निजी क्षेत्रको प्रतिनिधित्वसहित आर्थिक समृद्धिको एजेण्डा अघि बढाउने धनबहादुर रावत क्षेत्रीको प्रतिबद्धता

सुर्खेत ,११ असोज ।
कर्णाली प्रदेशतर्फ नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका उम्मेदवार सुर्खेत क्षेत्र नं. २(क) का धनबहादुर रावत क्षेत्रीले आर्थिक समृद्धि, औद्योगिक विकास र रोजगारी सिर्जनाका लागि पार्टीभित्र निजी क्षेत्रको अर्थपूर्ण प्रतिनिधित्व आवश्यक रहेको बताउनुभएको छ।
उहाँले नेपाली कांग्रेसले अंगिकार गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल भावनालाई आर्थिक समृद्धिसँग जोडेर अघि बढाउनुपर्ने धारणा राख्नुभएको छ। समाजवादको उद्देश्य गरिबी बाँड्नु नभई अवसर, उत्पादन र रोजगारीका माध्यमबाट नागरिकलाई आर्थिक रूपमा सक्षम बनाउनु भएको उहाँको भनाइ छ।
महाधिवेशन प्रतिनिधिका रूपमा आफू उम्मेदवार बन्नुको उद्देश्य पद प्राप्ति नभई आर्थिक समृद्धिको एजेण्डालाई पार्टीको नीति निर्माणको तहसम्म पुर्याउनु रहेको रावत क्षेत्रीले बताउनुभएको छ।
उहाँले नेपाली कांग्रेस अब भाषण र राजनीतिक नाराले मात्र नभई उत्पादन, उद्यम र व्यवसायको विस्तारबाट बलियो बन्नुपर्नेमा जोड दिनुभएको छ। पार्टीमा लामो समय योगदान दिएका कार्यकर्तालाई रोजगारी र आर्थिक अवसरसँग जोड्न निजी क्षेत्रको विकास आवश्यक रहेको उहाँको भनाइ छ।

औद्योगिक विकासका विषयमा कागजी योजना मात्र बनाएर परिणाम हासिल गर्न नसकिने भन्दै रावत क्षेत्रीले उद्योग व्यवसाय सञ्चालन गर्ने क्रममा देखिने वास्तविक समस्या नीति निर्माणको तहमा पुर्याउन निजी क्षेत्रको प्रतिनिधित्व आवश्यक रहेको बताउनुभएको छ। कर्णालीमा उद्योग सञ्चालन गर्दा पुँजी, ब्याजदर, सडक, विद्युत्, बजारलगायतका क्षेत्रमा देखिने समस्याबारे उद्योगी व्यवसायी नै बढी जानकार हुने उहाँको भनाइ छ।
युवाको बढ्दो पलायन रोक्न स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि उद्योग, व्यवसाय र उत्पादन क्षेत्रको विस्तार आवश्यक रहेको बताउनुभएको छ। आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेर कांग्रेसले आफ्ना नीति तथा कार्यक्रम अघि बढाउनुपर्ने उहाँको धारणा छ।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि कर्णाली प्रदेशका कांग्रेस नेतृत्वमा बन्ने सरकार तथा नीति निर्माणका क्रममा निजी क्षेत्रको ३३ प्रतिशत प्रतिनिधित्वका लागि प्रस्ताव अघि बढाउने उहाँले प्रतिबद्धता जनाउनुभएको छ।

त्यसैगरी सुर्खेत क्षेत्र नं. २ लाई औद्योगिक करिडोरका रूपमा विकास गर्न विशेष पहल गर्ने र युवा, महिला तथा सीमान्तकृत समुदायलाई अनुदानमा मात्र निर्भर नभई सहुलियतपूर्ण कर्जा, सीप तथा उद्यमशीलतासँग जोड्ने उहाँले बताउनुभएको छ।
कांग्रेसलाई आर्थिक रूपमा बलियो बनाउँदै उत्पादन र रोजगारी सिर्जनाको माध्यमबाट मुलुकको समृद्धिमा योगदान पुर्याउने आफ्नो मुख्य उद्देश्य रहेको उल्लेख गर्दै रावत क्षेत्रीले आर्थिक समृद्धिको एजेण्डालाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ।






