धान खरिदको कोटा बढाउन बाँकेका किसानको माग
नेकपा (एमाले) नेपालगञ्ज उपमहानगरपालिका कमिटी र अखिल नेपाल किसान महासंघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र बाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराउँदै धान खरिदको कोटा बढाउन माग गरेका हुन्।
ज्ञापनपत्रमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा ३० देखि ४० हजार क्विन्टलसम्म धान खरिद गर्ने व्यवस्था गरेकामा चालु आर्थिक वर्ष २०८३/८४ मा १० हजार क्विन्टल मध्यम धान मात्र खरिद गर्ने कोटा निर्धारण गरेको उल्लेख छ।
गत वर्ष १५ हजार क्विन्टल मोटा र पाँच हजार क्विन्टल मध्यम धान खरिद गर्ने व्यवस्था रहेकामा यस वर्ष मोटा धान खरिद नगर्ने र समग्र कोटा घटाउने निर्णयले किसानलाई सरकारी मूल्यमा धान बिक्री गर्न कठिन हुने उनीहरूको भनाइ छ।
सरकारी खरिदको कोटा न्यून हुँदा किसान निजी व्यापारीमा निर्भर हुनुपर्ने र सरकारले तोकेको न्यूनतम समर्थन मूल्यसमेत नपाउने अवस्था आउन सक्ने भन्दै उनीहरूले मोटा र मध्यम दुवै प्रकारका धान खरिद गर्न, स्थानीय किसानलाई प्राथमिकता दिन तथा तत्काल खरिद प्रक्रिया सुरु गर्न माग गरेका छन्।
एमाले नेपालगञ्ज उपमहानगरपालिका कमिटीका अध्यक्ष मोहित शाह र अखिल नेपाल किसान महासंघका अध्यक्ष कृष्णविक्रम केसीले बाँकेको वास्तविक उत्पादन र भण्डारण क्षमताका आधारमा धान खरिदको कोटा वृद्धि गर्न आग्रह गर्नुभएको छ।
उनीहरूले किसानको उत्पादनको बजार सुनिश्चित गर्नुका साथै कृषि अर्थतन्त्र र राष्ट्रिय खाद्य सुरक्षालाई ध्यानमा राखेर दीर्घकालीन खरिद नीति बनाउन पनि सरकारसँग माग गरेका छन्।




