प्रेस युनियन दैलेखका अध्यक्ष अनुराग बने कांग्रेस महाधिवेशन प्रतिनिधि

सुर्खेत, ११ असोज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि दैलेख निर्वाचन क्षेत्र नम्बर १ बाट अभिषेक सोनी अनुराग महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसको जारी क्षेत्रीय महाधिवेशन प्रतिनिधि चयन प्रक्रियामा सोनी कर्णाली प्रदेशबाट निर्विरोध निर्वाचित हुने पहिलो प्रतिनिधि बनेका हुन् । कर्णालीका १० वटै जिल्लामा १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको छ । यसै क्रममा दैलेख–१ मा सुनारविरुद्ध अन्य उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । कांग्रेसको सुभेच्छुक संस्था प्रेस युनियनको राजनीतिबाट आएका सोनी हाल प्रेस युनियन दैलेखको अध्यक्षसमेत हुन् ।
कांग्रेसको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया वडा र पालिका अधिवेशनपछि क्षेत्रीय तहमा पुगेको हो । कर्णालीमा ७९ स्थानीय तह र सात सय १८ वडा रहेका छन् । अधिकांश वडा तथा पालिका तहको अधिवेशन सम्पन्न भइसकेको कांग्रेसको प्रदेश निर्वाचन समितिले जनाएको छ । क्षेत्रीय अधिवेशनमार्फत निर्वाचित हुने महाधिवेशन प्रतिनिधिले कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी भएर केन्द्रीय नेतृत्व चयनमा मतदान गर्नेछन् । कर्णालीका १० जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा अहिले महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचन भइरहेको छ । प्रदेश निर्वाचन संयोजक उत्तम आचार्यका अनुसार आगामी १३ गतेसम्म सबै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भइसक्नेछ । दैलेख–१ बाट सुनार निर्विरोध निर्वाचित भएसँगै कर्णालीमा क्षेत्रीय अधिवेशनअन्तर्गत प्रतिनिधि छनोटको परिणाम आउन थालेको हो । बाँकी निर्वाचन क्षेत्रमा भने उम्मेदवारी र निर्वाचनको प्रक्रिया जारी छ ।





