होटल कता हो ?’

काठमाडौंमा जितेन्द्र झाँक्रीले सुझाएका थिए, ‘फोक्सुण्डोमा निमा लामाको होटल छ । त्यहाँको सबैभन्दा राम्रो होटल हो । त्यहीँ बस्दा हुन्छ ।’ सुर्खेतबाट बुद्धि रानाले पनि हामीलाई यही सुझाव दिएका थिए । होटलको नाम भने अझै मेरो दिमागमा बस्न सकेको थिएन । आजकल केही कुरा दिमागले टिप्दै टिप्दैन । केही नबिर्सिनुपर्ने कुराहरू बिर्सिरहेको हुन्छु । मानसिक स्वास्थ्यका ज्ञाताहरू स्मार्टफोन र सामाजिक सञ्जालको कम्बोले यो समस्या बढाइरहेको बताउँछन् । यसरी बिर्सनु डिमेन्सिया वा डिप्रेसनतिरको बाटो हो भन्छन् । टक्सिक एन्जाइटीले पनि बिर्सने समस्या बढाउँछ भन्छन् । मलाई के भएको हो ? थाहा भएन । तर, मलाई पटकपटक सुन्दा पनि निमा लामाको होटलको नाम याद भएन ।

पत्रकारको सबैभन्दा ठूलो सम्पत्ति नै नोटबुक हो, पत्रकार तथा लेखक मोहन मैनालीले यो वाक्य पटक-पटक दोहोर्‍याएको सुनेको छु । कलेज/विश्वविद्यालय पढ्दा होस् वा पत्रकारिता गर्दा, नोट बनाउने जाँगर कहिल्यै चलेन । तर, अब दिमागलाई नोटको वैशाखी चाहिने भइसकेछ, होटलको नाम नसम्झँदा महसुस भयो ।

‘निमा लामाको होटल यही हो तर रूम त छैन,’ सायद साहुनीको जवाफ हुनुपर्छ, ‘आज जम्मै प्याक भइसक्यो ।’

लामाजीको होटल यो त होइन होला, मेरो दिमागले तर्क गर्छ । हामी त बल्ल रिग्मो गाउँ आइपुग्दै छौँ । उनको होटल त फोक्सुण्डोमा भनिएको थियो । फोक्सुण्डो ताल अझै कति टाढा हो, के थाहा । कतै अझै एकडेढ घण्टाको बाटो पो बाँकी हो कि ?

मैले पक्कापक्की गर्नका लागि सोधेँ, ‘वडाध्यक्ष निमा लामाको होटल यही हो त ?’

‘हो, यही हो,’ अब निश्चित भयो । तर, कोठा छैन ।

मलाई जतिसक्दो चाँडो पिठ्युँबाट झोला फाल्न मन थियो । यो भिजेको जुत्ता खोलेर हुर्‍याउन मन थियो । अझ, यो सकसकाउने रेनकोट शरीरबाट मिल्काउन मन थियो । बसेर एक कप तातो चिया पिउन मन थियो । हिमाली पानीले भिजेको यो ज्यान सुकाउन मन थियो । बस्, मलाई अब बिसाउन मन थियो । एक पाइला पनि हिँड्न मन थिएन ।

नवीन फोन घुमाउँछ सुर्खेततिर । धन्न, सुलिगाडबाट हराएको मोबाइलको नेटवर्क रिग्मो गाउँ आइपुग्दा देखा पर्ने रहेछ । बुद्धि राना हाम्रै सेवामा तैनाथझैँ थिए यसपालि । दुनैबाट मध्यरातमा फोन गर्दा होस्, अरु कुनै बेला, उनी सम्पर्कमा रहन्थे र हामीलाई दिशानिर्देश गर्थे । आफ्नो बोली बिक्ने ठाउँमा सहयोग पनि गर्थे ।

रानासँग हाइहेल्लो गरेपछि नवीन निमा लामालाई खोज्न थाल्यो । लामाजी यतिबेलै हाम्रोअगाडि प्रकट भए । नवीनले फोन उनको हातमा थमायो ।

दुई डोल्पाली, राना र लामाबीच के संवाद भयो कुन्नि, लामाजी हामीलाई बास राख्न नसकेकोमा दु:खी देखिए ।

‘आज कोठा सबै प्याक छ,’ उनले भने, ‘तर म तपाईंहरूलाई अर्को होटलमा व्यवस्था गरौँला ।’

बस्, यति भए भइगो । मलाई त मात्रै झोला बिसाउनु छ, जुत्ता फुकाल्नु छ । यो दिक्कलाग्दो रेनकोट खोल्नु छ ।

हामी झोला बिसाएर भान्सा छिर्नै लाग्दा लामा पढेको र लामाले झ्याम्टा-घण्टी बजाएको, ढ्याङ्ग्रो ठोकेको आवाज आयो । हेर्दाहेर्दै लामाहरू लस्करै आँगनतिर उक्लिए । अनि आँगनको डिलैडिल भान्सासँगै रहेको अर्को घरतिर प्रवेश गरे ।

डोल्पाको तिब्बती बौद्ध संस्कृतिको झलक फोक्सुण्डो पुग्दानपुग्दै हामीले देखिसकेका थियौँ । आहा ! कस्तो स्वागत ! वास्तवमा त्यो लामाजीको घरमा कुनै पूजा रहेछ । तैपनि हामी उक्लिँदाउक्लिँदै देखिएको यो दृश्य हाम्रै स्वागतमा होजस्तो लाग्यो ।

पूजा चलिरहेकै बेला आएर लामाजी सोध्छन्, ‘यहीँ बस्ने भए रूम शेयर गर्नुपर्छ । अर्को होटल भनौँ कि के गरौँ ?’

यसमा धेरै सोच्ने कुरै छैन । शेयरै गर्ने भए पनि ठीक छ । केही क्षणमा भोजन तयार भयो । सिमीको दाल, आलुको तरकारी र भात यहाँको नियमित भोजन हो । मासु खाने भए सुकुटी पाइन्छ । खासगरी याक वा भेडाको सुकुटी । थाकेको ज्यान, भोजनपछि हामी आरामका लागि ओछ्यानमा पस्यौँ । बिहान त जानु छ, फोक्सुण्डो ताल डुल्न ।

आइपुग्दा अँध्यारो भइसकेकाले हामीले न गाउँ राम्रोसँग देख्न पायौँ, न त्यहाँबाट वरपरको दृश्य । बिहान उठेर हेरेपछि पो थाहा भयो, रिग्मोको सुन्दरता ।

पछाडिपट्टि सिङ्गै कान्जिरोवा बोकेर उभिएको रिग्मोको दक्षिणतिर एउटा सानो हिमाल । समतल छाना भएका सुन्दर घर एकआपसमा टाँसिएर बसेको दृश्य । अहिले बाँझो देखिए पनि उवा, फापर खेती हुने स-साना खेतका गरा । गाउँभन्दा तल होचा भए पनि कोणधारी वृक्षहरूको जंगल ।

हामी बसेको होटलबाट अझ अगाडि गएपछि थोरै गहिरोमा देखिने नीलो पानीले भरिएको फोक्सुण्डो ताल । फोक्सुण्डो नीलो छ, आकाशभन्दा । स्थानीय सुनाउँछन्, यो तालले रङ बदल्छ । अर्थात्, आकाशको रङ बदलिएसँगै तालको पनि बदलिन्छ । घामको स्थान बदलिएसँगै तालको पनि रङ बदलिन्छ । वरिपरि हिमाल छन् तर तालमा तिनको प्रस्ट प्रतिबिम्ब भने देख्न पाइँदैन । यसको पहिलो कारण बेतोडले बहने हावाले सतहको पानीलाई स्थिर हुन दिँदैन । तरेली खेलिरहन्छ फोक्सुण्डोको पानी । अर्को कारण यसको नीलोपनका कारण पनि प्रतिबिम्ब राम्रोसँग देखिँदैन ।

फोक्सुण्डो नेपालका ठूला तालहरूमध्ये एउटा हो । समुद्री सतहबाट ३६०० मिटर उचाइमा, उत्तरपश्चिममा काञ्जिरोवा र पूर्व तथा दक्षिणमा अरु स-साना हिमालहरूले घेरिएर बनेको यो ताल संसारकै गहिरा तालहरूमध्ये एउटा हो । यसको गहिराइ १३७ मिटर छ । जल तथा मौसम विज्ञान विभागले सन् २००४ मा यसको गहिराइ १४५ मिटर नापेको थियो तर २०१९ मा पुन: मापन गर्दा भने यसको गहिराइ १३७ मिटर पाइएको हो । यो नेपालको सबैभन्दा गहिरो ताल त हुँदै हो, तालबाट निकास हुने पानीले बनाउने सबैभन्दा अग्लो झरना पनि यहीँ छ । फोक्सुण्डो झरनाको उचाइ १६७ मिटर छ । यो झरना हिजो हामीले ताल नपुग्दै बाटोबाटै हेरेका थियौँ ।

फोक्सुण्डो रहेछ रहस्यमय । कुनै पनि ठाउँबाट एकैचोटि यसको पूर्ण स्वरूपको दर्शन गर्न सकिँदैन । रिग्मो गाउँअगाडिको भूभागबाट देखिने, भ्यु प्वाइन्टबाट देखिने र सल्लाघारीतिरबाट देखिने तालका भागहरू उत्रै आकारका देखिन्छन् । यो ताल अंग्रेजी अक्षर ‘Y’ आकारको छ, यसकै आधारमा नामकरण भएको रहेछ- फोक्सुण्डो । यहाँ बोलिने स्थानीय तिब्बती भाषामा फोक्सुण्डोको अर्थ तीनतिर फैलिएको चट्टानको बीचमा रहेको ताल भन्ने हुँदो रहेछ । यो ताल दुर्लभ कस्तुरी मृगको चरन क्षेत्र पनि रहेछ ।

कान्जिरोवाको कञ्चन पानीले भरिएको फोक्सुण्डो दिनभरि घुमिरहन पुग्छ । खासमा यो तालको परिधि लगभग १७ किलोमिटर जति रहेछ भने क्षेत्रफल लगभग ५ वर्ग किलोमिटर छ । यो तालको वरिपरि हिँड्ने हो भने पूरै दिन बित्न सक्छ । तर, हामीले स्थानीयबाट बेलुका होटलमै सुनेका थियौँ, तालको राम्रो दृश्य हेर्न भ्यु प्वाइन्टसम्म चढ्नुपर्छ । तालको किनारबाट अलि अगाडि गएर उकालो चढेपछि डेढदेखि दुई घण्टामा पुगिने हरेछ भ्यु प्वाइन्ट । हामी भ्युप्वाइन्ट चढ्न कस्सिएका थियौँ । सँगै घुम्न गएका चितवनियाँहरूसँग गफ गर्न र टिकटक बनाउन व्यस्त नवीनलाई पनि जोडले आवाज दिएपछि हामी भएठाउँसम्म आइपुग्यो ।

दुई/चार घण्टा तालकिनारमा बिताएपछि भोकले सताउँछ । बिहान होटलमा खाएको लगरको रोटीले दिनभरि धान्न गाह्रो हुन्छ यो उचाइमा । तालको नजिकै त्रिपाल टाँगेर पुग्मो गाउँकी आङ्बो गुरुङले होटल थापेकी छन् । यता खाने परिकार उही हो- सिमीको दाल, भात र आलुको तरकारी । यता मर्चा भन्दा रहेछन्, खुर्सानीको लेदो, अचार यही हो । आङ्मो बहिनी र उनका श्रीमान् निमासँग गफ गर्दै हामीले दालभात खायौँ । दालभात खाएर दह्रो भएर भ्यु प्वाइन्ट चढ्ने हाम्रो सोच थियो । तर, खाना खाएपछि त्यो जाँगर बाँकी रहेन ।

‘भ्यु प्वाइन्ट त बिहानै चढ्नुपर्छ नि,’ आङ्मोले हामीलाई अल्छी मान्न हौस्याइन्, ‘यति बेला गयो भने त हावाले गाह्रो हुन्छ ।’

‘हावाले उडाउँछ ?,’ नवीन सोध्छ ।

‘उडाउँछ होला,’ आङ्मो हाँस्छिन् ।

भ्यु प्वाइन्ट अब भोलि गए पनि हुन्छ, किन भने हामी फर्किने निश्चित भइसक्यो । लगातार हिउँ परेकाले माथिल्लो डोल्पा चढ्ने सम्भावना नै रहेन । यहाँबाट शे गुम्बाहुँदै भिजेर वा साल्दाङ जान काङ्ला पासको बाटो खुलेकै छैन । हुन त यहाँबाट सिधै धो तराप जाने बाटो पनि छ, नुमा-ला र बगा-लाहुँदै । तर, हिउँले यो बाटो पनि हिँड्न सक्ने स्थितिमा छैन । अझ हामीसँग त न त्रिपाल छ, न राम्रो गुणस्तरको स्लिपिङ ब्याग । खानेकुरा पनि छैन । बोकेर हिँड्न पनि सकिन्न । अब हाम्रो यात्रा यहीँ टुङ्गिने निश्चित छ भनेपछि फर्कन हतार भएन । भ्यु प्वाइन्ट भोलि जाँदा पनि भयो ।

हामी यही सल्लाह गर्दै थियौँ, आङ्मोको होटलमा नुनचिया पिइरहेका एक जना बोले, ‘यता फूलबारीबाट शे जान सकिन्छ होला, हामी पनि भोलि जाँदै छौँ ?’

फूलबारीबाट ? कता हो यो ? हामीले सुनेकै थिएनौँ ।

उनी रहेछन् निकुञ्जका कर्मचारी रूपेश केसी । यार्साको डकुमेन्ट्री बनाउन आएको जापानिज टोलीसँग उनी पनि उकालो चढ्दै रहेछन् ।

तिब्बती फलामे चुलोले पालभित्र न्यानो बनाएको थियो । धुवाँ सरक्क बाहिर जाने र प्रशस्त न्यानो दिने यो चुलो यता निकै प्रचलनमा रहेछ । तिब्बततिर नाका बन्द हुनुअघि २५-३० हजार नेपाली रूपैयाँमा पाइने यो चुलो यताका प्राय: भान्सामा देख्न सकिन्छ । रूपेशको कुराले हाम्रो मन पनि त्रिपालको वातावरणजस्तै न्यानो भयो । हिम्मत बढ्यो । आँट आयो ।

हाम्रो सामुन्ने अर्को समस्या पनि थियो । हिजो फोक्सुण्डो चढ्दै मैले बुझिसकेको थिएँ, अब झोला बोकेर हिँड्न सकिन्न । झोला बोक्न सहयोगी चाहिने भयो । तर, हामीसँग त्यसका लागि पुग्दो पैसा थिएन । हामीसँग सीमित पैसा थियो । यसरी झोला बोक्न सहयोगी चाहिन्छ भन्ने हामीले कल्पना पनि गरेका थिएनौँ ।

‘यतिबेला भरिया पनि महँगो हुन्छ,’ आङ्मोले सुनाइन् । हुन पनि हो, यो यार्सा टिपेर लाख जम्मा पार्ने बेला हो । एकाध हजारका लागि कोही भारी बोक्न किन जाओस् ।

रूपेशले हामीलाई निराश हुन दिइरहेका छैनन् । उनले फेरि भने, ‘एकपटक वडाध्यक्षलाई भन्नुस् न । उहाँले भन्नुभयो भने कीरा टिप्न आएका औलेलहरू खाली रै’छ भने सस्तैमा लगिदिन्छ । हजार १५ सय दियो भने लग्दिन्छ ।’

अब आशा पलायो । उत्साह भरियो ।

अब भ्यु प्वाइन्ट माथि जाँदा बाटैमा पर्छ । बरू अहिलेलाई गुम्बा जानु ठीक ।

तालको किनारै किनार हिँडेपछि दक्षिणतिरको किनारमा रहेको थसुङ छोलिङ गुम्बा पुगिन्छ । करिब ९ सय वर्ष पुरानो यो बोन गुम्बा घुम्नका लागि फोक्सुण्डोआसपासको महत्त्वपूर्ण स्थल हो । गुम्बा किनारमा बसेर तालको दृश्यावलकोन गर्न पनि उत्तिकै रमाइलो हुन्छ ।

साँझ फेरि आङ्मोको होटलमा नुन-घिउ मिसाएर धिरीमा पारिएको हिमाली चिया पिएर हामी होटल फर्कियौँ । वडाध्यक्ष लामा आज पनि उसैगरी व्यस्त थिए ।

‘जापानिजहरूको टिम आएको छ,’ उनले व्यस्तताको कारण खुलाए, ‘भरिया नै १२-१३ जना छ । अरु पनि मान्छे छ ।’

जापानको एनएचके टेलिभिजनबाट तीन जना पत्रकारहरू आएका रहेछन्, यार्सागुम्बामाथिको डकुमेन्ट्री खिच्न । उनीहरूका भरिया, भान्छे, क्यामेरा पर्सनलगायतको टिमले होटल भरिभराउ रहेछ । बिहान–बेलुका लामा भान्छामा सहयोग गर्नमा व्यस्त हुँदा रहेछन् । दिउँसो वडाध्यक्षले गर्नुपर्ने काममा । हामी उनीसँग भलाकुसारी गर्न खोजिरहेका थियौँ तर समय मिलिरहेको थिएन ।

खाना खाइसकेपछि राति हामी किचनसँगैको अर्को कोठामा बसेर गफगाफ गरिरहेका थियौँ । उनी त्यतै आइपुगे ।

हामी तातो पानी पिइरहेका थियौँ । उनी उवाको आराक लिँदै थिए । उनको आग्रहलाई मैले पनि नाइँ भन्न सकिनँ । आराकको चुस्की लिँदै मध्यरातमा हामी उनका कथा सुन्न थाल्यौँ । उनीसँग सुनाउनलाई धेरै कुरा थिए, हामीसँग सोध्नलाई । हामी खोतल्दै गयौँ, उनी भन्दै गए ।

उनको होटल हिमालय फोक्सुण्डो तालछेउको सबैभन्दा सुविधा भएको होटल रहेछ ।

‘मेरोमा एट्याच कोठा पनि छ, सरसफाइ पनि हुन्छ,’ उनले सुनाए । फोक्सुण्डो जाने ठूला मान्छेहरू उनकै होटलमा बस्ने रहेछन् । यो होटलले उनलाई देशका ठूल्ठूला मान्छेसँग भेटाएको छ । एक वर्षपहिलेतिर न्यायाधीश सपना मल्ल प्रधान आफ्नो टिमसहित त्यहाँ पुगेकी रहिछन् । पछि हामीले बुझ्यौँ, उनी कुनै आईएनजीओको ‘क्लाइमेट जस्टिस’ सम्बन्धी कार्यक्रममा भाग लिन हेलिकोप्टरमा त्यहाँ पुगेकी रहिछन् ।

‘अरु कोको आउनुभएको छ ?,’ म सोध्छु ।

‘प्रचण्ड पनि आउनुभएको थियो,’ उनी गौरवसाथ सुनाउँछन्, ‘जनार्दन, शक्ति बस्नेत, गंगा दाहाल, अनि गुरू रिम्पोछे भएको ठूलै टोली लिएर आउनुभएको थियो ?’

‘प्रचण्डसँग कुरा गर्नुभयो ?’

‘गर्‍यो,’ उनी आफ्नै लवजमा जवाफ दिन्छन् ।

‘कतिबेर कुरा गर्नुभयो त ?’

‘एक डेढ घण्टा गर्‍यो होला ।’

‘के भन्नुभयो त प्रचण्डले तपाईंलाई ?’

‘खै के भन्नु र ! यहाँको समस्या सुल्झाउँछु भन्नुभयो । प्रधानमन्त्री भएपछि त बिर्सिनुभयो होला ।’

मेरो उत्सुकता बढ्दो छ, ‘के समस्या सुल्झाउने भन्नुभएको थियो ?’

उनले सम्झाउन थाले, ‘दिउँसो तपाईंहरूले तालको छेउमा जग्गा देख्नुभयो नि, त्यो सबै व्यक्तिको नाममा छ । तर, ताल संरक्षणका लागि हामीले नै २ सय मिटर छोड्ने भन्यौँ । तर, जग्गाधनीले न मुआब्जा पायो, न जग्गा भोगचलन गर्न पायो ।’

उनीहरूको माग सामान्य रहेछ, निकुञ्जले जग्गाको सट्टाभर्ना गरिदेओस् ।

‘मुआब्जा दिँदा पनि हुन्थ्यो,’ उनले हामीलाई बुझाउन खोजे, ‘तर यहाँ जग्गा महँगो छ, सरकारी दाम थोरै छ । हामीले भनेको निकुञ्जले अर्को ठाउँमा त्यति नै जग्गा देओस् भन्ने हो । त्यो गर्ने हो भने गाह्रो पनि छैन ।’

तर, वर्षौंदेखि उनीहरूको यो माग पूरा भएको छैन ।

‘मान्छेहरू मलाई भन्छ,’ उनले दु:खेसो पोखे, ‘तर मैले पनि गर्न सक्ने केही छैन । मैले पनि माथि भन्ने हो । सरकारले चासो नदिएसम्म केही हुँदैन ।’

भोलिपल्ट हामी उनीसँगै ताल घुम्न निस्किएका थियौँ । उनले देखाए, तालको किनारमा उनको आफ्नै केही टुक्रा रहेछ ।

‘मेरो आफ्नै दश कित्ता जग्गा छ, तर म आफैँ ताल जोगाउनुपर्छ, यहाँ घर बनाउनु हुँदैन भनेर लागिरहेको छु,’ तालतिर हेर्दै उनले सुनाए, ‘ताल छ र त मान्छे आउँछ, होटल चल्छ । ताल नै बिगारेर के हुन्छ र ?’

उनले यसो भन्दै गर्दा मैले फेवाताल अतिक्रमण गरेर होटल बनाउने कर्ण शाक्यलाई सम्झिएँ । सकारात्मक सोचको उपदेश दिने शाक्यको होटल फेवातालको अतिक्रमित जग्गामा उभिएको छ ।

यता फोक्सुण्डोको किनारमै आफ्नो जग्गा भएका निमा लामा यो जग्गाको सट्टामा अर्को जग्गा देऊ भनेर लडिरहेका छन् । शाक्यले फेवाताल किनारमा सजिलै जग्गा पाए, तर फोक्सुण्डो किनारको जग्गाको सट्टा अर्को जग्गा पाउन निमालाई सजिलो छैन । यो देशमा ताल मिच्न-खोला किनार मिच्न सजिलो, जोगाउन गाह्रो रहेछ ।

‘म त यहाँको प्रधानमन्त्रीजस्तै हो नि,’ उनी आफ्नो इमानदारी पोख्छन्, ‘मैले चाहेँ भने यहाँ होटल बनाएर कति पैसा कमाउन सक्थेँ, मलाई राम्रो हुने मापदण्ड बनाउन सक्थेँ तर मैले त्यस्तो गरेको छैन । ताल संरक्षण गरौँ भन्नेमा मात्र मेरो ध्यान छ ।’

ताल घुमेर फर्किएपछि साँझ फेरि उनीसँग केही घण्टा बात मार्‍यौँ । उनले भने, ‘प्रचण्डले यहाँ आउँदा यो जग्गाको समस्या समाधान गर्छु भन्नुभएको थियो । तर, पछाडि केही कुराकानी हुन सकेको छैन । उहाँले त बिर्सिनु पनि भयो होला ?’

प्रचण्ड चुनाव अघि त्यहाँ गएका रहेछन् । त्यसपछि चुनाव भयो । प्रचण्ड प्रधानमन्त्री भए । तर, प्रचण्डलाई यो कुरा सम्झाइदिने सायद कोही भएन ।

कुराकानीकै क्रममा मैले सोधेँ, ‘केही भन्नुहुन्छ प्रचण्डलाई ?’

‘मैले भनेको कुरा पुग्छ भने प्रचण्डलाई भन्दिनू– फोक्सुण्डो आउँदा गरेको वाचा नबिर्सिनू ।’ हामीमार्फत यो सन्देश प्रचण्डसम्म पुगोस् भन्ने चाहना उनको छ । तर, मलाई थाहा छैन, प्रचण्डको सचिवालयका मान्छेसँग यस्ता कुरा सुनेर बस्ने फुर्सद छ ।

देशको मात्रै होइन, प्रदेशको पनि राजधानीबाट दूर रहेको दुर्गम फोक्सुण्डोका जनताको अपेक्षा धेरै छ । तर, यहाँ काम गर्न गाह्रो छ । अहिले उनका दुई/तीनवटा प्राथमिकता छन्, सुलिगाडबाट फोक्सुण्डोसम्मको पदमार्ग सजिलो र व्यवस्थित बनाउने । बाटैभरि इन्टरनेट चल्ने गरी मोबाइलको टावर चल्ने बनाउने । अनि फोक्सुण्डो तालको जग्गाको समस्या समाधान गर्ने ।

सुलिगाडबाट उकालो लागेपछि बाटोमा मोबाइलको नेटवर्क हुँदैन । कसैलाई अप्ठ्यारो पर्‍यो, बिरामी भयो भने फोन गर्न पनि सकिँदैन । पर्यटक हिँड्ने बाटोमा यस्तो हुनुहुँदैन भन्ने उनको बुझाइ छ । उनी नेपाल टेलिकमले चाँडै यो समस्या समाधान गरिदेओस् भन्ने चाहन्छन् ।

पदमार्गको डीपीआर बनेको छ तर निकुञ्जले स्वीकृति नदिँदा अड्किएको छ ।

‘अनि सडक बनाउनु हुन्न ?’

‘अहिले सडक नबनाउने भनेका छौँ । स्थानीयको पनि माग यही छ । साङ्टादेखि फोक्सुण्डोलाई भर्जिन पदमार्गकै रूपमा संरक्षण गर्ने सोच छ ।’

अहिले फोक्सुण्डोमा नेपालीहरू घुम्न जाने क्रम बढेको छ ।

वडाध्यक्षका रूपमा उनको यो दोस्रो कार्यकाल हो । यो कार्यकालमा पदमार्ग, नेटवर्क र जग्गाको समस्या समाधान गर्न पाए हुन्थ्यो उनको चाहना छ ।

समस्या त अरु पनि छन् । मान्छे बिरामी भयो भने उपचार गर्न गाह्रो छ । अलि सिरियर बिरामी हुनेबित्तिकै हेलिकोप्टरमा कि सुर्खेत/नेपालगञ्ज कि काठमाडौं लैजानुपर्छ । ६ सात लाख त हेलिकोप्टरकै लागि छुट्याउनुपर्छ । सबैको यति पैसा तिर्ने हैसियत हुँदैन । पैसा नहुनेहरू घरमै मृत्यु कुरेर बस्नुपर्छ ।

‘यहाँको हेल्थ सेन्टर अलि राम्रो बनाउन सके र डाक्टर बसिदिए धेरै सुविधा हुने थियो । हेलिकोप्टरमा जानुपर्ने बिरामीलाई सरकारले सहुलियत दिए पनि हुने थियो ।’ उनका चाहना स-सना छन् । तर, ती चाहना पूरा गर्न सजिलो छैन ।

हुन त उनी एमालेका जिल्ला कमिटी सदस्य पनि हुन्, तर उनले एमालेका नेता चिनेका छैनन् ।

‘म त नेताहरू पनि चिन्दैन, कोही भेटेको पनि छैन,’ उनी आफ्नै शैलीमा सुनाउँछन् ।

‘केपी ओली भेट्नुभएको छैन ?’

‘एकपटक काठमाडौं भएको बेला भेट्नु भनेको, खै कताकता हराएजस्तो भयो, भेट्नै गाह्रो । तर, एकपटक उहाँलाई भेट्ने मनचाहिँ छ ।’

उनले चिनेका एमालेका सबैभन्दा ठूला डोल्पाका सांसद धनबहादुर बुढा थिए, अहिले उनी माधवकुमार नेपालको पार्टीमा छन् । निमाले एमालेका नेता नचिन्नुको कारण पनि रमाइलो रहेछ । उनी एमाले भएर वडाध्यक्ष भएका होइनन्, वडाध्यक्ष भएर एमाले भएका रहेछन् ।

हो, पहिलो स्थानीय तह निर्वाचनमा सबैको सल्लाह भयो- निमालाई वडाध्यक्ष बनाउने । वडाध्यक्ष बन्ने भएपछि कुन पार्टीबाट उठ्ने भन्ने कुरा भयो । सबैले एमाले बलियो छ, एमालेबाटै उठ्नू भन्ने सुझाव दिए । यतिबेलासम्म यहाँको समाजमा दलीयकरण त्यति थिएन । मानिसहरूलाई पार्टीले होइन, समुदायप्रतिको प्रेमले जोडेको थियो ।

दोस्रो चुनावमा प्रचण्डले जनार्दनमार्फत माओवादीमा आउन खबर पठाए । उनलाई त्यस्तो समस्या पनि थिएन । तर, पहिलो चुनाव एउटा पार्टीबाट उठेको अर्को चुनावमा अर्को पार्टीबाट उठ्दा जनताले विश्वास गर्दैनन् भन्ने लाग्यो । उनले यही जवाफ फर्काए । र, आफू एमालेकै उम्मेद्वार बने ।

‘यहाँ चुनाव भयो, मेरोविरुद्ध गठबन्धन नै लाग्यो तर पनि यहाँको मान्छेले मलाई नै विश्वास गर्नुभयो ।’

वडाध्यक्ष भएर काम गर्न गाह्रो छ । भूगोल धेरै ठूलो छ । यो गाउँपालिकाको सबैभन्दा ठूलो वडा यही हो । अरुतिर बस्ती प्राय: एकैठाउँ हुन्छ । यो वडामा साङ्टादेखि रिग्मोसम्मै छरपस्ट बस्ती छ । वडाको कार्यालय छैन । उनी गाउँगाउँ घुमिरहन्छन् । उनीसँगै वडा कार्यालय पनि घुम्छ । जहाँ पुग्छन्, त्यहीँबाट काम गर्छन् ।

निमालाई त गाउँपालिकाको कार्यालय जानै तीन दिन लाग्छ । मौसम राम्रो भएको दिन दुई दिनमा पुगिन्छ । एक दिनमा काङ्ला पास पार गरेर शे गुम्बा र भोलिपल्ट साल्दाङ । तर, हिउँ परेको बेला काङ्ला पासबाट हिँड्न सकिन्न । यतिबेला सागर लेकको बाटो जानुपर्ने हुन्छ । सागर लेकको बाटो तीन दिन लाग्छ । बीचमा बास बस्ने ठाउँ हुन्न । उनी ओढारमा बास बस्दै गाउँपालिकाको बैठकमा भाग लिन पुग्छन् ।

हामी पनि अब उनको गाउँपालिकाको केन्द्रतिर जानु छ । काङ्ला पासमा हिउँ परेकै छ । सागर लेक पनि हिउँले ढाकिएको छ । हामीले फूलबारी पासको बाटो जाने निर्णय गरेका छौँ । कुरा गर्दागर्दै रात धेरै ढल्किसकेको थियो । भोलि बिहान सबेरै हिँड्नु छ । अब हाम्रो यात्राको वास्तविक परीक्षा सुरु हुँदै छ । माथिल्लो डोल्पाको खास यात्रा यहाँबाट सुरु हुन्छ । (शिलापत्र)

प्रचण्डलाई भन्दिनू- फोक्सुण्डो आउँदा गरेको वाचा नबिर्सिनू !

टुक्रे योजनामा मात्र चार अर्ब बजेट

प्रचण्डलाई भन्दिनू- फोक्सुण्डो आउँदा गरेको वाचा नबिर्सिनू !

विभेदका घटनामा संवेदनशिल बनौं !

Leave a comment

Your email address will not be published. Required fields are marked *