राजपुरमा रास्वपाको चुनावी आधार बलियो, गगन वली सम्भावित बलिया दाबेदार

दाङ ,२८ कार्तिक ।

दाङको राजपुर गाउँपालिकामा आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राजनीतिक गतिविधि बढ्न थालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्न तीन जना आकांक्षीले नाम दर्ता गराएसँगै गाउँपालिकामा चुनावी चर्चा सुरु भएको हो।

रास्वपाबाट उम्मेदवार बन्न युवा नेता गगन वली, रामदास यादव र हेमकुमार जिसीले उम्मेदवार छनोट प्रक्रियाका लागि आफ्नो नाम दर्ता गराएका छन्। तीन आकांक्षीमध्ये गगन वलीलाई सम्भावित बलियो दाबेदारका रूपमा हेरिएको छ।

सबइन्जिनियरका रूपमा परिचित वली हाल स्नातकोत्तर तहको अध्ययनरत छन्। प्राविधिक ज्ञान, शैक्षिक योग्यता र युवा नेतृत्वको पहिचान बनाएका वलीको सम्भावित उम्मेदवारीले राजपुरको स्थानीय राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ।

गत २०८२ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राजपुर गाउँपालिकाका सातवटै वडामा रास्वपाको चुनाव चिह्न घण्टीले प्राप्त गरेको मतले पनि स्थानीय तह निर्वाचनमा पार्टीको सम्भावनालाई बलियो बनाएको देखिन्छ।

उपलब्ध मतपरिणामअनुसार राजपुरका सातवटै वडामा घण्टीले कुल ३ हजार ५ सय ४० मत प्राप्त गरेको थियो। नेपाली कांग्रेसको चुनाव चिह्न रुखले भने २ हजार ७ सय ३४ मत प्राप्त गरेको थियो। यसरी हेर्दा रास्वपाले कांग्रेसभन्दा ८ सय ६ मत बढी प्राप्त गरेको देखिन्छ।

वडागत मतपरिणामअनुसार वडा नम्बर १ मा घण्टीले ६ सय ८६, वडा नम्बर २ मा ८ सय ४५, वडा नम्बर ३ मा ५ सय ९१, वडा नम्बर ४ मा ३ सय ११, वडा नम्बर ५ मा ५ सय ३५, वडा नम्बर ६ मा २ सय १२ र वडा नम्बर ७ मा ३ सय ६० मत प्राप्त गरेको थियो।

विशेषगरी वडा नम्बर १, २, ३ र ५ मा रास्वपाले प्राप्त गरेको मतले राजपुरमा पार्टीको उल्लेख्य जनाधार रहेको संकेत गर्छ। प्रतिनिधिसभा निर्वाचनको मतपरिणामलाई आधार मान्दा आगामी स्थानीय तह निर्वाचनमा रास्वपाले राजपुरमा अन्य राजनीतिक दललाई चुनौती दिन सक्ने देखिएको छ।

यसअघि कमजोर मानिएको क्षेत्रमा समेत रास्वपाले उल्लेख्य मत प्राप्त गरेपछि स्थानीय तह निर्वाचनमा पार्टीप्रति चासो बढेको छ। त्यसमा पनि युवा नेतृत्व र नयाँ राजनीतिक विकल्पको बहससँगै गगन वलीको सम्भावित उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यद्यपि प्रतिनिधिसभा निर्वाचन र स्थानीय तह निर्वाचनको मतदाताको व्यवहार फरक हुन सक्छ। स्थानीय निर्वाचनमा उम्मेदवारको व्यक्तिगत लोकप्रियता, स्थानीय समस्याप्रतिको बुझाइ, संगठनात्मक अवस्था, राजनीतिक गठबन्धन र मतदातासँगको सम्बन्धले महत्वपूर्ण भूमिका खेल्नेछन्।

गगन वलीका लागि प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्राप्त गरेको मतलाई स्थानीय तह निर्वाचनसम्म जोगाउँदै थप विस्तार गर्नु मुख्य अवसर र चुनौती दुवै हुनेछ। युवा पुस्ताको प्रतिनिधित्व गर्दै विकास, सुशासन, पारदर्शिता र स्थानीय आवश्यकताका विषयलाई प्राथमिकताका साथ उठाउन सके उनको उम्मेदवारी थप प्रभावकारी बन्न सक्ने आकलन गरिएको छ।

अब रास्वपाले तीन आकांक्षीमध्ये कसलाई अन्तिम उम्मेदवारका रूपमा अघि सार्छ भन्ने विषयले राजपुरको राजनीतिक वृत्तमा थप चासो बढाएको छ। पार्टीको उम्मेदवार छनोटसँगै आगामी स्थानीय तह निर्वाचनमा राजपुरको चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।

 

राजपुरमा रास्वपाको चुनावी आधार बलियो, गगन वली सम्भावित बलिया दाबेदार

प्रधानमन्त्रीको जिल्ला महोत्तरीमा छठको तयारी पूरा, सुरक्षा

राजपुरमा रास्वपाको चुनावी आधार बलियो, गगन वली सम्भावित बलिया दाबेदार

छठ पर्वमा सहभागी हुन रास्वपा संसदीय दलका

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!