प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद्: ६ जना ‘६ महिने मन्त्री’

काठमाडौं । २०७४ मा आम निर्वाचनमा तत्कालिन वाम गठबन्धन (एमाले र माओवादी)को अत्यधिक बहुमतसहित चुनाव जितेपछि तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७४ को फागुनमा शक्तिशाली प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरे ।
२०७५ मा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर नेकपाको जन्म भएपछि प्रधानमन्त्री ओली लगभग दुईतिहाई बहुमतको झनशक्तिशाली प्रधानमन्त्री बने । उनले समृद्ध नेपाल सुखी नेपालीको नारा दिए र सोहीअनुसार सरकारको कार्य सम्पादन चुस्त राख्न मन्त्रीहरुको छनौट पनि गरे ।

तर, समय बलबान छ। उनै प्रधानमन्त्री ओली अहिले ‘६ महिने’ मन्त्रीको साहारामा देश चलाउन बाध्य भएका छन्। २०७४ यता बागमतीमा धेरै पानी बग्यो, राजनीतिमा पनि अनपेक्षित घटनक्रम भए । नेकपा खारेज भएर एमाले तथा माओवादी केन्द्र ब्युँतियो । प्रचण्ड बहुमतको सरकार कुनै पनि बेला अल्मतमा पर्ने खतरामा छ ।
पाँच वर्ष ढुक्कले सरकार चलाउने सोच भएका प्रधानमन्त्री ओलीले सांसद नभएका व्यक्तिहरु मन्त्री बन्न सक्ने संवैधानिक प्रावधानमा टेकेर मन्त्री नियुक्त गर्नु परेको छ ।
आइतबार रामबहादुर थापा बादल गृहमन्त्रीमा पुनःनियुक्ती भएसँगै २५ सदस्यीय मन्त्रिपरिषदमा ‘६ महिने’ मन्त्रीको संख्या ६ पुगेको छ । तत्कालिन माओवादीबाट सांसद भएकाहरुको सांसद पद गएपछि प्रधानमन्त्री ओलीले उनीहरुलाई पद गएकै दिन मन्त्रीमा पुनःनियुक्ती गरेका छन् । यसरी पुनःनियुक्त हुने मन्त्रीको संख्या ६ छ।
ओली सरकारको तेस्रो नम्बरको बरियतामा रहेका गृहमन्त्री बादल आगामी ६ महिना भित्र सांसद बन्न नसके आगामी असोज ५ मा मन्त्रिबाट पद मुक्त हुनेछन्। यस्तै ४ जना एकै दिन भदौ २७ सम्म सांसद बन्न नसके पद मुक्त हुनेछन् । उता एकजना मन्त्री भने असार १०सम्म सांसद हुन नसके पद मुक्त हुनेछन् ।
असार १० मा पद मुक्त हुने मन्त्री हुन् मणिचन्द्र थापा । उनी पुस १० मा सांसद नभएको व्यक्ति मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुसार मन्त्रि नियुक्त भएका थिए ।






