‘वैमनस्यताबाट टाढा रहि आपसी सद्भाव कायम गरौं’

सुर्खेत, १६ साउन ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले मधेसका विभिन्न जिल्लामा फैलिएको वैमनस्यताबाट टाढा रहदैँ आपसी सद्भाव कायम गर्न आग्रह गरेका छन् । १० साउनमा मधेश प्रदेशको सुनसरी जिल्लास्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबिचको विवादपछि उत्पन्न सुरक्षा संवेदनशिलताबाट संयता अपनाउन शाहीले सबै पक्षलाई अपिल गरेका छन ।
शुक्रबार अपिलपत्र जारी गर्दै शाहीले उक्त घटनापछि भएको मानवीय र धनजनको क्षतिप्रति दुख व्यक्त गरेका छन् । शाहीले भनेका छन्, ‘यस्ता दुःखद घटनाले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा राष्ट्रिय एकतामाथि प्रतिकूल प्रभाव पार्नुका साथै मुलुकमा अशान्ति र असुरक्षाको वातावरण सिर्जना हुनु अत्यन्तै चिन्ताजनक विषय हो । यी घटनामा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
उनले कर्णाली र मधेशबिच सामाजिक, आर्थिक तथा सांस्कृतिक दृष्टिले धेरै कुरामा साझा विशेषता र आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, सामाजिक न्याय तथा राष्ट्रिय एकताको भावना सुदृढ बनाए मात्रै देशलाई संकटबाट बचाउँन सकिने दावी गरेका छन् । उनले अगाडि भनेका छन्, ‘वर्तमान संवेदनशील परिस्थितिमा सबै पक्षले उच्च संयमता अपनाई कानूनको पूर्ण पालना गर्न तथा शान्ति, सद्भाव, भाइचारा र आपसी विश्वासलाई केन्द्रमा राखी अघि बढ्न आवश्यक छ ।’





